मधेसी मोर्चालाई फकाउँदै कांग्रेस

तमलोपा अध्यक्ष महन्थ ठाकुर

सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने निष्कर्षमा पुगेको छ । ‘सहज होस् भनेर लामो समय एमालेलाई कुरेका हौँ । एमाले निर्वाचन चाहन्छ भने अब उसले सहयोग गर्नुपर्छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘सहज रूपमा टेबल गर्न दिए राम्रो हो । होइन फेरि अवरोध गरिरहे पनि संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक आगामी सोमबारको संसद्मा टेबल हुन्छ । चैतमा स्थानीय चुनाव गराउनुपर्नेछ । अब एमाले मानेन भनेर हामी पर्खनेवाला छैनौँ ।’
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधनसम्बन्धी प्रस्ताव अगाडि बढाउन कांग्रेसले सकारात्मक पहल गर्ने भनेपछि आफूहरू आशावादी भएको बताए । ‘कांग्रेसले आफ्नै सहमतिमा अघि बढाएको प्रस्ताव अघि नबढी मुलुक अगाडि बढ्दैन भनेको छ । त्यसैले अब जुन दिन हाउस अघि बढ्छ हामी टेबल गर्छौँ भन्ने विश्वास दिलाउनुभएको छ,’ बैठकपछि यादवले भने, ‘हामीले अघि बढाएको प्रस्तावलाई पास गर्ने नैतिक राजनीतिक जिम्मेवारी हाम्रो हो । जसरी पनि पास गराउँछौँ, शंका नगर्नुस् भन्नुभएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न मधेसी दलहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । उनको आग्रहपछि मोर्चाका नेताहरूले संसद्मा टेबल भएर संशोधन पास हुने अवस्थामा आफूहरू निर्वाचनको विरोधी नभएको बताएका थिए ।
‘०७४ माघ ७ सम्म तीनवटा चुनाव गर्नु छ । यसका लागि संशोधन प्रस्ताव पास गरौँ त्यसपछि हामी अगाडि बढ्न तयार छौँ भन्ने हाम्रो कुरा राख्यौँ । हाम्रो कुरामा कांग्रेस सभापतिले यो प्रस्ताव पारित हुन्छ, बाहिर जसरी हल्ला भएको छ यसमा विश्वास नगर्नुस् भन्नुभएको छ,’ यादवले भने, ‘यो टेबल नभई स्थगन वा फिर्ता सम्भव नै छैन ।’
बैठकमा कांग्रेस सभापति देउवासहित नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेल र मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्रराय यादव, अनिल झासहितका नेता सहभागी थिए । कांग्रेस र मोर्चाबीच शनिबार पनि छलफल हुने भएको छ ।
संशोधन प्रस्ताव परिमार्जनको आशामा मोर्चा
संविधान संशोधन प्रस्ताव पारित गएपछि निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने मधेसी मोर्चाले जनाएको छ । संसद्मा टेबल भएपछि परिमार्जन गरेर जान सकिनेमा मधेसी मोर्चा छ ।
‘निर्वाचनबारे उहाँहरूले चिन्ता जाहेर गर्नुभयो, तर हामीले यसलाई पास गरौँ अनि चुनावको मिति घोषणा गरेर जाँदा हामीलाई चुनावमा भाग लिने वातावरण बन्छ नत्र गाह्रो हुन्छ भनेका छौँ,’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘परिमार्जन भनेको प्रक्रिया हो । टेबल भएपछि पनि परिमार्जन गर्न सकिन्छ । त्यसैले पहिले टेबल गरौँ भन्ने हाम्रो जोड हो ।’
तराई मधेस सद्भावना पार्टी नेपालका नेता महेन्द्रराय यादवले संशोधन प्रस्ताव र निर्वाचन ऐनका विधेयक सँगै संसद्मा लग्छौँ भन्ने आश्वासन आएपछि आफूहरू सकारात्मक भएको बताए । ‘टेबल भएपछि परिपक्व हुन्छ । सबैको विचार बन्छ । सोही कारण हामी टेबल गर्न तयार भएका हौँ,’ उनले भने, ‘कांग्रेस सभापतिले पनि टेबल भएपछि पास हुन्छ भन्ने विश्वास दिनुभएको छ । एमालेले टेबल हुन दिइरहेको छैन । उनीहरू गलाउन चाहन्छन् । तर, टेबल भएपछि वातावरण सकारात्मक बन्छ भन्ने हाम्रो विश्वास छ ।’
पुरानै स्थानीय निकायको पक्षमा मोर्चा
मधेसी मोर्चाले नयाँ स्थानीय तहको चुनाव गर्दा संख्या घट्ने भन्दै पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जवाफमा देउवाले आफू पुरानो वा नयाँ जुनको निर्वाचन भए पनि आफूले निर्वाचन चाहेको बताएका थिए । ‘नयाँ संरचनामा संख्या घट्ने हुँदा पुरानै संरचनामा स्थानीय निर्वाचन गर्दा राम्रो हुन्छ भन्ने विषय मोर्चाका नेताबाट आएको थियो,’ कांग्रेस नेता भन्छन्, ‘तर, सभापतिले कांग्रेसलाई पुरानो वा नयाँ जेको चुनाव पनि मान्य छ, तर चुनाव रोक्न पाइँदैन भन्नुभएको छ ।’
देउवाले मोर्चाका नेतालाई भने–विश्वास गर्नुस्, आशंका नगर्नुस्
मधेसी मोर्चाका नेताहरूसँग डेढ घन्टा चलेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूलाई विश्वास गर्न बारम्बार आग्रह गरेका थिए । ‘तराई मधेसको समस्या तपाईंहरूको मात्र होइन, हाम्रो पनि हो । तपाईंहरूलाई लाग्ला संशोधन प्रस्ताव दर्ता मात्र गराए अगाडि बढाएनन् भन्ने । तर, अब टेबल गर्छौँ । निर्वाचन विधेयक टेबल पनि गर्छौँ । निर्वाचनको मिति पनि तय गर्छौँ, अब तपाईंहरूले निर्वाचन घोषणामा सहयोग गर्नुपर्छ,’ बैठकमा देउवाले भनेका थिए, ‘विश्वास गर्नुस् आशंका नगर्नुस् । हामीले त्यत्तिकै संशोधन दर्ता गराएका होइनौँ । पास गराउनै दर्ता भएको हो । एमाले अध्यक्ष केपी ओलीले पनि सहमति जनाउनुहुन्छ ।’
देउवाले निर्वाचनको विरोधमा नबोल्न आग्रह गरेपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, ‘जनमत, जनता फरक कुरा हुन् । जनमत कम भए पनि जनता हामीसँग छन् । मधेसीहरूलाई भेदभाव गर्ने एटिच्युडको अन्त्य हुनुपर्छ ।’
जवाफमा देउवाले शंका नगर्न आग्रह गरेका थिए । ‘हामीलाई शंका नगर्नुस्, तराईको समस्या हामी सबैको समस्या हो । मधेस, पहाड, हिमाल एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्छ । अब १४ महिनामा तीनवटा चुनाव गर्नुपर्छ । अब कोही पनि चुनावविरोधी नबनौँ,’ देउवाको भनाइ थियो, ‘दुःख गरेर ल्याएको उपलब्धि गुम्न दिनुहुन्न । उपलब्धि गुम्दा हामी दल र नेताको असक्षमता प्रमाणित हुन्छ । यस्तो हुँदा हामी कोही पनि लायक छौँ भन्ने हुँदैन । हाम्रो बलिदान र त्याग खेर फाल्नेमा कोही लाग्नुहुँदैन ।’ देउवाले मधेस आन्दोलनपछि बाँकी रहेका मुद्दा फिर्ता, क्षतिपूर्ति दिनेजस्ता विषयमा सरकारले प्रभावकारी काम गर्ने आश्वासन पनि दिएका थिए ।
मोर्चाका ३ निर्णय
१. संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन नभए स्वीकार्य नहुने र यथास्थितिमै पारित गरेर घोषणा गरिएको चुनाव अमान्य हुने मोर्चाको ठहर छ । सहमतिका आधारमा परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने मोर्चाको अडान छ ।
२. संशोधन प्रस्ताव पारितका लागि दबाब दिन १८ पुसमा जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्नेसहितका विरोधका कार्यक्रम पनि मोर्चाले सार्वजनिक गरेको छ ।
३. मोर्चाले संघीय राज्यको पुनर्संरचनाको मान्य सिद्धान्तअनुरूप स्थानीय तह प्रदेशअन्तर्गत हुनपर्ने तथ्यप्रति सबैको ध्यानाकर्षण गराएको छ । उसले जनसंख्याको आधारलाई बेवास्ता गर्दै जनसहभागिताविना तथा संविधानविपरीत तयार गरिएको स्थानीय तह निर्धारणसम्बन्धी प्रतिवेदनलाई अपूरो भन्दै अस्वीकार गरेको छ । – नयाँ पत्रिका

तपाईंको प्रतिक्रिया