सिके राउतहरुका नाममा लड्न खोजिएको छद्म युद्ध

त असारको एक साँझ लाहानको एउटा थारु गाउँमा सिके राउतको भेलामा सहभागी थिए, पंकज चौधरी । पूरानो चिनजानका ती भाइले सिकेका बारेमा सुनाएको रोचक घटना यस्तो छ, ‘निकै नाम सुनेकोले के भन्दो रहेछ भनेर भेलामा गएको थिएँ । एक घण्टा जति बोल्दा उसले झण्डै रुँदै छुट्टै मधेस बनाउन हामी थारुहरुसँग गुहार माग्यो । थारुहरुले सहयोग नगरे आफ्नो केही नलाग्ने उसको भनाई थियो ।’ त्यो कार्यक्रमले त्यहाँ कस्तो प्रभाव पार्यो त भन्ने प्रश्नमा पंकजको उत्तर छ, ‘उसको कुरा सुनियो अनि आआफ्नो बाटो लागियो । देश टुक्र्याउन कसले मान्छ ? कसैले मान्दैन ।’

ती सिकेले आफू अमेरिकामा ‘वैज्ञानिक’ रहेको दावी गर्ने गरेका छन् तर त्यसको स्वतन्त्र रुपमा पुष्टि भएको छैन । सन् २०११ मा अमेरिकाको ‘बैज्ञानिक’ जागिर छाडेर नेपाल फर्केदेखि मधेसलाई छुट्टै देश बनाउन ठाउँ र जाति अनुसार तराईका बिभिन्न ठाउँ पुगेर उनले उत्तेजक विचार प्रचार गर्दैछन् र त्यही क्रममा उनी लाहान पुगेका थिए । पछिल्लो समय उनको नारा बनेको छ ‘अबकी बार एक ही माग जनमत संग्रहका ऐलान, स्वतन्त्र मधेस अपना देश ।’

सप्तरीमा जन्मिएको भनिएका उनी बेलाबेला काठमाडौ पनि आइरहन्छन् । सुरक्षा श्रोतका अनुसार, काठमाडौं आउँदा उनी प्राय भक्तपुरको बालकोट र ललितपुरको धापाखेलमा रहेका समर्थकको डेरामा बस्छन् । तर, हवाई जाहाजबाट काठमाडौं उत्रेपछि उनले देखाउने नाटक चर्चा गर्न लायक छ । समर्थकको मोटरसाईकल वा ट्याक्सीमा बिमानस्थलबाट हिडेपछि सुरक्षाकर्मीलाई छक्याउन उनी कहिले सिनामङ्गल त कहिले कोटेश्वर पुगेपछि मोटरसाईकल वा ट्याक्सी फेर्छन् । जबकि, त्यसो गर्दा सुरक्षाकर्मीले बेहार्ने झञ्झट भनेको उनको आश्रय छेउमा उनीभन्दा १५ मिनेट ढिलो पुग्नु बाहेक केही होइन । तर, आफूलाई बिशेष देखाउन उनले सधैं यही तरिका दोहोर्याइरहेका हुन्छन् ।

देशद्रोहको घोषणा गरेका सिके राउतको अहिलेको हैसियत भनेको सैन्य भाषामा भन्दा हत्केलामा दौडिरहेको जुम्राभन्दा बढि होइन । जसलाई मान्छेले चाहँदा त्यही हातले वा अर्काे हातले जुनसुकै बेला किचिमिची पार्न सक्छ । तर, नेपाललाई तर्साउन वा तल पार्न उनैलाई हौवा देखाउने बुद्धिजिवी—राजनीतिज्ञ यहाँ प्रशस्त छन् ।

छद्म युद्ध

अहिले दक्षिणले आफ्ना कुरा नमाने सिके राउत बलियो हुन्छ भनेर नेपाललाई तर्साउने गरेको छ । यसले नेपालसँग वार्गेनिङ गर्ने हतियार सिकेलाई बनाइएको स्पष्ट हुन्छ । बहादुर शाह, रणबहादुर शाह हुँदै नेपालको सत्तासँग विवाद भएर असन्तुष्ट बनेका राणाहरुलाई पनि आश्रय दिएर दक्षिणले यस्ता अनेकलाई वार्गेनिङ चिप्स बनाएको इतिहास छ । जयकृष्ण गोइत र ज्वाला सिंहलाई अहिले पनि आफ्ना सिमावर्ती गाउँहरुमा आश्रय दिएर राख्नुको कारण आवश्यक परेको बेला उनीहरुलाई मैदानमा उतारेर वार्गेनिङ गर्न नै हो । उतैको आदेशमा अहिले शान्त देखिएका उनीहरु आदेश आउनासाथ पुनः चल्न—चटपटाउन थाल्ने निश्चित छ । हतियार चलाएर आतङ्क मच्चाउनेभन्दा थप खुबी नभएकाले उनीहरुलाई चुप राखेर तुलनात्मक रुपमा बौद्धिक छवी भएका सिकेलाई अहिले प्रयोग गरिएको हुनसक्छ ।

दक्षिणले सुरु गरेको छद्मयुद्धको अनेकौं मोर्चामध्ये एउटामा खटिएका पात्र मात्र हुन् सिके राउत । मधेसवादी दलहरु अर्काे मोर्चामा छँदैछन् । त्यसैगरी डा. भट्टराई अर्काे मोर्चाका दक्षिणी योद्धा भएको स्पष्टै छ ।

सिके राउत जस्ता अनेक पात्र तराईमा क्रियाशील छन् तर सिकेलाई चर्चामा ल्याउने र मान्यता दिने काम भने अनौठो तरिकाले भएको थियो । संविधानसभाको संवाद समितिमा घुस्न पाउनु सिकेको ‘टर्निङ प्वाइन्ट’ मानिन्छ । समितिका सभापति थिए डा. बाबुराम भट्टराई । उनले विज्ञका रुपमा सिकेलाई समितिमा आमन्त्रण गरे । कुनै हैसियत र चर्चा नभएका सिकेले विज्ञको हैसियतमा नेपाल टुक्राउनुपर्छ भनेर समितिमा धाराप्रवाह भाषण दिए । सुझाव दिइसकेपछि उनलाई ज्वाईंसम्मान दिँदै डा भट्टराई बाहिरसम्म पुरयाउन गएका थिए । समितिमा पनि सिकेसँग विशेष व्यवहार गरेका थिए । अरु विज्ञलाई निम्त्याइँदा ढोकसम्म लिन र पुराउन नजाने बाबुरामले सिकेलाई भने विशिष्ट व्यवहार र सत्कार गरे । त्यसपछि सिके रातारात चर्चामा आए ।

दक्षिणले सुरु गरेको छद्मयुद्धको अनेकौं मोर्चामध्ये एउटामा खटिएका पात्र मात्र हुन् सिके राउत । मधेसवादी दलहरु अर्काे मोर्चामा छँदैछन् । त्यसैगरी डा. भट्टराई अर्काे मोर्चाका दक्षिणी योद्धा भएको स्पष्टै छ । यस्ता अनेक मोर्चामा उसले अनेकौं पात्रहरु खटाएको छ । यस्ता पात्रहरु दलको नेता, गिरोहको नेता या बुद्धिजिवी अथवा पत्रकार पनि हुनसक्छन् । दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, डा. सुन्दरमणी दिक्षित जस्ता पात्रहरुले खास किसिमको दक्षिणी मोर्चा सम्हालेका छन् भने मिडियाको मोर्चामा पनि अनेक स्वनामधन्यहरु क्रियाशील छन् । यस्ता प्रायोजित पात्रहरु दक्षिणी आदेश आउनासाथ आफ्नो वर्कतले भ्याएसम्म प्रयोग हुने गरेका छन् ।

मधेसवादी दलहरु र सिकेहरुलाई बलियो आधारभूमि दिलाउन दक्षिणले लामो समय लगाएर तराईमा अंगिकृतहरुको ठुलो जमात खडा गरिसकेको छ । तर पनि, इतिहासदेखिका उसको क्रियाकलाप हेर्ने र विश्लेषण गर्ने हो भने तराईलाई फुटाएर छुट्टै देश बनाउने वा आफूमा मिलाउने उसको उदेश्य देखिदैन । त्यसो गर्दा, मेचीदेखि महाकालीसम्म केही किलोमिटर चौडा समथर भूमि पश्चिम बंगाल, बिहार र उत्तरप्रदेशमा थपिने मात्र हो । त्यसो भयो भने चुरे उत्तरको नेपाल उसका लागि झन प्रतिकूल बन्ने खतरा रहन्छ । तराईमै हुने बिष्फोट पनि उसका लागि सधै काउछो बनिरहनेछ । त्यसैले उसको उदेश्य भनेको समग्र नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने हो । तराई फुटाउने त्राश देखाएर समग्र नेपाललाई नियन्त्रणमा राख्ने दक्षिणी रणनीति अहिले चरममा छ । अहिलेका उसका समग्र क्रियाकलाप त्यही उदेश्यमा केन्द्रित देखिन्छन् ।

विश्व इतिहास हेर्दा के देखिन्छ भने सिकेजस्ता पात्रको त के कुरा उनीभन्दा कैयन गुणा वलिष्ठ र जनसमर्थन समेत प्राप्त पात्रले पनि देश विभाजन गर्न सकेका छैनन् । देश विभाजनका लागि बलियो अन्तराष्ट्रिय शक्ति चाहिन्छ । सिके राउत त्यस्तो शक्तिका एउटा भुसुना गोटि मात्र हुन्, जसलाई बेलाबखत हात्ती आकारमा प्रस्तुत गरिन्छ ।

अहिले नेपाल बिरुद्धको छद्म युद्धमा उसले तराईलाई आधार इलाका बनाउन खोजेको देखिन्छ । आधार इलाकामा अझ बलियो हुँदै राजधानीमा प्रहार गर्ने । उसको यो छापामार लडाईमा आधार इलाका र छापामार इलाकामा खटिनेहरुको उत्तिकै महत्व छ ।

हो, अहिले नेपाल बिरुद्धको छद्म युद्धमा उसले तराईलाई आधार इलाका बनाउन खोजेको देखिन्छ । आधार इलाकामा अझ बलियो हुँदै राजधानीमा प्रहार गर्ने । उसको यो छापामार लडाईमा आधार इलाका र छापामार इलाकामा खटिनेहरुको उत्तिकै महत्व छ । माओवादी ‘जनयुद्ध’ को रणनीतिक पक्ष सम्झँदा काफी हुन्छ, राजधानी वा छापामार इलाकामा खटिने योद्धाहरुको छापामार युद्धमा झन ठूलो महत्व हुन्छ । किनभने शत्रुलाई कमजोर पार्ने उनीहरुले नै हो । नेपाललाई अहिले त्यसैगरी हायलकायल पार्न राजधानीसहित पहाडमा जात, भाषा, धर्म, इलाकाका नाममा भाँडभैलो मच्चाउँदै ‘छापामार युद्ध’ गरिएको छ । र, दक्षिणले सिकेसहित मधेसी दलहरुमा जत्ति नै यो क्षेत्रका योद्धाहरुमा पनि लगानी गरेको छ ।

तर, सजिलो छैन

तर, यत्रो लगानी गर्दा पनि दक्षिणले त्यस अनुसार प्रतिफल पाउन सकेको छैन । यसको प्रमुख कारण भनेको उसले खोलेका मोर्चा र छापामारहरु खुल्नु नै हो । लड्न खोजिएको मोर्चा र छापामारहरुको गोप्यता नरहँदा लडाईं कमजोर हुने नै भयो । ढंग पुर्याउन नसकेका कारण अहिले उसका प्रायः सबै प्रमुख योद्धाहरुको पोल खुलिसकेको छ, खुल्दैछ । नेपालमा दर्जनौं यस्ता पात्र छन् जसको नाम लिनासाथ जो कसैले भन्छ– ‘उनी प्रो इण्डियन हुन् !’ जात, भाषा, धर्मका नाममा उसले लड्न खोजेका मोर्चाहरु पनि ‘एक्सपोज’ भइसकेका छन् ।

उता, तराई पनि उसले चाहे जसरी आधार इलाका बनिरहेको छैन । मधेसवादीहरुको राजनीतिक साख पूरै खस्किएको छ । गत वर्ष कैलाली घटना गराउन र थारु समुदायका केही पात्रहरुलाई गत नाकाबन्दीमा रक्सौलमा धर्ना बसाउन सफल भएपनि दक्षिणको एजेण्डा र उदेश्यमा थारु समुदाय असहमत देखिइसकेको छ । सामाजिक बिभेद अत्याधिक रहेकाले उच्च जातिको वर्चश्व रहेको मधेसवादी दलहरुसँग ठूलो संख्यामा रहेको दलित समुदाय पनि असन्तुष्ट छ ।

तराई पनि उसले चाहे जसरी आधार इलाका बनिरहेको छैन । मधेसवादीहरुको राजनीतिक साख पूरै खस्किएको छ । गत वर्ष कैलाली घटना गराउन र थारु समुदायका केही पात्रहरुलाई गत नाकाबन्दीमा रक्सौलमा धर्ना बसाउन सफल भएपनि दक्षिणको एजेण्डा र उदेश्यमा थारु समुदाय असहमत देखिइसकेको छ ।

अंगिकृतहरुको ठाँटबाँठ र रवाफ बढेकोमो रैथाने मधेसीहरु असन्तुष्ट र आक्रोशित छन् । त्यसैले, अंगिकृतको मुद्धालाई महत्व दिएका मधेसवादीहरुसँग रैथाने मधेसीहरु टाढा बन्दै गइरहेका छन् । रैथाने मधेसीहरु मधेसवादीसँग टाढा हुनु भनेको तराईलाई आधार क्षेत्र बनाउएर ‘नेपाल हान्ने’ दक्षिणको योजना कमजोर बन्नु हो ।

यत्तिकै महत्वपूर्ण बिषय पहाडे समुदायसँग दुरी बढाउनु आर्थिक—सामाजिक कुनै पनि हिसाबले आफ्नो र आफ्नो ठाउँका लागि फाइदाजनक नभएको निष्कर्ष आम मधेसीले निकाल्न थालेका छन् । मधेसवादी दलले आफ्नो कारण साम्प्रदायिक द्वन्द्व घटेको जति दावी गरेपनि पहिलो मधेस आन्दोलन जति दोश्रो मधेस आन्दोलन साम्प्रदायिक नभएको कारण यही हो । त्यही कारण मधेसी नेताहरुले जति भड्काउपूर्ण अभिव्यक्ति दिएर उकासे पनि मधेसी जनता साम्प्रदायिकताको विरुद्धमा उभिएका हुन् । साम्प्रदायिक एकता बढ्नु भनेको सिके, मधेसवादी र दक्षिण सबैको योजना र उदेश्य असफल हुनु नै हो ।

तर, उ हार मान्ने छैन

सोचे जस्तो सफल नभएपनि दक्षिण थाक्ने छैन र हार मान्ने छैन भन्ने इतिहासले पटक पटक प्रमाणित गरिसकेको छ । नेपाललाई आफ्नो कब्जामा पार्ने नेहरुको सोच र योजनालाई उनकी छोरी इन्दिराले निरन्तता दिइरहिन् । उनीहरुको दललाई हराएर आएका मोदीले पनि त्यही सोच र योजनालाई निरन्तरता दिएका छन् । दृष्यहरुले मोदी योजनामा असफल हुने देखाइसकेको छ । तर, आर्थिकरुपमा नेपाल दक्षिणप्रति निर्भर रहेसम्म र राजनीतिक रुपले नेपालले बलियो नेतृत्व नपाएसम्म सायद मोदीपछिको नेतृत्व पनि नेहरु पथमै हिँड्ने छ । निश्चित छ, त्यसबेलासम्म सिके राउत र उनीजस्ता अनेक बुख्याचाहरु हामीले बेहोरिरहनु पर्नेछ ।

SHARE
mm
दुई दशकदेखि पत्रकारितामा संलग्न सुवास देवकोटा हिमाल खबरपत्रिकाको सहसम्पादक तथा हिमालय टेलिभिजनको समाचार प्रमुख रहेका थिए ।

तपाईंको प्रतिक्रिया