नेपाल आयल निगमको प्रेस विज्ञप्ती

मिति २०७३ मंसिर ३० गते एक राष्ट्रिय दैनिक पत्रिकाको प्रथम पृष्ठमा प्रकाशित गोप्य रुपमा ३ सय ३४ पम्पलाइ अनुमति शिर्षकको समाचार प्रती निगमको गम्भीर ध्यानाकर्षण भएको छ । निगम व्यवस्थापनबाट सञ्चालक समितिले चार वर्षअघि पेट्रोल पम्प इजाजत रोकेयता निगम व्यवस्थापनले गोप्य रुपमा ३ सय ३४ वटा पम्पलाई व्यवसायीको प्रभावमा परी संचालक समितिलाई छलि अनुमति दिएको भन्ने तथ्यहिन समाचारको निगम खण्डन गर्दछ ।

नेपाल आयल निगम कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित एक मात्र पेट्रोलियम पदार्थ कारोवार गर्ने सरकारी स्वामित्व प्राप्त संस्था हो । निगमले गर्ने सम्पूर्ण क्रियाकलापहरू प्रचलित नीति नियम, विनियम तथा निगम संचालक समितिको निर्देशन बमोजिम सम्पादन हुदै आएको छ । यसै सन्दर्भमा निगम संचालक समितिको मिति २०६९।१।४ को निर्णय अनुसार निगमका विक्रेताहरूको भौतिक संरचनाहरूलाई अद्यावधिक गर्न तथा अझै व्यवस्थित गर्न आवश्यक देखिएकोले विक्रेता नभएका मार्ग, पहाडी मार्ग, ग्रामीण मार्गका स्थान वाहेकका क्षेत्रमा विक्रेता नियुक्तिका कार्य बन्द गर्ने व्यहोराको सूचना मिति २०६९।१।११ गतेको राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ । निगम व्यवस्थापनले विक्रेता नभएका मार्ग, पहाडी मार्ग, ग्रामीण मार्गमा विक्रेता नियुक्तिका लागि माग भई आएको अवस्थालाई मध्यनजर गर्दै गोरखापत्रमा मिति २०६९।१।११ गते प्रकाशित सूचना तथा निगमको विक्रेता विनियमावली, २०६५ अनुसार सडक विभाग वा सम्बिन्धीत तालुकवाला निकायकोे सडक वर्गिकरण सहितको सिफारिसको आधारमा माथि उल्लेखीत मार्गमा अवस्थित स्थानहरूमा मात्र आवश्यकता हेरी विक्रेता नियुक्ति कार्य अगाडि बढाइदै आएको छ ।

अतः उक्त समाचार बमोजिम अनुमति दिएको भन्ने व्यहोराको समाचार गलत भएको व्यहोरा जानकारी गराउदै निगमले विद्यमान विक्रेता विनियमावली एवं संचालक समितिको निर्देशन बमोजिम मात्र विक्रेता नियुक्ती गर्दै आएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरू समक्ष निगम जानकारी गराउदछ ।

नेपाल आयल निगम, बबरमहल, काठमाडौं

—एडभोटोरियल

तपाईंको प्रतिक्रिया