पुष्पकमल र बाबुराम फेरी एउटै पार्टीमा बस्लान् ?

तस्विरः नवराज श्रेष्ठ

डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गरेपछि पुष्पकमल दाहालसँग एउटै मंचमा नबसेका दुई नेता हिजो १६ महिनापछि एउटै मंचमा बसे । स्वर्गीय भक्ति पाण्डेबारेको पुस्तक ‘चाचा’ को बिमोचनका क्रममा डेढ घण्टा सँगै बसेका उनीहरु दुवैले आफूहरु फेरी मिल्नसक्ने सम्भावना पनि व्यक्त गरे ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भने झै के वास्तवमै उनी र बाबुरामलाई एकै ठाउँमा ल्याउने ‘परिस्थिति’ र ‘वातावरण’ तयार भएको हो ? यो वेग्लै हो कि, कार्यक्रममा दाहालले जसरी बाबुरामले एकताको पक्षमा खुलेर विचार राखेनन् । उनले विचारमा एकरुपता भए मात्र मिल्ने सम्भावना रहने बताए ।

तीसको दशकको मध्यमा नेकपा (चौथो महाधिवेशन) मा लागेका उनीहरु दुवै २०४३ देखि २०४८ बीचको पाँच वर्षबाहेक बाबुरामले माओवादी नछाड्दासम्म एउटै पार्टीमा रहे । त्यो बीचको समयमा दाहाल नेकपा (मशाल) मा थिए भने बाबुराम मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मसाल) मा । २०४८ मा बाबुरामले मोहनबिक्रमको मसाल छाडेर आएपछि नेकपा (एकता केन्द्र) हुँदै उनीहरुको यात्रा अघि बढ्यो ।

तर, उनीहरुबीचको सम्बन्ध एउटै पार्टीमा हुँदा पनि सधैं पक्ष—प्रतिपक्ष जस्तो रह्यो । ‘जनयुद्ध’ को अन्तिम समय २०६१ सालमा त दाहालले बाबुरामलाई बन्दी समेत बनाएका थिए । जसलाई माओवादी नेताहरु नै स्विकार्छन् । दाहालले भने अनुसार उनीहरुबीचको २५ वर्षे सहयात्रामा बाबुरामले सधैं मुख्य नेतृत्वमा जान खोजे तर, दाहालले बाबुरामलाई कहिल्यै त्यो अवशर दिएनन् । हिजोको भाषणमा पनि बाबुरामले यो असन्तोष घुमाउरो तर स्पष्ट बुझिनेगरी राखेका थिए ।

यस्तोमा, अब उनीहरुबीच कसरी एकता होला त ? दाहालले बाबुरामलाई नेतृत्व देलान् वा बाबुराम फेरी दोश्रो वरियता लिएरै माओवादीमा प्रवेश गर्लान् ?

दाहाल अहिले पूर्व माओवादीहरुलाई एकै ठाउँमा ल्याएर गुमेको शक्ति प्राप्त गर्ने योजनामा छन् भने बाबुराम उपेन्द्र यादवसहित मधेसवादी—जातिवादीहरुलाई एक गठ बनाउने अभियानमा छन् । उनीहरुको अभियान बिपरित दिशातर्फ फर्किएको देखिएपनि ती अभियानका उदेश्य भने फरक छैनन् । उनीहरुको दुवैको स्विकारोक्ति छ—अहिलेको शक्ति निकै अपर्याप्त छ, यसलाई नबढाई सत्ता प्राप्त गर्न नसकिने मात्र नभएर राष्ट्रिय राजनीतिको केन्द्रमा रहन समेत सकिदैन । विचार, राजनीति नमिले पनि उनीहरुको यही बुझाई उनीहरुलाई एक ठाउँमा ल्याउने कारण बन्न सक्छ ।

दाहाल र बाबुराम एक हुने परिस्थिति विकास भए बाबुराम र उपेन्द्रबीच हुने भनिएको एकताको भविष्य के होला ? वा बाबुराम र उपेन्द्र एक भएमा उनीहरुको दाहालसँग एकता हुन सक्ला कि नसक्ला ? जस्ता जिज्ञाशा स्वाभाविक बन्छन् । तर, राजनीतिको बाटो सोझो नभएर घुमाउरो हुने हुँदा ती विषयमा अहिले स्पष्ट भन्न सकिन्न ।

तर, मधेसवादी दल र जातीय पार्टीहरुले उठाएको एजेण्डामा बाबुरामको जस्तै दाहालको पनि सहमति रहेकाले बाबुराम र उपेन्द्रबीच एकता भएपनि त्यसले दाहालसँगको एकतालाई भाड्ने देखिदैन । त्यसमाथि, ‘जनयुद्ध’ कालमा उपेन्द्र यादव माओवादीसम्बद्ध रहेर काम गरेको इतिहास छँदैछ । त्यसैले पहिले बाबुराम र उपेन्द्रबीच एकता हुने अनि उनीहरु र दाहालबीच एकता हुने सम्भावना नकार्न सकिदैन ।

यो सबै प्रसङ्गमा पद भने तगारो बन्न सक्छ । तर, दाहालले भने जस्तै ‘परिस्थिति’ र ‘वातावरण’ ले दबाब दियो भने अहिले दाहाल, बाबुराम र उपेन्द्र एउटै पार्टीमा हुने दिन नआउला भन्न सकिन्न ।

तपाईंको प्रतिक्रिया