पहाडका सिके राउत प्रवृत्तिहरु

‘नेपाललाई श्रीलंका बनाइदिन्छु’– भनेका थिए गजेन्द्र नारायण सिंहले २०४७ सालमा सद्भावना परिषदले काठमाडौंको खुल्ला मञ्चमा गरेको पहिलो आमसभामा । त्यो आमसभा अहिले पनि झलझली सम्झनामा छ । ‘मधेसी’हरुले गरेको त्यो आमसभामा ढुंगामुडा गराइएको थियो । त्यसको केही दिनपछि सदभावनाका नेता ह्रदयेश त्रिपाठीले भनेका थिए– ‘मधेसलाई जाफ्ना बनाइदिन्छौं ।’
नेपालमा सिके राउत प्रवृत्ति र पहाडि सिके राउत प्रवृत्ति बारे चर्चा गर्दा गजेन्द्रबाटै थाल्नुपर्छ र साथमा जोड्नै पर्ने अन्य पात्र रामराजाप्रसाद सिंह, प्रचण्ड लगायतकाहरु हुन् ।

यस विषयको पहिलो लेखमा प्रवृत्ति र राजनीतिक धारको चर्चा गरिनेछ भने दोस्रो लेखमा पात्रगत प्रवृत्तिहरुको चर्चा गरिने छ ।

गजेन्द्र, रामराजा र प्रचण्ड

अहिले मधेसवादी भनिएका पार्टीहरुको मूल त्यही सदभावना परिषद्लाई मान्न सकिन्छ, अगुवा पनि गजेन्द्रनारायणलाई नमान्नु अन्याय हुनेछ । तर, उपेन्द्र यादवदेखि राजेन्द्र महतोसम्मले गजेन्द्रलाई मान्दैनन्, आफूलाई नै पछिल्लो ‘मधेस’ भावनाको प्रणेता मान्छन्, यो भने बेग्लै कुरा हो ।

सदभावनाको त्यो सभामा ढुंगामुडा प्रायोजन गराएपछि भनियो– मधेसीलाई पहाडियाहरुले आमसभा समेत गर्न समेत दिएनन् । त्यसबेला नेपाली नागरिकता वितरणमा निकै कडाई थियो, यति खुल्लासँग बाँडिएको थिएन, त्यसैले नेपालमा मधेसी जनसंख्या थोरै थियो, काठमाडौंमा त झन थोरै थियो । ढुंगामुडाको प्रतिक्रिया मिडियावाजीमा मात्र सीमित भयो ।

त्यो ढुंगामुडाको केही वर्षपछि लामो भारत प्रवासबाट अर्का नेता खुल्ला मञ्चमा प्रकट भए– रामराजाप्रसाद सिंह । उनी पनि ‘मधेसी’ थिए । खुल्लामञ्चमा अपार भीड थियो । भीडमा मधेसी नगन्य थिए, बाँकी सबै पहाडी थिए । भीडमा गणतन्त्रको गर्जन गरे रामराजाले । रामराजा खुलामञ्चबाट पहिलो पटक सार्वजनिक हुँदा गजेन्द्रको पार्टी सद्भावनासँग संसदमा ६ सिट थियो । रामराजाप्रति जनतामा ठूलो उत्सुकता थियो, सम्मान थियो, उनलाई हेर्न आमसभामा ठूलो भीड लागेको थियो । तर, पछि उनले संगठन बनाउन सकेनन् । पार्टी समाप्त भए पनि रामराजाको व्यक्तित्व भने शिखरमै रह्यो । उनी गणतन्त्रभन्दा एक इन्च घटिको कुरा गर्दैनथे ।

नेपालमा पछिल्लो तीन दशकमा मुख्य तीनवटा प्रवृत्ति प्रखर रुपमा उदाए– पुष्पकमल दाहाल प्रचण्डको जातिवाद, गजेन्द्रको मधेसवाद र रामराजाको गणतन्त्र । यी तीनवटै प्रवृत्तिलाई फ्यूजन गराएर विकास गर्न खोजिएको चाहिँ पृथकतावाद हो ।

गजेन्द्रको पार्टी खुइलिँदै गयो, रामराजाको पार्टी सकिँदै गयो । तर, गजेन्द्रले उठाएका मुद्दा अरुले उठाउन थाले भने रामराजाको गणतन्त्रको झण्डा पनि अरुले उठाउन थाले । आजको गणतन्त्रमा रामराजाको वैचारिक धारको उल्लेखनीय योगदान छ ।

नेपालमा पछिल्लो तीन दशकमा मुख्य तीनवटा प्रवृत्ति प्रखर रुपमा उदाए– पुष्पकमल दाहाल प्रचण्डको जातिवाद, गजेन्द्रको मधेसवाद र रामराजाको गणतन्त्र । यी तीनवटै प्रवृत्तिलाई फ्यूजन गराएर विकास गर्न खोजिएको चाहिँ पृथकतावाद हो । माओवादीको जातिवाद र गजेन्द्रको मधेसवादलाई फ्यूजन गरेर ‘पहिचानवाद’ नाउँ दिइएको छ । ‘पहिचानवाद’लाई पृथकतावादमा विकास गराउने सुनियोजित प्रयास भइरहेको छ ।

र, पृथकतावादका प्रतिनिधि पात्रका रुपमा देखाइएका छन्– सिके राउत ।

बाबुराम र सिके राउत

सिके राउत सिर्फ एक पात्र हुन् तर उनलाई अगाडि सारेर एउटा राजनीतिक धार तथा प्रवृत्ति विकास गर्न खोजिँदैछ । हिजो जसरी गजेन्द्रनारायण, रामराजा र प्रचण्डले विभिन्न प्रवृत्ति भित्राए, जसरी उनीहरु प्रतिनिधि पात्र बने त्यसैगरी सिकेलाई विकास गरिँदैछ ।

सिके पृथकतावादी हुन् । देश विखण्डनको कुरा गर्नु पृथकतावाद हो र विखण्डनलाई सघाउ पुरयाउने काम जानअन्जानमै गर्नु पनि पृथकतावादी हुनु हो । यस दृष्टिले नेपालमा सिके राउत एकजना मात्र छैनन, धेरै नै छन् । विखण्डनको चर्चा आउनासाथ मधेसी नेताको अनुहार देखाइने गरेको छ । तर, मधेसी नेताहरुभन्दा कम घातक छैनन् पहाडि मूलका सिके राउत प्रवृत्तिका बाहकहरु ।

सिके राउत कस्ता पात्र हुन् भन्नेबारे सुवास देवकोटाले अलि मिहिनसँग लेखेका छन् (हेर्नुस्- सिके राउतहरुका नाममा लड्न खोजिएको छद्म युद्ध ) देवकोटाका अनुसार सिके अचानक र रातारात चर्चामा ल्याइएका हुन् । त्यसबेला चर्चामा नआएका सिकेलाई बाबुरामले धुमधामसँग संविधानसभाको संवाद समितिमा विज्ञका रुपमा ल्याए । त्यहाँ सिकेले पृथकतावादी विचार धूमधामसँग राखे । बाबुरामले सिकेलाई स्थापित गर्न र विचार फैलाउन धूमधाम मद्दत गरे ।

बाबुरामले दुई दशक अघि ‘वरिष्ठ नागरिक’ शब्दावली ल्याएका थिए । समाजमा राम्रो छवी भएका दरवार समर्थकहरुसँग भट्टराई राम्रो सम्बन्ध बनाउँथे । ह्रषिकेश शाहदेखि कीर्तिनिधी विष्टसम्मलाई छानीछानी बाबुरामले ‘वरिष्ठ नागरिक’ उपाधी दिएका थिए । त्यसबेला दरवार भित्री ‘पावर सेन्टर’ थियो । दरवार वरिपरिकाहरुको प्रशंसा गरेर दरवारीयाहरुको सहानुभूति लिन्थे, जनयुद्ध गलत भन्नेहरु माझ पनि ‘जनयुद्ध गलत तर बाबुराम ठिक’ भनेर स्थापित गराउन खोज्थे । नारायणहिटी हत्याकाण्डपछि भित्री ‘पावर सेन्टर’ भारत बन्दै गएपछि बाबुरामले भारत निकटहरुसँग राम्रो सम्बन्ध बनाउन थाले । भारतले अगाडि सारेका पात्रहरुलाई अघोषित रुपमा ‘वरिष्ठ नागरिक’ बनाउन थाले । त्यही क्रममा उनले सिकेलाई टपक्क टिपेर संवाद समितिमा विज्ञका रुपमा भित्राएको बुझ्न गाह्रो छैन ।

दरवार वरिपरिकाहरुको प्रशंसा गरेर दरवारीयाहरुको सहानुभूति लिन्थे, जनयुद्ध गलत भन्नेहरु माझ पनि ‘जनयुद्ध गलत तर बाबुराम ठिक’ भनेर स्थापित गराउन खोज्थे । नारायणहिटी हत्याकाण्डपछि भित्री ‘पावर सेन्टर’ भारत बन्दै गएपछि बाबुरामले भारत निकटहरुसँग राम्रो सम्बन्ध बनाउन थाले ।

सिकेको संगठन कत्रो छ ? यो मुख्य प्रश्न होइन । भोलि सिके पनि रामराजाजस्तै सिनिक्क सकिएलान् तर उनलाई देखाएर विकास गर्न खोजिएको राजनीतिक धार र प्रवृत्ति कसरी विकास हुन्छ भन्ने मुख्य प्रश्न हो ।

केही दिन अघि प्रचण्डले ‘सबै बाहुन खत्तम म मात्र उत्तम’ भन्ने खालको विचार राखे । बाबुरामको पनि आशय देखिन्छ– ‘सबै पहाडिया खत्तम म मात्र उत्तम’ । यस्ता विचारले राष्ट्रिय एकता बलियो बनाउँछ कि कमजोर ? यस्ता विचारले सिके राउतलाई अगाडि सारेर विकास गर्न खोजिएको पहाड र मधेस दुई राष्ट्रियतालाई मलजल गर्छ कि गर्दैन ? सबैले विवेकसाथ हेर्नुपर्ने भएको छ ।

पहाडमा एम्बुस

सिके राउतहरुलाई अगाडि सारेर तराई टुक्राउने भन्दा पनि समग्र नेपाली राष्ट्रियता दिल्लीमा बन्दकी राख्न लगाउने रणनीति हो । यसका लागि सिके राउत प्रवृत्तिलाई पहाडमा विस्तार गर्न आवश्यक हुन्छ । पहाडि समुदायमा परम्परागत नेपाली राष्ट्रियता, जातीय समुदायहरुको एकता र प्रतिकहरुप्रति वितृष्णा फैलाउने अभियान सुनियोजित रुपमा चलाइँदै छ । यसै क्रममा बाबुरामले ढाकाटोपी दिवसको विरोध गरे । सुटटाई लगाएर ढाकाटोपी या धोतीको विरोध हाँसोलाग्दो काम हो तर वितृष्णा जगाएर परायाको सेवा गर्न बाबुरामले त्यसो गरे । पृथ्वीनारायण शाहको विरोध अभियानलाई पनि यही रुपमा बुझ्नुपर्छ ।

पहाडि समुदायको एकता छिन्नभिन्न पार्ने, पहाडि र मधेसी समुदायलाई अलग बनाउने प्रयास निरन्तर चलिरहेको छ । यसका लागि विभिन्न ब्राण्डका पार्टी र पात्रहरु अगाडि सारिएका छन् जसले घुमाउरो पाराले सिके राउत प्रवृत्तिको सेवा गर्छन् । पहाडि अनुहारका पार्टीहरु र नेताहरुलाई क्रमश सिके राउतको बाटोमा लैजान अनेक एम्बुस थापिएका छन् । पछिल्लो कालमा सबैभन्दा चर्चित एम्बुस ‘पहिचान’ हो । असाध्यै अमूर्त र गोलमटोल चिज हो पहिचान । के भयो भने सबैले पहिचान हुन्छ भनेर आजसम्म कसैले भन्न सकेका छैनन् तर पहिचान नामको उत्तेजना भने फैलाउन खोजिँदैछ ।

यसमा सघाउ पुरयाउन पाँच नम्बरको पहाडका मगर समुदायलाई अगाडि सार्न खोजियो । मगर समुदायका केही संघसंस्थालाई अगाडि सारेर के भन्न लगाइयो भने मगर समुदाय एउटै क्लष्टरमा राखिनुपर्छ । माग पूरा गराउनु छ तल मधेसमा तर उचाल्न खोजियो पहाडका समुदायलाई !!

पहिचान चाहियो भन्दै विभिन्न जातीय समुदायलाई उफार्न खोज्ने, एउटा जातीय समुदाय एउटै क्लस्टरमा रहनुपर्छ भनेर तराईलाई अखण्ड र पहाडलाई खण्डखण्ड बनाउने प्रयास गरिँदैछ । जस्तो कि– पाँच नम्बर प्रदेशबाट पहाडलाई अलग बनाउने प्रयास गरिँदैछ । भूगोल मात्र होइन पहाडि र मधेसी समुदायलाई पनि अलग बनाउने डिजाइन अनुसार यसो गरिएको थियो । यसमा सघाउ पुरयाउन पाँच नम्बरको पहाडका मगर समुदायलाई अगाडि सार्न खोजियो । मगर समुदायका केही संघसंस्थालाई अगाडि सारेर के भन्न लगाइयो भने मगर समुदाय एउटै क्लष्टरमा राखिनुपर्छ । माग पूरा गराउनु छ तल मधेसमा तर उचाल्न खोजियो पहाडका समुदायलाई !! हो, यस्तै गजब रणनीति अपनाइएको देखिन्छ ।

पहिचानका नाममा नेपाल भित्र नेपाललाई कमजोर र भारतलाई बलियो बनाउन खोजिँदैछ । सिके राउतहरुको पृथकतावादको डर देखाएर मधेसवादी पार्टीहरुलाई बलियो बनाउने, पृथक प्रदेश या जातीय क्लष्टर माग्ने नाममा पृथकतावादलाई बढावा दिने काम सुनियोजित रुपमा गराइँदैछ । अर्थात्, ‘पहिचान’ र ‘मधेस एक प्रदेश’लाई परिपूरक बनाउन खोजिँदैछ । त्यसैले झापा मोरङ सुनसरी सहितको लिम्बूवान प्रदेश हुनुपर्छ भन्ने जत्था पनि एक मधेस पक्षधर मधेसवादीको साथमा देखिन्छन् र मधेसवादीका परिपूरक सिके राउत बनेका छन् ।

तराई देखाएर पहाडमा एम्बुस थाप्दै जाने काम भइरहेको छ । अन्जानमै धेरै मानिसले सिके राउत प्रवृत्तिको सेवा गरिरहेका छन् । सिके राउत प्रवृत्तिले तराई टुक्रिने डर देखाएर समग्र नेपाली राष्ट्रियता बन्दक बनाउन खोज्दैछ र यसका लागि पहाडि समुदायहरुलाई उपयोग गर्न खोजिँदैछ । अशोक राईहरुको टोली पनि यसमा उपयोग भइरहेका छन् । कतिसम्म भने बाटो विस्तारको कामलाई समेत जातीय विषय बनाएर द्वन्द बढाउन खोजिँदैछ ।

बौद्धिक सिके राउतहरु

विगतमा जसरी भए पनि नागरिकता खुल्ला बनाउनुपर्छ भनेर भारतले निरन्तर दवाब दियो, नागरिकता बाँड्न दवाब दियो र हाम्रा नेताहरुले बाँड््ने निर्णय गरे । गाउँगाउँमा टोली खटाएर भिटामिन ए बाँडे जसरी नागरिकता बाँडियो । नागरिकता बाँड्दा सिके राउतहरुलाई चाहिँ भिटामिन लाग्दै गयो ।

नेपालमा गतिलो बौद्धिक थिंकट्यांक जमात कहिल्यै भएन जसले भारतले दिर्घकालीन रुपमा यसरी नेपालमा खेल्दैछ, भविष्यका लागि भारतले अहिलेदेखि नै यसो गर्न खोज्दैछ भनेर पहिचान गरोस् । जस्तो कि– पहाडमा फैलाइएको जातीय उत्तेजना ती समुदायको हितका लागि नभएर अन्तत भारतको सेवा गर्नलाई हो भन्ने बेलैमा बुझाउन सकिएन । सरकारले यस्ता विषय पहिचान गर्न कहिल्यै थिंक ट्यांक जमात तयार पार्न खोजेन । बरु, के गर्दा नेपाल कमजोर हुन्छ र भारतलाई सघाउ पुग्छ भनेर चिन्तन मनन गर्ने विशाल जमात खडा गरियो । यस्तो जमातमा बुद्धिजीवी, व्यापारी, पत्रकार, नेता, कर्मचारी अनेक छन् ।

नेपाल भारत सम्बन्ध कसरी सुधार्न सकिन्छ भनेर नेपालमा भारतले बारम्बार कार्यक्रम गर्छ तर नेपालले आफ्नो हित कसरी हुन्छ भनेर बौद्धिक परामर्श कार्यक्रम चलाउँदैन । सिके राउतहरुलाई संविधानसभा भित्र बोलाइयो तर राष्ट्रिय हितका लागि लागिपरेकाहरुलाई उपेक्षा गरियो । राष्ट्रिय हितको पक्षमा लाग्ने बोल्नेहरुलाई ‘भारत विरोधी’ भन्दै अछुत व्यवहार गर्ने प्रयास जारी छ । राष्ट्रिय हितको पक्ष लिनु भारत विरोधी हुनु हो भन्ने स्थापित गर्न खोजिँदैछ ।

अझ रमाइलो त के छ भने सिके राउत प्रवृत्तिको विरोध गर्दा भारत रिसाउँछ भनेर डराउने कथित बौद्धिक जमात ठूलो छ । मधेसवादीका माग मानिएन भने सिके राउतहरु बलियो बन्छन् भन्दै आफ्नै देशलाई ब्ल्याकमेलिङ गर्ने कथित पात्रहरुको आवाज ठूलो छ । सिके राउतलाई अगाडि सारेर पहिचानवादी र मधेसवादीको फ्यूजनलाई स्थापित गर्ने भारतीय रणनीति बुझेर पनि नबुझे झैं गर्दैछ ठूलो बौद्धिक तप्काले । नेपाललाई दिर्घकालीन एम्बुसमा पार्ने रणनीतिको विरोध गर्दा ‘मधेसी र जनजातिको विरोध गर्ने नश्लवादी’ भन्ने गरिएको छ । पहाडि समुदायका मानिसहरुलाई कि मौन राख्ने कि बाबुराम–अशोक राईहरुको जमात जसरी सक्रिय रुपमा पक्षमा लगाउने रणनीति अपनाइएको छ । र, यसका लागि सिके राउतको भूत उपयोग गरिँदैछ जसको तार मधेसवादीहरु सहित पहाडमा जातीय नारा लगाउनेहरुसँग गास्न खोजिँदैछ ।

सिके राउतहरुलाई संविधानसभा भित्र बोलाइयो तर राष्ट्रिय हितका लागि लागिपरेकाहरुलाई उपेक्षा गरियो । राष्ट्रिय हितको पक्षमा लाग्ने बोल्नेहरुलाई ‘भारत विरोधी’ भन्दै अछुत व्यवहार गर्ने प्रयास जारी छ । राष्ट्रिय हितको पक्ष लिनु भारत विरोधी हुनु हो भन्ने स्थापित गर्न खोजिँदैछ ।

जसो गरे पनि पहाडि समुदाय माझ जातीय विभाजन ल्याउन खोज्ने पात्रहरुलाई नियालेर हेरौं, तिनका कुरा सुनौं, उनीहरु भन्दैछन्– ‘हाम्रो जातीय माग पूरा गरिएन भने सिके राउत हावी हुन्छ ।’ यसो भनेर ब्ल्याकमेलिङ गर्नेहरु पहाडि सिके राउत प्रवृत्तिका सेवक हुन् ।

आगामी दिन

जातीय उत्तेजना प्रसारण गरेर सिके राउत प्रवृत्ति स्थापित गर्ने प्रयासबाट निराश हुन पर्दैन, हरेक देश संकटबाट नै माथि उठेको हुन्छ । विश्वमा जातिवादी राजनीति कहिँ कतै टिकेको छैन । वैदेशिक हस्तक्षेप आजको विश्वको यथार्थ हो, अन्य मुलुकमा पनि वैदेशिक हस्तक्षेप छ, जातीय राजनीति छ । तर, जनताको व्यापक एकताले यस्ता प्रवृत्तिहरु परास्त हुँदै गएका छन् । नेपालमा उदाएका सिके राउत र जातिवादी अभियन्ताहरुको जमात ठूलो छैन तर तिनलाई बेलुन फुके जसरी ठूलो बनाउने प्रयास गरिएको मात्र हो । विदेशी एजेण्डाको एम्बुसमा फसेकाहरुलाई कुरा बुझाएर बाहिर ल्याउन गाह्रो काम होइन । यसका लागि व्यापक वैचारिक अभियान चलाउन आवश्यक छ । यस्ता प्रवृत्तिहरुको पहिचान गर्ने र पात्रहरु ठम्याएर नाङगेझार पार्ने काम गरियो भने निश्चित छ– कुनै तागतले नेपाललाई विखण्डनमा लैजान सक्दैन ।

यो पनि पढौं

सिके राउतहरुका नाममा लड्न खोजिएको छद्म युद्ध

SHARE
mm
तीन दशकदेखि पत्रकारितामा संलग्न राजकुमार विभिन्न साप्ताहिक पत्रिका, अन्नपूर्ण पोष्ट, राजधानी दैनिक लगायतमा संलग्न रहिसकेका छन् ।

तपाईंको प्रतिक्रिया