एक ज्यूँदो किवदन्ति बनेका थिए कमलमणि

नेपाली वाङमयको इतिहास अनुसन्धान, पुस्तक संग्रह र पुरस्कारको क्षेत्रमा करीब ७ दशकसम्म क्रियाशील एक ‘बाघ’ क.दी. अर्थात् कमलमणि दीक्षितको निधन भएको छ । राणा शासकहरुका दाहिने हात बनेको दीक्षित परिवारका कमलमणि खासगरी नेपाली वाङमयको क्षेत्रमा विवादित तर सम्मानित संस्थाहरु मदन पुरस्कार गुठी र मदन पुस्तकालयको संस्थापकका रुपमा सुपरिचित थिए ।

आज राती पौने तीन बजे ८७ वर्षीय दीक्षितको निधन भएको थियो । साहित्यकै संवद्र्धनमा अतुलनीय योगदान गरेको कारणले सम्मान र श्रद्धा गर्ने काठमाडौंका हजारौं साहित्यप्रेमीलाई थाहा नहुँदै विहान ६ बजे नै उनलाई आर्यघाट पु¥याइयो । सात बजे अघि नै विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई चढाएपछि धेरै साहित्यकार र परिचितजनहरुले आश्चर्य मानेका थिए ।

मदन शमशेरको आकस्मिक निधनपछि त्यस परिवारको सेवामा रहेका दीक्षितले रानी जगदम्बालाई फकाएर उनका स्वर्गीय पतिको स्मृतिलाई अमर तुल्याउन विसं २०१२ सालमा गुठी र पुरस्कारको स्थापना गरेका थिए । उनको कुलीन प्रभाव र व्यवस्थापकीय कुशलताका कारण शुरुदेखि नै यी संस्था प्रभावशाली र चर्चित रहे । जगदम्बा प्रेस र जगदम्बा प्रकाशनको स्थापना र संचालनका प्रमुख व्यक्ति पनि उनै थिए ।

लामो समयसम्म साझा प्रकाशन र साल्ट ट्रेडिङ लिमिटेड जस्ता सहकारी र व्यापारिक संस्थाका प्रमुख रहेका बेला उनले व्यापारी व्यवसायी संस्थाहरुलाई साहित्य, संस्कृति र कलाको उन्नतिसंग विज्ञापन मार्फत् जोड्ने कामको अगुवाई गरेका थिए । पुरानो पुस्ताले उनले लगाएको यस गुणलाई विर्सन सक्तैन ।

ऐतिहासिक महत्वका पचासौं अनुसन्धानमूलक पुस्तकहरुका संकलक, सम्पादक, संरक्षणकर्ता र भूमिका लेखक कमलमणि खासगरी मदन पुरस्कारको अपारदर्शी संयन्त्र र निर्णयका कारण विवादमा तानिने गर्थे । उनलाई थाहा थियो, स्वाभिमानी र स्तरीय सिर्जनामा विश्वास गर्ने स्रष्टाहरु पुरस्कारका लागि निवेदनमा आनो कृति नत्थी गरी कमलमणिको अफिस धाउन इच्छुक हुँदैनन्, वा तिनले आफ्ना प्रकाशकलाई त्यसो गर्न अनुमति दिन चाहन्नन् । तर उनले आरम्भदेखिको यस्तो नियमको उत्तम विकल्पको तलास गरेनन् । यसैकारण, निर्णायक मण्डलमा जो रहे पनि, पुरस्कारका लागि कृति छनोटमा कमलमणिकै हात रहेको ठान्नेहरुको संख्या बढ्दै गयो । तुलनात्मक रुपमा धेरै कमजोर कृतिहरु पुरस्कृत हुँदा उनले आलोचना खेपिरहनुपरेपनि पुरस्कारको प्रभावलाई किंचित असर पार्न सकेको थिएन ।

नेपाली वांग्मयको क्षेत्रमा उनको शान र अरुका कुरा कमै खाने स्वभावका कारण उनलाई सामन्तवादी भन्नेहरु पनि कम थिएनन् । यद्यपि कमलमणिले गरेको योगदान अरु कसैसंग तुलना गर्न सकिने खालको छैन । जगदम्बा राणा र आनो पूरै परिवारलाई वाङमयसेवी र संरक्षक संस्थाका रुपमा विकसित गरी निरन्तरता दिन सक्नु उनको सबैभन्दा ठूलो योगदान हो । मपुपुको नेपाली नामक जर्नलको सम्पादनलाई पनि उनको उल्लेख्य योगदानका रुपमा लिनुपर्दछ ।

उनका दुई छोरा कुन्द र कनक आमसंचारका क्षेत्रमा चर्चित छन् । अंग्रेजी साप्ताहिक द नेपाल टाइम्स र हिमाल खबरपत्रिका तथा हिमाल बुक्सका सम्पूर्ण कार्यभार सम्हालिआएका ‘दीक्षित ब्रदर्स‘ माथि अब आना पिताको बिँडोस्वरुप मपुपुको व्यवस्थापनको जिम्मेवारी थपिएको छ ।

तपाईंको प्रतिक्रिया