पूर्वाधार सम्मेलन फागुन दोश्रो सातादेखि

गामी फागुनको दोस्रो सातादेखि काठमाडौमा पूर्वाधार सम्मेलन हुने भएको छ । आयोजक नेपाल उद्योग परिसंघले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो । पूर्वाधार क्षेत्रमा नीजि क्षेत्रको लगानी विस्तार, पूर्वाधार मार्फत विकास संजाल विस्तार र सरकारीदेखि नागरिक तहसम्म पूर्वाधार निर्माणको महत्व र आवश्यकताबारे जानकारी दिनु सम्मेलनको उदेश्य रहेको परिसंघले जनाएको छ ।

त्यस्तै, पूर्वाधार निर्माणका क्षेत्र पहिचान, लगानी विश्लेषण, समयावधि र मोडेलबारे सम्मेलनमा छलफल हुने बताइएको छ । दुई दिने सम्मेलनमा कृषि, उर्जा, पूर्वाधार, सडक तथा पर्यटन विकासका आधारको खोजी, नीतिगत समस्याको समाधान लगायतका विषयमा गहन छलफल हुनेछ परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । राजनीतिक अस्थिरतालाई कारण बनाएर मुलुकको पूर्वाधार विकास रोकिनु हुँदैन भन्ने मान्यता लिएर यो सम्मेलन गरिन लागेको शर्माको भनाई छ ।

सम्मेलनमा प्रमुख वक्ताको रुपमा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुलाई आमत्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यस्तै, सम्मेलनमा लगानी बोर्डले अघि बढाएको पूर्वाधार बैंक अन्तरगत लगानीका संभावना बोकेका झण्डै ५० परियोजना सोकेसको रुपमा रहने अध्यक्ष शर्माले जानकारी दिए । ठोस नीति र प्रतिवद्धता नहुँदा ठूलो संभावना रहँदा पनि नेपालले पूर्वाधार विकासमा पाइला चाल्न नसकेको अहिलेको अवस्थामा सम्मेलनले केही आशा जगाउने अपेक्षा लिइएको छ । दुईदिनसम्म चल्ने सम्मेलनमा स्वदेशी र विदेशी गरी ५ सय बढिको सहभागिता रहने जानकारी दिइएको थियो ।

तपाईंको प्रतिक्रिया