भारतले नेपाल र भुटानमा रहेको भारु साट्न विशेष व्यवस्था गर्ने

भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ । त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबार मात्र सार्वजनिक गरेको छ ।
भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ । यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए । भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन् ।
यस अगाडि नेपाल राष्ट्र बैंकको एक टोली भारतीय पक्षसँग कुराकानी गर्न आउने तयारी भएको थियो । तर, भारतीय पक्षले आफ्नो सरकारले नोट साट्ने व्यवस्था मिलाउँदै गरेको जनाएर नेपालको टोली तत्काल आउन आवश्यक नभएको बताएको थियो । स्रोतका अनुसार भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली पठाउनेछ । नेपालले भने यस अगाडि नै नोट साट्ने प्रबन्धका लागि एउटा सफ्टवेयर निर्माण गरिसकेको छ । स्रोतका अनुसार सम्भवतस् जनवरी पहिलो साता भारतले भारु साट्ने प्रयोजनका लागि टोली नेपाल पठाउनेछ ।
भारतीय एक अधिकारीले नेपाली नागरिकसँग रहेका ५०० र १००० को नोट बैंकमार्फत साट्ने व्यवस्था मिलाउन केही समय दिइने बताए । उनका अनुसार नगदमा साट्नेभन्दा पनि नेपालीसँग भएका भारु बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ, जसका लागि बैंक खाता आवश्यक पर्नेछ ।
नेपालले आफ्ना नागरिकसँग भएको भारु कम्तीमा २५ हजारसम्म साटिदिन आग्रह गरेको छ, तर भारत यसमा सहमत हुने हो अथवा होइन भन्ने यकिन छैन । नेपाल सरकारले पुराना नोट साट्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी भारतीय पक्षलाई गराएको छ ।
यस अगाडि खुला सिमानाका कारण भारतबाट नेपालमा भारु जाने भयले भारतले नेपाल र भुटानमा रहेका भारु साट्ने विषयमा कुनै निर्णय लिएको थिएन । उसो त भारतीय पक्षले नेपाललाई आफूहरूले कुनै न कुनै व्यवस्था गर्ने आश्वासन दिइरहेको थियो । केही दिन अगाडि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा भारतीय विदेश राज्यमन्त्री भीके सिंहले पनि भारु साट्ने व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

‘भारतीय पक्षले कुनै न कुनै व्यवस्था गर्छौं भनेका छन्, हामीले छिटो गर्न भनेका छौं,’ उपाध्यायले भने । उपाध्यायले नेपालीले आफूसँग भएका भारु नोट नसाटिने हो कि भन्ने भयले कम मूल्यमा साट्न थालेको जानकारीसमेत भारतीय पक्षलाई गराएका थिए । भारतमा रहेका नेपालीले भोगेका समस्याबारे भने केही नहुने अब लगभग निश्चित भइसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात् गरेको नोट रद्दको घोषणासँगै आइपर्ने नगदको समाधानका लागि कम्तीमा ५० दिन आवश्यक पर्ने बताएका थिए । तर अहिलेसम्म पनि भारतीय बैंकहरूमा सहज रूपमा नगदको प्रवाह हुन सकेको छैन ।
नगदको अभावसँगै भारत सरकारले क्यासलेस अर्थतन्त्रलाई अगाडि बढाउने भन्दै डिजिटल अर्थतन्त्रका लागि सबै संस्थालाई प्रेरित गरिरहेको छ । अहिले एटीमबाट एक दिनमा दुई हजार रुपैयाँमात्र निकाल्न मिल्छ तर पनि एटीएमहरूमा पैसाको अभाव रहेकै छ । आगामी डिसेम्बर ३० सम्म नगदको प्रवाहमा सुधार हुने भारतीय वित्त मन्त्रालयले जनाएको छ । तर पूर्ण रूपमा अवस्था सहज हुन भने कम्तीमा अर्काे २–३ महिना लाग्नेछ ।

भारतले नेपाल राष्ट्र बैंकलाई दिने भारतीय रुपैयाँमा समेत कमी गरेकाले नेपालमा भारुको अभाव भएको छ, जसले गर्दा औषधि उपचार तथा अन्य प्रयोजनका लागि भारत आउने नेपाली नागरिक प्रभावित भएका छन् ।

भुटानले पनि भारतलाई समस्या समाधान गर्न आग्रह गरिरहेको छ । भारु प्रतिबन्धले भुटानको आयात तथा निर्यातमा समस्या उत्पन्न भएका खबर सार्वजनिक भइरहेका छन् । भारतमा रहेका कूटनीतिक समुदायले पनि आफूहरूलाई नगदको अभाव रहेको गुनासो गरिरहेका छन् । भारत सरकारले भने समग्र भारतीय जनतालाई नै अप्ठ्यारो परिरहेकाले समस्या बुझिदिन आग्रह गरेको छ ।
मोदी सरकारले गरेको यो निर्णय आगामी वर्ष हुने उत्तर प्रदेशलगायतका प्रदेशहरूको चुनावमा एक महत्त्वपूर्ण एजेन्डा बन्ने देखिन्छ । विपक्षी दलहरूले पर्याप्त तयारीबिना ल्याइएको यो नीतिका कारण सर्वसाधारण जनता मर्कामा परेको र यसले कालो धन नियन्त्रण नगर्ने बताइरहेका छन् । कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले ५०० र १००० का नोट रद्दको घोषणा गरेको थियो । –कान्तिपुुर

तपाईंको प्रतिक्रिया