भारतपरस्त र जातीय जमातसँग नयाँ शक्ति मिल्न सक्दैन

केनयाँ शक्ति पार्टी भारत परस्त हो ? के नयाँ शक्ति अन्य जातीय साम्प्रदायिक शक्तिहरुसँग एकीकरणमा जान्छ ? के नयाँ शक्ति माओवादी केन्द्रमा विलय हुन्छ ? यस्ता भ्रमपूर्ण प्रश्नहरु यत्रतत्र सर्वत्र सुनियोजित तरिकाले उठाउन थालिएको छ । नयाँ शक्ति वास्तवमै नयाँ छ र अति शशक्त छ, नयाँ शक्ति भविष्यको सुन्दर सम्भावनाका रुपमा उदाएको छ । त्यसैले सुरुमै यसको घाँटी निमोठ्ने प्रयास भइरहेको छ । राजनीतिमा यसलाई त्यति अस्वाभाविक रुपमा लिन मिल्दैन ।

केही दिन अघि यस आठै प्रहर डटकममा नयाँ शक्ति पार्टीमा नरहेका मुमाराम खनालले नयाँ शक्तिको बाटो गलत भएकाले यो सफल हुँदैन भन्ने विचार राखेको पढ्न पाइयो । मुमारामजीको अभिव्यक्तिलाई अस्वाभाविक रुपमा किन लिन हुँदैन भने पार्टी छाडिसकेकाहरुले पूर्व पार्टीको आलोचना गर्नु अस्वाभाविक होइन । पार्टीमा रहेकाहरुले चाहिँ आफ्नो पार्टीलाई कसरी ठिक बाटोमा हिँडाउने, कसरी अघि बढाउने भनेर चिन्ता गरिरहनुपर्ने हुन्छ ।

मधेसवादी पार्टीहरु भित्र नै रैथाने मधेसीहरु यो नीतिको विरोधमा छन् । मधेसवादी पार्टीहरु जनताको बलमा राजनीति गरिरहेका छन् कि भारतको काख र काँधमा बसेर राजनीति गरिरहेका छन् भन्ने छर्लङग छ ।

अहिले नयाँ शक्ति पार्टीको एकीकरण मधेसवादी, जातिवादी, साम्प्रदायिक, क्षेत्रीयतावादी पार्टीहरुसँग हुन लागेको हल्ला चलाइएको छ । यस्तो हल्ला चलाउनमा आठै प्रहर नै अग्रपंक्तिमा देखिन्छ । बुझ्नुपर्ने कुरा के हो भने नयाँ शक्ति भनेको पार्टी मात्र होइन, यो नवीन विचार हो । परम्परागत पार्टी र विचारले देशलाई अगाडि बढाउन सकेनन् भनेर नै नयाँ शक्ति अगाडि आएको हो । यसले पूराना शक्तिहरुसँग एकीकरण गरेर उही पूरानो घृणित राजनीति गर्दैन भन्ने तथ्यवोध सबैले गर्न आवश्यक छ ।

भारतीय स्वार्थ विरुद्ध नयाँ शक्ति

अहिले मधेसवादी पार्टीहरु भारतको गोटी बनेका छन् । उनीहरु तराईमा भारतीय आप्रवासीहरुलाई भित्रयाएर नवनागरिकहरुको कब्जामा नेपाललाई पार्न खोजिरहेका छन् । मधेसवादी पार्टीहरु भित्र नै रैथाने मधेसीहरु यो नीतिको विरोधमा छन् । मधेसवादी पार्टीहरु जनताको बलमा राजनीति गरिरहेका छन् कि भारतको काख र काँधमा बसेर राजनीति गरिरहेका छन् भन्ने छर्लङग छ । यस्ता राजनीतिक शक्तिहरुसँग नयाँ शक्ति जस्तो नेपाली जनताको पवित्र पार्टीको एकीकरण हुन्छ भन्नु समयको माग र भविष्यको सम्भावनालाई पटक्कै नबुझ्नु हो ।

अहिले सत्ताधारी राजनीतिक पार्टीहरु चुनावको हौवा पिटाउँदै चुनाव टार्ने काम गरिरहेका छन् । प्रतिपक्षी एमाले पनि मुखले चुनाव भन्दै व्यवहारमा चाहिँ कसरी सत्ता हत्याउने भन्ने चक्करमा लागेको छ । मधेसवादी पार्टीहरु संविधान संशोधनको बहानामा मुलुकलाई थप अस्थिरतामा लगेर भारतीय स्वार्थपूर्तिमा भिडेर लागेका छन् । यस्ता शक्तिहरुभन्दा पृथक बनेर देखिने काम नयाँ शक्तिको हो । सत्ता स्वार्थ र भ्रष्टाचारमा चुर्लुम्म डुबेका यी पूराना शक्तिहरुको पूरानै प्रवृत्तिसँग नयाँ शक्तिको एकीकरण असम्भव छ ।

अहिले संसदमा रहेका शक्तिहरु संविधान कार्यान्वयन गर्ने भन्दै संविधानको हातखुट्टा भाँच्न लागिपरेका छन् । पहाड र मधेस छुट्याउने चक्करमा लागेका छन् । नागरिकता नीति लचिलो बनाएर नवनागरिक भित्राउने खेलमा लागेका छन् । अनेक जालझेल गरेर हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने षडयन्त्रमा लागेका छन् । नेपाललाई भारत नियन्त्रित देश बनाउन लागिपरेका छन् । नयाँ शक्ति यस्ता पाप र अपराधबाट टाढै छ र टाढै बस्नेछ पनि ।

साम्प्रदायिकता विरुद्ध नयाँ शक्ति

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा जारी भएको पच्चीस बूँदे संयुक्त विज्ञप्तिको विरोधमा सार्वजनिक विरोध कार्यक्रम गर्ने एकमात्र राजनीतिक पार्टी नयाँ शक्ति नै हो । नयाँ शक्तिले भारतको हस्तक्षेपकारी नीतिलाई साथ दिन सक्दैन । न त नयाँ शक्तिले जातीय दुर्भावना फैलाउने, जातीय राज्य माग्ने काम नै गर्नेछ ।

तराईमा जातीय विविधता समाप्त पारेर एउटै मधेसी जातीय समुदाय विकास गर्ने र पहाडमा विभिन्न जातीय समुदायलाई विभाजित गरेर द्वन्द्व बढाउने भारतीय नीति छर्लङ्ग भइसकेको छ । भारतको यस्तो नीतिको मतियार पार्टीहरुसँग नयाँ शक्तिको एकीकरण हुने कल्पना पनि गर्न सकिन्न । भारतीय हस्तक्षेप विरुद्ध नयाँ शक्ति आगामी दिनमा खरोसँग उभिँदै जानेछ, संसदमा रहेका यी पार्टीहरु त्यसरी उभिन सक्छन् ? उनीहरुको अतितले भन्छ– अन्तत यिनीहरु भारतसँग लम्पसार पर्छन् ।

अहिले एमालेले आफूलाई राष्ट्रवादी देखाउने ठूलो जमर्काे गरिरहेको छ । भारतीय स्वार्थमा छेकबार बनेर एमाले उभिएको छ । तर, एमालेको इतिहास हेर्दा उसले सत्ता र शक्तिका लागि मात्र राष्ट्रियताको नारा उपयोग गरेको देखिन्छ । ठाउँ पाउनासाथ एमाले लम्पसार पर्छ भनेर शंका गर्ने ठाउँ उसको अतितले दिएको छ । तर, नयाँ शक्ति भारतीय दादागिरीसँग लम्पसार पर्नेवाला छैन । किनभने नयाँ शक्ति हिजोका कुनै पनि पार्टीको निरन्तरता होइन । यसलाई कतिपयले माओवादीबाट विभाजित भएर बनेको भन्ने गरेका छन् । माओवादीले हिजो गरेका अपराध, हत्या, हिँसा कुनैको पनि जिम्मेवारी नयाँ शक्तिले लिन सक्दैन । हो, नयाँ शक्तिमा हिजो माओवादीमा रहेका व्यक्तिहरु छन्, अन्य पार्टीबाट आएका व्यक्तिहरु पनि छन् ।

नयाँ शक्ति यो समाजकै उपज हो । यो शक्तिमा लागेकाहरु आकाशबाट झरेका होइनन्, हिजो विभिन्न पार्टीमा रहेकाहरु यो पार्टीमा छन् । नयाँ शक्तिमा आउँदा हिजो आफू लागेका पार्टीहरुका विकृति विसंगतिरुपी जुत्ता फुकालेर मात्र पस्न पाइन्छ । अरु पार्टीका फोहोर मैला नयाँ शक्तिले भित्रयाउँदैन । यो अर्थमा पनि नयाँ शक्ति बास्तवमै नयाँ छ ।

संविधान भनेको संशोधन भइरहने दस्तावेज हो तर भारतले जसोजसो भन्यो त्यसो मानेर संविधान संशोधन गर्ने र मुलुकलाई धरापमा पार्ने कार्यलाई नयाँ शक्तिले साथ दिन सक्दैन । किनभने नयाँ शक्तिको मूलमन्त्र पाँच स मध्ये एउटा स्वाधीनता हो ।

नयाँ शक्तिसँग एकीकरण भन्ने शब्द छैन । किनभने नयाँ शक्ति आफैमा अभियान हो, विचार हो । नयाँ शक्तिसँग एकीकरण गरेर यसलाई पनि जातीय शक्ति, भारतीय दादागिरीको सेवा गर्ने शक्तिमा रुपान्तरण गर्ने दाउपेच अन्य शक्तिहरुले गर्न सक्छन् । तर, नयाँ शक्ति भारतीय डिजाइनमा फस्नेवाला छैन, कुनै पनि जातीय र साम्प्रदायिक शक्तिको लोलोपोतोमा नयाँ शक्ति फस्न सक्दैन । वर्तमान संविधान भताभुंग पारौं भनेर दाउ गरेर बसिरहेका शक्तिहरु अनेक छन्, एकीकरणको नाममा नयाँ शक्तिलाई फसाउन सकिन्छ कि भनेर त्यस्ता शक्तिले चाहना राख्लान् तर नयाँ शक्ति त्यस्तो जालझेलमा फस्न सक्दैन । नयाँ शक्ति अभियान भएकाले यसमा सहभागी बन्न सकिन्छ, नयाँ शक्तिमा सहभागीताको सर्त हो– जातीय, साम्प्रदायिक, धार्मिक, क्षेत्रीय संकीर्णताबाट माथि उठेको हुनुपर्छ, मुलुकको स्वाधीनता र लोकतन्त्रलाई शीरमा राखेको हुनुपर्छ । यस्ता शक्तिहरु मात्र नयाँ शक्तिमा सहभागी बन्न सक्छन् ।

अबको बाटो

नयाँ संविधान बनेपछि नयाँ युग सुरु भएको छ । संविधान अगाडि के थियो, के भयो भन्ने अब सबैले बिर्सनुपर्छ र मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानु पर्छ । यही हो नयाँ शक्तिको मूलमन्त्र । मुलुकको आगामी बाटोलाई नयाँ शक्तिले पाँच ‘स’मा संश्लेषण गरेको छ । पाँच ‘स’ नमान्ने तर जातीय, क्षेत्रीय, साम्प्रदायिक विचार बोक्ने, जसो गरे पनि नेपालमा अस्थिरता फैलाएर भारतको सेवा गर्ने तत्वसँग नयाँ शक्तिको कुनै सहमति, सहकार्य र एकीकरण असम्भव छ ।

नेपालको अबको बाटो संविधान कार्यान्वयन नै हो । संविधान कार्यान्वयनको कुनै विकल्प छैन । संविधान कार्यान्वयनका लागि चुनाव आवश्यक छ र चुनाव सबैभन्दा चाहिएको छ नयाँ शक्तिलाई । चुनाव भाँड्ने, चुनावबाट भाग्ने शक्तिहरुसँग नयाँ शक्ति नजिक हुन सक्दैन । हो, संविधान भनेको संशोधन भइरहने दस्तावेज हो तर भारतले जसोजसो भन्यो त्यसो मानेर संविधान संशोधन गर्ने र मुलुकलाई धरापमा पार्ने कार्यलाई नयाँ शक्तिले साथ दिन सक्दैन । किनभने नयाँ शक्तिको मूलमन्त्र पाँच स मध्ये एउटा स्वाधीनता हो । राष्ट्रिय स्वाधीनता विरुद्धमा सोझो या घुमाउरो पाराले जाने कुनै पनि शक्तिसँग नयाँ शक्तिले सम्झौता गर्न सक्दैन ।

वर्तमान संविधानले समावेसी, समानुपातिक, धर्मनिरपेक्षता र लोकतन्त्रको सुनिश्चितता गरेको छ । यो संविधानको रक्षा र कार्यान्वयन नै देशको आजको आवश्यकता हो र नयाँ शक्तिको पनि चाहना हो ।

SHARE
mm
देब लिम्बू लाबुङ नयाँ शक्ति एक नम्बर प्रदेश सम्पर्क संयन्त्र संयोजक हुन् ।

तपाईंको प्रतिक्रिया