नेपालीकरण गरिएका विदेशी एजेण्डा

लिकति पनि भ्रममा नपरे हुन्छ– अहिलेको राजनीतिक संकटको मुख्य कारण संविधान संशोधन र चुनाव घोषणा गर्ने योजना पटक्कै होइन । कतिपयले ठान्ने गरेका छन्– केही शीर्ष नेता र पार्टीले कुनै कोठामा बसेर सहमति गरेमा संकट मोचन हुन्छ । यो त झन हुँदै होइन, अहिजे जे गतिरोध देखिएको छ, संकटका हाँगाविगा मात्र हुन् । कोठे सहमतिले एकदुई विषयमा गतिरोध फुक्न सक्ला तर संकट मोचन असम्भव छ । नेपालको मुख्य संकट नेपालीकरण गरिएका विदेशी एजेण्डा हुन् । त्यस्ता एजेण्डाले नेपालको दिर्घकालीन भविष्य र अस्तित्व खतरामा पारेका छन् ।

नक्कली गतिरोध, सक्कली संकट

राजनीतिक गतिरोध र संकटलाई फरक ढंगबाट बुझिनुपर्छ । गतिरोध अस्थायी अवस्था हो, गतिरोध र समस्याहरुको समष्टि रुप संकट हो । केही विषयमा गतिरोध हटेमा संकट हट्छ भन्ने छैन । राजनीतिक संकटको चुरो पहिल्याइएन र त्यसलाई समाधान गरिएन भने यस्तो गतिरोध बारम्बार हुनेछ र संकट झनझन बढ्नेछ ।

पहिलो संविधानसभाको अन्तिम बेलातिर धेरैलाई लागेको थियो– नेताहरुले रातारात सहमति गर्छन्, संविधान बन्छ । किनभने त्यसअघि बारम्बार त्यसै गरिएको थियो । त्यस्तै खाले सहमतिले संविधान निर्माण हुन्छ अथवा संविधानसभा विघटनबाट जोगिन्छ भन्ने ठानियो । मध्यरातका सहमति गतिरोध फुकाउनका लागि मात्र थियो । बाहिरबाट हेर्दा गतिरोध फुकाउने काम तर भित्रभित्रै चाहिँ संकटको आयाम विस्तार गर्ने काम गरिएको थियो । त्यस्ता कोठे सहमति गरेर संकटको आयाम यति विस्तृत बनाइयो कि संविधान नै नबनी संविधानसभा विघटन भयो । त्यसबेला प्रधानमन्त्री पदमा डा. बाबुराम भट्टराई थिए, उनी कुनै हालतमा संविधान बन्न दिने पक्षमा थिएनन्, संविधानसभा विघटन गर्न गिद्दले सीनो ढुके झैं ढुकेर बसेका थिए । पछिल्लो संविधानसभाबाट संविधान बन्न नदिन उनीबाट निर्वाह गरिएको खलनायकत्व र ‘२४ घन्टे धम्की’ले पनि यो कुरा पुष्टि गर्छ । त्यसपछि पनि बाबुराम संविधान भत्काउन लागिपरेका छन् ।

बाबुरामजस्ता पात्रहरु अनेक पार्टीमा, अनेक गौंडा, देउराली र भञ्ज्याङमा राखिएका छन् । तिनले ऐन मौकामा मुलुकलाई एम्बुसमा पारेर परायाको सेवा गरेको देखिएकै हो र देखिँदै पनि छ ।

संविधानसभा विघटन गतिरोध थियो कि संकट ? बास्तवमा त्यो संकट थियो । त्यस्तो संकट दोस्रो पटक पनि ल्यान खोजिएको थियो तर असफल भए, बाबुराम जस्ता पात्रहरुले प्रयास गरेकै हुन् तर सकेनन् ।

बाबुरामजस्ता पात्रहरु अनेक पार्टीमा, अनेक गौंडा, देउराली र भञ्ज्याङमा राखिएका छन् । तिनले ऐन मौकामा मुलुकलाई एम्बुसमा पारेर परायाको सेवा गरेको देखिएकै हो र देखिँदै पनि छ । विगतमा मुलुकलाई अनेक ठाउँमा चुकाइएको छ, फसाइएको छ । संविधानमा अनेक छिद्र बनाइएको छ । सकेसम्म छिद्र टालेरै संविधान जारी गरिएको हो तर केही खर्ब रुपैयाँ खर्चेर स्थापित गरिएका विभिन्न घातक एजेण्डा संविधानमा अनेक ठाउँमा छिराइएको छ । त्यस्ता घातक एजेण्डाले आगामी दिनमा मुलुकलाई बारम्बार समस्यामा पार्नेछ । अब पनि एकपछि अर्काे घातक एजेण्डा ल्याइने र गतिरोध सिर्जना गरिने दृष्टिगोचर हुन्छ । बारबार आउने समस्या गतिरोध हुन् भने समस्या नै समस्याको जन्जालमा फसाएर नेपाललाई तहसनहस पार्ने योजना चाहिँ संकट हो । नक्कली गतिरोध सिर्जना गरेर त्यसको आडमा सक्कली संकट विस्तार गर्दै लगिएको छ ।

के छ संकट ?

धेरैलाई लाग्छ– नेपाली नेताहरु नालायक छन्, त्यसैले देशमा समस्या छ । हो, नेता नालायक छन् तर नेपालका मात्र होइन । विश्वमा जति नै प्रगति गरेका देश हेरौं, त्यहाँ भ्रष्टाचार छ, नेता स्वार्थी छन् । अरु देशका नेता योग्य, नेपाली नेता चाहिँ अयोग्य होइनन् । एकदुईजना नेताले चाहेर देश बिग्रने र एकदुईजनाले चाहेर देश बन्ने पनि होइन । देश बनाउने पद्धति र प्रणालीले हो । कुनै पनि प्रणाली र पद्धति स्थापित हुन नदिने हो भने देश आफै भत्कन्छ । नेपालमा हुँदै आएको यही हो । नेपालमा कुनै पनि पद्धति र प्रणालीलाई स्थापित हुन दिइँदैन ।

नेपालको संकट नेताहरुको नालायकीमा मात्र खोज्ने हो भने जरामा पुग्न सकिँदैन । नेपालको भूराजनीतिक अवस्थिति नै नेपालको संकटको मुख्य जरा हो, बाँकी त हाँगाविगा हुन् । नेपालको टाउकोमा संविधानसभा थोपरिनुमा भूराजनीतिको जाल थियो भन्ने बल्ल प्रष्ट हुँदैछ । भारत सहित नेपालमा चलखेल गर्ने देशहरुले आआफ्ना देशमा जनतालाई जात अनुसारको अधिकार दिन नपर्ने तर नेपालमा चाहिँ दिन पर्ने, अढाइ करोडजति (संविधानसभा सुरु हुँदा) जनसंख्या भएको नेपालमा एक प्रतिशतसम्म जनसंख्या भएका सबैलाई प्रदेश दिनुपर्ने लगायतका एजेण्डा बोकाइयो । नेपालमा वैदेशिक आप्रवासन बढाउने, आप्रवासीलाई ध्यानमा राखेर एजेण्डा स्थापित गर्दै जाने खेल रचना गरियो । भारतीय आप्रवासीसँग मिल्दाजुल्दा समुदायलाई एक ढिका बनाउने बाँकी नेपालीलाई चाहिँ अनेक जातथरमा फुटाउने प्रयत्न गरियो ।

अरु देशका नेता योग्य, नेपाली नेता चाहिँ अयोग्य होइनन् । एकदुईजना नेताले चाहेर देश बिग्रने र एकदुईजनाले चाहेर देश बन्ने पनि होइन । देश बनाउने पद्धति र प्रणालीले हो ।

यस्ता प्रयत्न गरेर विभिन्न अन्तराष्ट्रिय शक्तिहरुले विभिन्न स्वार्थ हासिल गर्न खोजिरहेका छन् । नेपाललाई मैदान बनाएर विदेशी शक्तिहरुले खेलिरहेका छन् । हेर्दा बाहिर नेपाली शक्ति देखिन्छन् तर पर्दा पछाडि विदेशी छन् । बाहिरबाट हेर्दा कांग्रेस एमालेको विवाद देखिन्छ, माओवादी र मधेसीको मिलाप देखिन्छ तर भित्र मिलाउने र फुटाउने शक्ति अर्कै छन् । विदेशी शक्तिहरुले सुनियोजित तरिकाले विभिन्न शक्तिहरुलाई एउटाएउटा एजेण्डा बोकाइदिएका छन् । विदेशीले आफ्ना एजेण्डालाई नेपालीकरण गराएका छन् । हामी भ्रममा छौं– कतिपय एजेण्डा हाम्रै नेपाली हो भनेर । तर, त्यस्ता एजेण्डा अर्बौै रुपैयाँ लगानी गरेर नेपालीकरण गरिएको छ । यहाँका नेता विभिन्न एजेण्डामा आपसमा लड्भिड् गर्छन् तर तिनले जानअन्जानमै विदेशीको सेवा गरिरहेका हुन्छन् ।

‘मेड इन नेपाल’को भ्रम

यसरी नेपाललाई गहिरो संकटमा फसाउने काम गरिएको छ । नेपालीकरण गरिएका विदेशी एजेण्डा पहिचान गर्नु र त्यसबाट मुक्ति पाउनु नै संकट मोचन हो । जातीय मुक्तिले नेपालको भलो हुन्छ भन्ने ठूलै जमात छ, तर, ‘मुक्ति’ भनिएका गुलियो विषबाट मुक्त हुँदा मात्र नेपालको भलो हुन्छ । गज्जब के छ भने नेपाललाई अस्थिर बनाउन यहाँका समस्या अध्ययन गरिन्छ, कुन समस्यालाई ठूलो रुपमा प्रस्तुत गर्ने र चर्काउने काम गर्न सके विग्रह ल्याउन सकिन्छ भन्ने पहिचान गरिन्छ र त्यस्ता समस्या परिमार्जन गरेर लगानी गरिन्छ । झलक्क हेर्दा समस्या नेपाली नै देखिन्छ तर त्यसलाई विदेशी प्रयोगशालामा नेपाल सुहाउँदो रुपमा परिमार्जन गरिन्छ र विभिन्न आइएनजीओ, एनजीओ, पार्टी, जातीय समूहहरु र नेताहरु मार्फत नेपालमा भित्राइएको हुन्छ ।

नेपाली कच्चा पदार्थ विदेश लगिन्छ, त्यहाँका कारखानाले सामान बनाएर नेपाल निर्यात गर्छन् । सामानमा चाहिँ ‘मेड इन’ कुनै देश लेखिएको हुन्छ तर एजेण्डामा चाहिँ ‘मेड इन’ लुकाएर नेपालमै बनेजस्तो भ्रम सिर्जना गरिन्छ ।

यसलाई अर्काे रुपमा पनि भन्न सकिन्छ– नेपाली कच्चा पदार्थ विदेश लगिन्छ, त्यहाँका कारखानाले सामान बनाएर नेपाल निर्यात गर्छन् । सामानमा चाहिँ ‘मेड इन’ कुनै देश लेखिएको हुन्छ तर एजेण्डामा चाहिँ ‘मेड इन’ लुकाएर नेपालमै बनेजस्तो भ्रम सिर्जना गरिन्छ । यसलाई अझ अर्काे रुपमा पनि भन्न सकिन्छ– नेपाली जनताको चाहना र आकांक्षा कता जाँदैछ भन्ने पहिचान गरिन्छ अनि त्यस्ता पवित्र चाहनामा विष घोलिन्छ । प्रजातन्त्र नेपाली जनताको चाहना थियो र परिवर्तन भयो, गणतन्त्र नराम्रो होइन तर गणतन्त्रमा विषतन्त्र घोल्ने काम गरियो ।

अर्थात्, यसो गरे पनि नेपालमा चलखेल गर्ने, उसो गरे पनि चलखेल गर्ने, नेपालमा भएका राम्रै कामलाई पनि विग्रहको रुप दिने काम जेजसरी भयो, त्यसमा नेपालीकरण गरिएका विदेशी एजेण्डाहरुको निर्णायक भूमिका रहँदै आएको छ ।

हरेक दसवर्षमा परिवर्तन किन हुन्छ ?

नेपालमा हरेक दस वर्षको हाराहारीमा ठूलो राजनीतिक परिवर्तन या घटना हुने गरेको देखिन्छ । यसलाई संयोग मान्नेको कमी छैन तर खासमा यो सुनियोजित हो । परिवर्तन गर्ने र गराउने अनि त्यसलाई टिक्न नदिने काम गरिन्छ । परिवर्तनले परम्परा र पद्धति भत्काइदिन्छ । पद्धति भत्काएपछि नयाँ पद्धति स्थापित गर्न समय लाग्छ । त्यो संक्रमणकालमा जालझेल गरेर नेपाललाई झन अस्थिर र कमजोर बनाउने काम हुँदै आएको छ । ल मानौं, हरेक दस वर्षमा ठूलो राजनीतिक परिवर्तन हुनु संयोग नै हो । तर, हरेक परिवर्तनमा भारतको भूमिका देखिनु अनि परिवर्तनपछि भारतले नेपालमाथिको नियन्त्रण झनझन कस्नु पनि संयोग हो ? अहँ, संयोग हुन सक्दैन । संयोगवश भारतको डोरी नेपालको घाटीमा पर्ने, संयोगवश डोरी कस्सिने, संयोगवश भारतले मागमाथि माग थोपर्ने, संयोगवश भारतले यहाँका विभिन्न जातीय समुदायलाई विभाजित गर्न खोज्ने, संयोगवश नेपालका सम्पूर्ण परम्परागत पद्धति र प्रणाली भत्काइने– यस्ता कुरालाई पनि संयोग मान्नु तथ्यसंगत हुन सक्दैन ।

बरु, तथ्य के हो भने नयाँनयाँ एजेण्डारुपी विष नेपालमा छरेर परिवर्तनका लागि नेपाली जनतालाई दिग्भ्रमित पार्दै माहौल तयार पार्न दस वर्ष लाग्ने रहेछ ।

कुरा अहिलेको

संविधान संशोधन विधेयक भारतले स्वागत गरिसकेको छ । नेपालमा हुने कुनै पनि राजनीतिक घटनाको भारतले स्वागत गर्नु र नगर्नु निर्णायक अर्थ रहने दिन आयो, यही हो नेपाललाई संकटमा फसाएर भारतले पाएको उपलब्धी । भारतले मान्यो भने संविधान बलियो हुने नत्र नहुने, भारतले मान्यो भने चुनाव हुने नत्र नहुने, भारतले टिकायो भने सरकार टिक्ने नत्र नटिक्ने, भारतले गिरायो भने सरकार गिर्ने नत्र नगिर्ने !!! अर्थात्, राजनीतिमा भारत निर्णायक रुपमा हावी भइसकेको छ । यसबाट नेपाली जनतालाई मुक्ति चाहिएको छ तर यसलाई ढाकछोप गर्न जातीय मुक्तिको एजेण्डा अगाडि सारिएको छ ।

संयोगवश भारतको डोरी नेपालको घाटीमा पर्ने, संयोगवश डोरी कस्सिने, संयोगवश भारतले मागमाथि माग थोपर्ने, संयोगवश भारतले यहाँका विभिन्न जातीय समुदायलाई विभाजित गर्न खोज्ने, संयोगवश नेपालका सम्पूर्ण परम्परागत पद्धति र प्रणाली भत्काइने– यस्ता कुरालाई पनि संयोग मान्नु तथ्यसंगत हुन सक्दैन

नेपाली नेताहरुले अब के निर्णय गर्छन् होइन भारतले के गर्छ भनेर मुख ताक्नुपर्ने हालतमा देश पुगेको छ । भारतले सितिमिती मुखले भन्दैन, एकैचोटि व्यवहारमा देखाउँछ । यसको दोष सीमित नेपाली नेताहरुलाई दिएर मात्र हुँदैन । लामो समयसम्म अन्तराष्ट्रिय शक्तिहरुले गरेको चलखेलको परिणाम हो यो । एकै दिन या रातमा यो अवस्था आएको होइन, हरेक दस वर्षमा लादिएका परिवर्तनहरुले यो हालत सिर्जना भएको हो । तथापि, परिवर्तनहरु नेपाली जनताको केही हदसम्म चाहना हो तर त्यही चाहनामा खेल्ने काम विदेशी शक्तिहरुले गर्दै आए ।

जस्तो कि, अहिले स्थानीय चुनाव देशको आवश्यकता हो तर यसलाई पनि विदेशीले उपयोग गर्न खोज्दैछन् । नेपालको चुनाव नेपाल विरुद्ध नै एम्बुसका रुपमा प्रयोग गर्न खोज्दैछन् । नागरिकता नबाँडी चुनाव हुन नदिने, नागरिकता बाँडेपछि पनि नागरिकता बिना नै मतदाता बन्न पाउनुपर्ने, निर्दलीय आधारमा चुनाव हुनुपर्ने जस्ता घातक एजेण्डा माने चुनाव हुन दिने नत्र नदिने परिपंच गरिँदैछ । निर्दलीय जनप्रतिनिधिलाई आफ्ना एजेण्डामा उपयोग गर्न सजिलो हुन्छ भन्ने विदेशी मान्यता देखिन्छ ।

संविधान संशोधन कुनै आपत्तिको विषय होइन । संविधान ताम्रपत्र होइन, एकपटक होइन बारम्बार संशोधन गर्न सकिन्छ तर संविधान संशोधन गरे पनि बरवादी, नगरे पनि बरवादी भन्ने अवस्था सिर्जना गरिएको छ । संविधान संशोधन गरेपछि भारत र मधेसी मोर्चाले केके माग तेर्साएर निहुँ खोज्छन् भन्ने अग्रिम थाहा भइसकेको छ । जसो गरे पनि समस्या बढाउने, समस्याका लागि विभिन्न पात्रहरु खडा गरेर तयारी हालतमा राख्ने अनि नेपाललाई अप्ठ्यारो पार्ने जुन दुष्चक्र छ, यो दुष्चक्र नतोडेसम्म बारम्बार आउने गतिरोध समाधानलाई नै संकट मोचन भन्ने भ्रममा पटक्कै पर्न हुन्न । किनभने गतिरोध फुकाउने नाममा नेपाललाई झन खतरनाक एम्बुसमा पार्दै लैजाने प्रयत्न देखिन्छ ।

SHARE
mm
तीन दशकदेखि पत्रकारितामा संलग्न राजकुमार विभिन्न साप्ताहिक पत्रिका, अन्नपूर्ण पोष्ट, राजधानी दैनिक लगायतमा संलग्न रहिसकेका छन् ।

तपाईंको प्रतिक्रिया