राष्ट्रिय एकताले सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सक्छः प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई सबै क्षेत्र र वर्गको सर्वस्वीकार्यता बनाउनुपर्ने बताए ।
तमू ल्होछार, २०७३ को उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले निर्दिष्ट गरेका निर्वाचन निर्धा्रित समयभित्र सम्पन्न गर्न सरकारले प्राथमिता दिएको बताए ।
प्रधानमन्त्री दाहालले भने, ’वर्तमान सरकारको सम्पूर्ण ध्यान संविधानलाई सर्वस्वीकार्यता र अपनत्व गराउँदै निर्वाचन सम्पन्न गर्नमा नै केन्द्रित छ, यस कार्यमा सहयोग र साथ दिन म आम जनसमुदायलाई अपिल गर्दछु ।’
राष्ट्रिय एकताले मात्र सबै जनजातिका पहिचान र अधिकारलाई बलियो पार्न सकिने बताउँदै उनले भने, ’जातले भन्दा विचारले उत्पीडित जनताको अधिकार स्थापित गर्न सकिन्छ ।’
प्रधानमन्त्री दाहालले आफूले उत्पीडित वर्गका पहिचान र अधिकार स्थापित नभएसम्म राजनीतिक लडाइँ लडिरहने बताउँदै उनले भने, ’गणतन्त्र स्थापना भएपछि मधेसी समुदायबाट राष्ट्रको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुग्न सफल भएको, अहिले राष्ट्रको सर्वाेच्च पदमा महिला, सभामुख पदमा जनजाति महिला, प्रधानन्यायाधीश महिलाले नेतृत्व प्रदान गरिरहनुभएको छ, यो नै समावेशीको उत्कृष्ट उदाहरण हो ।’
’अब गुरुङ समुदायबाट पनि राष्ट्रपति र प्रधानमन्त्री पद प्राप्त गर्ने दिन टाढा छैन,’ उनले भने, ’गुरुङ जातिको पर्व तमू ल्होछार मनाउन सरकारबाट दिँदै आएको रकम दोब्बर पारिने छ ।’
कार्यक्रममा गुरुङ सुमदायबाट विद्यावारिधि प्राप्त गर्ने र सो समुदायको उत्थानमा काम गर्नेलाई सम्मानसमेत प्रदान गरिएको थियो ।
सोही अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खाना महोत्सवसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ, माओवादी केन्द्रका नेता देव गुरुङ, सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय एकताले नै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । – कान्तिपुर दैनिक

तपाईंको प्रतिक्रिया