भारतीय थिंक ट्यांकको निष्कर्ष– ‘नेपाल चीनसँग नजिक हुँदै गएको छ’

भारतको एक अग्रणी थिंक ट्यांकले सार्क सदस्य राष्ट्रहरू त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ । भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरूको भारतसँग भन्दा पनि चीनसँग बलियो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख छ ।
संस्थाका मुख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् । अध्ययन प्रतिवेदन बुधबार मात्र सार्वजनिक गरिएको हो । संस्थामा सिनियर फेलोको रूपमा कार्यरत जयश्री सेनगुप्ताले सार्कबारे तयार पारेको प्रतिवदेनमा सार्क मुलुकहरूमध्ये पनि विशेषगरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ । आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिहेको छ ।’ आलेखमा गत वर्ष नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनको भ्रमण गर्दा १० वटा समझदारी पत्रमा हस्ताक्षर गरेको र ती विशेषगरी आर्थिक सहकार्यमा केन्द्रित रहेको उल्लेख गरिएको छ ।
अध्ययन प्रतिवेदनमा भूकम्पपछि चीनले नेपाललाई गरेको आर्थिक सहयोगका सम्बन्धमा समेत उल्लेख छ । आलेखमा मात्र होइन, नेपालमा चीनको प्रभाव बढ्दै गएकोमा भारतका राजनीतिक दल तथा कर्मचारी तहमा पछिल्ला दिनहरूमा निकै चिन्ता बढेको देखिन्छ । सार्कका अन्य मुलुकहरूमा समेत चीनको प्रभाव बढेको निक्र्योल गरिएको छ ।
बंगलादेशले पनि ठूलो मात्रामा चीनबाट ऋण पाउँदै गएको उल्लेख छ । अध्ययनका अनुसार चीनले बंगलादेशलाई २१ बिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको छ भने भारतले जम्मा २ बिलियन अमेरिकी डलरमात्र । आलेखका अनुसार बंगलादेशको एक नम्बरको व्यापारिक साझेदार चीन हो र पूर्वाधार निर्माणका थुप्रै परियोजनाबारे दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । पाकिस्तानमा पनि चीनको प्रभाव बढेको र झन्डै ४६ बिलियन अमेरिकी डलर खर्च गरिरहेको उल्लेख गरिएको छ । विशेषतस् चीन–पाकिस्तान इकोनोमिक करिडोरप्रति भारतले आपत्ति जनाइरहेको छ । तर चीन र पाकिस्तानले भने यसलाई जसरी पनि अगाडि बढाउने बताइरहेका छन् ।
आलेखमा चीनले श्रीलंकामा कोलम्बो पोर्ट सिटी निर्माणका लागि १.४ बिलियन अमेरिकी डलर सहयोग गरिरहेको उल्लेख छ । सन् २००५ देखि चिनियाँ सहयोगमा पूर्वाधारहरू निर्माण भइरहेका छन् ।
सन् २०१६ मा चीनका राष्ट्रपतिले पहिलोपटक माल्दिभ्सको भ्रमण गरेका थिए । आलेखमा भनिएको छ, ‘चीनका राष्ट्रपतिले वान रोड वान बेल्टको अवधारणालाई अगाडि बढाउन दक्षिण एसियाको भ्रमण गरेका थिए । चीनले माल्दिभ्सको इन्टरनेसनल एयरपोर्ट अपग्रेड गरिरहेको छ ।’ सुरुमा उक्त परियोजना भारतको एक कम्पनीले गर्ने सम्झौता भए पनि सन् २०१२ मा रद्द भएको थियो र पछि चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो ।
आलेखअनुसार यस अगाडि काठमाडौंमा भएको सार्क सम्मेलनमा चीनलाई सार्कको पूर्ण सदस्य बनाउने विषयमा छलफल भए पनि भारतले नमानेकाले सम्भव भएन । आलेखमा सार्क कसरी अगाडि बढ्छ भन्ने विषय भारतीय प्रधानमन्त्रीको क्षेत्रीय सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने इच्छा र भारतका छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन् २०१७ मा कस्तो हुन्छ, त्यसमा निर्भर हुने उल्लेख गरिएको छ । सार्कलाई ब्युँताउन तथा सक्रिय पार्न पाकिस्तानको सहयोग अपरिहार्य रहने समेत जनाइएको छ । संस्थाको अध्ययनमा सन् २०१७ मा पनि सार्क सम्मेलन हुने कुरा यकिन नभएको उल्लेख गरिएको छ । भारतले सार्कको विकल्प नै चाहेको भन्ने चर्चा चलिरहेको सन्दर्भमा अध्ययनले समेत सार्क पुनर्गठनको आवश्यकता औंल्याएको छ । अध्ययनमा भारत र पाकिस्तानबीचको द्वन्द्व र पाकिस्तानको चीनसँग बढ्दो सामीप्यलाई समेत उल्लेख गरिएको छ । –कान्तिपुर दैनिक

तपाईंको प्रतिक्रिया