तास र कौडाको उदाहरण दिँदै ओलीले भने– राष्ट्रघात हुन दिइँदैन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जुवा र तासको खेलमा जितेर पत्ता र कौडा घर लगिँदैन, सम्पत्ति लगिन्छ भनेका छन् । एमाले सहितका विक्षी गठवन्धनले राजधानीमा आयोजना गरेको आमसभामा ओलीले तासको पत्ता र कौडाको उदाहरण दिएका हुन् ।

उनको भनाई थियो– ‘जुवाको खेलमा कौडा पछार्छन् तर त्यहाँ हारजित कौडाहरुको होइन सम्पत्तिको हुन्छ । तासको खेलमा हारजित पत्ताको भएको देखिन्छ तर वास्तविक हारजित सम्पत्तिको भइरहेको हुन्छ । तासजुवामा हारजित हुँदा कौडा गुम्दैन, जित्नेले कौडा घर लाँदैन, सम्पत्ति लैजान्छ ।’ यो उपमालाई संविधान संशोधनसँग जोड्दै उनले भने– ‘संविधान संशोधन पनि त्यस्तै हो, उहाँहरु कहाँनेर राष्ट्रघात भएको छ भन्नुहुन्छ, नियत र उद्देश्य नै राष्ट्रघात हो ।’
आउँदो माघ ७ भित्र चुनाव नभए प्रधानमन्त्रीको हैसियत कामचलाउ पनि नरहने दावी गर्दै उनले भने–‘चुनाव नभएमा संवैधानिक राजनीतिक संकट आउँछ, त्यसैले हामी गम्भीर छौं । संविधान कार्यान्वयनको बाटोमा लाग्नुछ, निर्वाचनको बाटोमा लानु छ, अब ११ महिना पनि समय छैन । पुषमाघमा चुनाव हुन सक्दैन । ०७४ को मंसीर पहिले चुनाव गर्नुपर्छ तर अहिलेको सरकार चुनाव गराउन खोज्दैन । चुनावको चासो नै छैन ।’

उनले प्रश्न गरे– ‘निर्वाचन गराउनुपर्ने ठाउँमा संविधान संशोधन किन गर्नुपरयो ? अहिलेको विधेयकले चुनावमा कहाँ सहयोग पुराउँछ ? कतै सहयोग पुराउँदैन । यो विधेयक अगाडि नबढाई चुनाव गर्न नदिने भनेका छन् । हिजो संविधान जलाउने, च्यात्ने, जारी गर्न नदिनेहरु भन्दैछन्– चुनाव गर्न दिँदैनौं । नियत के छ भन्ने देखिएन र ?’

ओलीले थपे– ‘देशलाई घात नगरी, राष्ट्रिय अखण्डतालाई अप्ठेरो नपारी, देशलाई कमजोर नपारी चुनाव हुन नदिने भनेका छन् । यसमा अत्यन्तै अति गम्भीर षडयन्त्र छ, हानिकारक उद्देश्य छ ।’

संविधान संशोधनको नाममा नेपालका गौरवाशाली मैथिली, अवधी लगायतका भाषाहरुलाई समात पारेर हिन्दी भाषालाई स्थाति गर्न खोजिएको भन्दै उनले भने– ‘मधेसको हित गर्ने भन्ने तर भोजपुरी, मैथिली, अवधी लगायतका भाषाहरुलाई समाप्त पारेर कसरी हित हुन्छ ?’

देशलाई विभाजनतर्फ लैजान खोजिएको भन्दै उनले संविधान भनेको संशोधन गर्न सकिने दस्तावेज हो तर आवश्यकता र औचित्यका आधारमा हुनसक्छ भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अनावश्यक रुपमा प्रधान न्यायधीश र सर्वाेच्च अदालतलाई विवादमा तानेको भन्दै उनले भने –‘प्रधानमन्त्रीजीको पारा के हो ? कहिले अख्तियारलाई मिलाइसकें भन्ने, कहिले प्रधान न्यायधीशले अगाडि बढ्नुस् भन्नुभएको छ भनेर ढाँट्ने, यो के हो ?’

‘मधेसी मोर्चाका पार्टीहरुले ड्रम र नगरा बजाएर एमालेलाई तराईबाट लखेट्ने भनेका छन् । तराईमा उहाँहरुले जितेको ११ सिट एमालेको चालीस सिट हो भन्ने बिर्सनुभयो ? अब हामी तराई अभियानमा जाँदैछौं । फागुनको दोस्रो हप्ता मेची काली अभियानमा जान्छांै । आजकाल ड्रोन क्यामराबाट फोटो खिचेको सुनिन्छ, हाम्रो अभियानको फोटो चाहिँ स्याटलाइटबाट खिच्नुर्नेछ’– ओलीले भने ।

तराईका जनतामा रहेको देशभक्ति लाई कमजोर नठान्न चुनौती दिँदै उनले भने– ‘देशभक्तिूर्ण आन्दोलनमा एमाले छ, राष्टिय हितमा तलमाथि हुन दिइने छैन । एमाले अग्रभागमा छ त्यसैले यो संसदमा राष्टहित विरित प्रस्ताव पारित हुन दिइने छैन ।’

तपाईंको प्रतिक्रिया