धु्वीकरण कसले ग-यो, देउवाले कि ओलीले ?

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर भने, ’मधेश र पहाडको ध्रुवीकरण नगरौं ।’

नेपालमा कसैले केही भनिदिन्छ, हामी चुप लागेर सुन्छौं । रातारात त्यो असत्य सत्य बनेर देखा पर्छ । तैपनि हामी चुप लागिरहन्छौं । यो प्राज्ञिक दरिद्रताको निकृष्ट अवस्था हो । सत्यका निमित्त जस्तोसुकै जोखिम पनि स्वीकार गर्न सक्ने प्राज्ञहरुको अनिकाल पर्दा वा प्राज्ञ हौं भन्नेहरु सत्ता र शक्तिको दास भएको समाजमा मात्रै यस्तो अवस्था आउँछ । तिनको सत्य बोल्ने ग्रन्थि लोभ र लालचले नष्ट गरिसकेको हुन्छ । तसर्थ ती सत्य स्थापनाको कठिन मार्गमा लाग्दैनन् । देउवाले ओली र उनले नेतृत्व गरिरहेको दलमाथि नेपाललाई ध्रुवीकृत तुल्याएको आरोप लगाएपछि त्यसको सत्य निरुपण गर्नुपर्ने थियो । यथार्थको छानबीन गर्नु आवश्यक हुनुपर्ने थियो । तर कसैको जिब्रो सत्ताको सनासोले समातेको छ, कसैको मुटुु शक्तिको बन्दुकले थर्काएको छ, कसैको कलम पदप्रतिष्ठाको लोभले अँठ्याइदिएको छ । तसर्थ प्राज्ञिक वहस र वैचारिक विमर्शको अवस्था निरन्तर कमजोर हुँदै गएको छ । तथािप जनताको विवेक गुमेको छैन । त्यो ऐन मौकामा देखिनेछ ।

सभ्य र विकसित समाज निर्माणको दावी गर्ने रोलमोडल बन्नुपर्ने देउवाजस्ता नेताहरुले नै साँचो बोल्नुपर्दैन, साँचो नबोले हुन्छ, साँचो बोल्नु घातक हुन्छ, अथवा नेता हुनेले इन्फम्र्ड हुनु पर्दैन, आफुले राजनीतिक लाभ लिने हो भने गलत सूचना दिए हुन्छ भन्ने खालका सन्देश प्रवाहित गर्छन् भने त्यो समाज सत्यबाट विमुख हुँदै जान्छ । सत्यविमुख समाज प्रगतिउन्मुख बनिरहन सक्तैन । असत्यलाई बारम्बार दोहो-याएर सत्य बनाउन जोरजुलुम गर्ने नेतामाथि विश्वास गर्ने समाजले कुनै पनि हालतमा यथार्थको जोखिमपूर्ण सामना गर्ने क्षमता राख्तैन । क्षणिक लाभका लागि सत्यलाई पर्दा हाल्ने नेताले समाजलाई उज्यालोमा लैजान सक्तैन । देउवाजीलाई रोल मोडेल मान्नेहरुले नै भनून्, देउवाको उक्त दावीमा सत्यको अंश कति छ !

नेपालमा देउवालाई रोल मोडेल मान्नेहरु धेरै छन् । उनकै नेतृत्वको दल, त्यसका भ्रातृभगिनी संगठनहरु । र, संगठनको सदस्य नभए पनि उनलाई समर्थन र मत दिनेहरुको संख्या सानो छ भन्नु देउवाकै पथमा लम्किनु हो । उनकै नेतृत्वलाई शिरोपर गरिआएकाहरुमध्येकै पूर्वसभामुख तारानाथ रानाभाट हुन्, तिनीहरुमध्येकै गुल्मीका सांसद चन्द्र भण्डारी र रुपन्देहीबाट सांसद भई रक्षा मन्त्री समेत रहेका बालकृष्ण खाँड हुन् । तिनीहरुले नै भनून्, देउवाको उक्त भनाई सत्यको कतिसम्म नजिक छ । एउटा महावहस थालनी होस्, वर्तमान नेपालको ध्रुवीकरणमा को को सर्वाधिक बढी जिम्मेवार छन् ?

गिरिजा, देउवा, ओली र प्रचण्ड अथवा उपेन्द्र, महन्थ, महेन्द्र र विजय आउनु धेरै वर्षअघिदेखि नै अन्य मुलुकका झैं नेपाली समाजमा पनि विभेद थियो र समाजका उपेक्षित वर्गमा असन्तुष्टि पनि विद्यमान थियो । त्यो अझ पनि विद्यमान छ ।

बेलायती शासकहरुको सबभन्दा ठूलो रणनीतिक अस्त्र हो, ’फुटाऊ र शासन गर ।’ जडौरीस्वरुप पाएको त्यस पुख्र्यौली सम्पत्ति अर्थात् बेलायती लिगेसीलाई भारतीय उच्च वर्गले यथावत् ग्रहण गरेर देशभित्र र छिमेकी मुलुकहरुमा पनि अस्थिरता उत्पन्न गर्दै आफ्नो स्वार्थ जोगाइआएको छ । त्यसैलाई मन्त्रझै मानेर प्रजातन्त्रका नाममा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादका नाममा पुष्पकमल दाहालले नेपालमा विखण्डनको बीज रोपेका हुन् भन्ने कुरा थाहा हुनेका लागि देउवाले नेपाली जनतालाई सरासर ढाँटेको ठहर्छ । यसो भन्न धेरै प्रमाणहरु खोतल्न पर्दैन ।

हो, गिरिजा, देउवा, ओली र प्रचण्ड अथवा उपेन्द्र, महन्थ, महेन्द्र र विजय आउनु धेरै वर्षअघिदेखि नै अन्य मुलुकका झैं नेपाली समाजमा पनि विभेद थियो र समाजका उपेक्षित वर्गमा असन्तुष्टि पनि विद्यमान थियो । त्यो अझ पनि विद्यमान छ । तर नेपाली जनताले आफैले आफुमाथि विभेदरहित शासन गर्ने व्यवस्था ल्याउनका निम्ति निकै लामो संघर्ष गरेका थिए । त्यो संघर्ष त्यही विभेदको अन्त्यका लागि भएको थियो । असन्तुष्टिको बीज कुनै कथित पहाडिया अहंकारवादले रोपेको थिएन, हिमाल पहाड र तराई तिनवटै पारिस्थितिक प्रणालीमा बसोवास गर्ने आम नेपालीमाथि शासन गर्ने शताब्दीऔं पुरानो सामन्तवादले रोपेको थियो । त्यस सामन्तवादको नाभि भारतीय अभिजात वर्गसंग जोडिएको थियो ।

तर जब आन्दोलनले मूर्त रुप लियो, उसले रणनीतिक चाल चल्यो । नागरिकता पाउन नसकेका मधेसका सर्वसाधारणका नाममा उसले पारिका लाखौं आफन्तहरुलाई नागरिकता दियो र यसरी गिरिजाप्रसादका हातबाट, विना जनताको आदेश, एक वा दुई मधेस प्रदेश दिने सम्झौता समेत भयो । जनसंख्याको आधारमा प्रतिनिधित्व हुने मागको फेदमा यही सम्झौता छ । के यो सम्झौता एमालेले गरेको थियो ? वा यसमा एमालेको पनि आधिकारिक सहमति थियो ? थियो भने एमाले प्रमुख ओलीले यो यो परिस्थितिमा गर्नुपरेको भनेर जनतालाई यसै वखत श्वेतपत्र जारी गर्दै भन्न सक्नुपर्छ । होइन भने, कांग्रेसजस्तो जिम्मेवार दलका प्रमुख देउवाबाट आफुमाथि यस्तो गम्भीर आरोप लगाउँदा ओली र उहाँको दलले सफाई दिनु पर्दैन ? अझ यसभन्दा अघि, विखण्डनको यो बीउ एमालेले रोप्यो भन्नका निमित्त देउवासंग पर्याप्त आधारहरु हुनु आवश्यक हुदैन र ?

नागरिकता पाउन नसकेका मधेसका सर्वसाधारणका नाममा उसले पारिका लाखौं आफन्तहरुलाई नागरिकता दियो र यसरी गिरिजाप्रसादका हातबाट, विना जनताको आदेश, एक वा दुई मधेस प्रदेश दिने सम्झौता समेत भयो । जनसंख्याको आधारमा प्रतिनिधित्व हुने मागको फेदमा यही सम्झौता छ । के यो सम्झौता एमालेले गरेको थियो ?

संविधान संशोधनको मुद्दा मधेस समस्यासंग कुनै अर्थमा पनि जोडिएको छैन, प्रचण्ड र देउवाको आलोपालो सत्तामा जाने अहम् लक्ष्यसंग जोडिएको छ भन्ने तमाम आधारहरु प्रस्तुत गर्न सकिन्छ । यसका लागि ओलीको वहिर्गमनमा यी दुबै दलका शीर्षहरुले गरेको चलखेल र माओवादी–कांग्रेस र स्वयम्भू मधेसी नेताहरुको अस्वस्थ गठबन्धनको निर्माण तथा दिल्लीमा भएको खुसीयालीका घटना पर्याप्त हुन्छन् । त्यसपछि पनि संसदमा दर्ता त गरिहेर्नोस् अनि समर्थन गर्ने नगर्ने विचार गरौंला भन्ने कथित मधेसी जवाफ अनि दर्ता भइसकेपछि यो अपर्याप्त भएकोले समर्थन गर्न सकिन्न भन्ने जवाफलाई सत्तारुढ गठबन्धन तीन घटकका बीच रहेको विश्वासको गहिरो संकट नभनी के भन्ने ?

सबैले बुझ्न सक्ने कुरा हो, वर्तमान संशोधन मधेसका समस्याको सम्बोधनसंग जोडिएको भए, सत्तामै रहेका मधेसी दलका नेताहरुसंग छलफल भएर निस्कर्ष निस्केपछि मात्रै ती संसदमा दर्ता हुने थिए । यस्तै प्रमुख प्रतिपक्षी एमालेसंग व्यापक विचारविमर्श र सहमतिपछि संसदमा दर्ता भएको भए, तिनप्रति यति चर्को विरोधको स्वर सुनिने थिएन । ती दुबै पक्षलाई नजिक ल्याएर संविधान संशोधनको कांग्रेस माओवादी प्रस्ताव आएको भए त्यो नयाँ सहमतिको पूरक दस्तावेजका रुपमा नेपाली समाजमा आउने थियो ।

तर यस विपरीत कांग्रेस माओवादी प्रस्ताव एमाले लगायतको प्रीतपक्षलाई पेलेर ल्याउने र मधेसमा प्रतिपक्षमा रहेको जनसमर्थनलाई आफुतर्फ आकर्षित गर्ने प्रयासका रुपमा आएको प्रतीत हुन्छ । बिडम्बनाको विषय के भयो भने, सत्तारुढ दलहरुकै, अझ मन्त्रीमण्डलका वरिष्ठ सदस्य र कार्यसमितिका उच्च तहका पदाधिकारी तथा सदस्यहरुबाटै यसको तीब्र विरोध भयो । आफ्ना मातहतका नेता कार्यकर्ताको समर्थनसम्म जुटाउन नसक्ने प्रचण्ड र देउवाले आफैले मिलेर सत्ताबाट बाहिरिन बाध्य पारेका ओलीलाई विखण्डनकारी भनी आरोप लगाउनु सत्यबाट कोसौं टाढा पुग्नु हो । यस्ता आरोपबाट देउवाहरुले जनताको विश्वास जित्न नसक्ने मात्र होइन, भएको विश्वास पनि गुमाउने सम्भावना बढी हुन्छ । लुम्बिनी र राप्तीका हालैका वृहत् र लामा लामा जनप्रदर्शनले यही पुष्टि गर्दछन् ।

संविधानलाई विपरीत वैचारिक धुवहरुको सहमतिको दस्तावेज मानिआएका दलहरुले जे जस्तो भए पनि सुशासनलाई प्रत्याभूत गर्न सकिने पर्याप्त प्रावधान भएको संविधान बनाएर जनतालाई सुम्पेका थिए । यसमा सामयिक सुधारका लागि पर्याप्त थिए । अभ्यास गर्दै जाँदा त्यसमा व्यवस्था गरिएका अधिकारको प्रयोगका क्रममा अनुभव गरिएका खाल्टाखुल्टी पुर्नु अनिवार्य थियो । तर मधेसको आडमा नेपथ्यमा बसेको शक्तिलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई आश्वस्त पार्ने संविधान सह्य भएन । अनि त्यो तराई र पहाड अलग गर्ने खेलमा लाग्न थाल्यो । त्यो देउवा र सिटौलाका निर्वाचन क्षेत्रतर्फ अर्थात् मधेसका कैलाली कन्चनपुर, सुनसरी, मोरंग र झापातर्फ लक्ष्यित भएन, विवादै नभएको बुद्धभूमि लुम्बिनीतर्फ आकर्षित भयो ।

तराईलाई पहाडबाट चटक्कै चुँडाल्ने अभियानको पहिलो पाइलो थियो त्यो । त्यसले सयौं वर्षदेखि बलियो अन्तर्निभर सामाजिक–आर्थिक र साँस्कृतिक संरचना बनाइआएका समथर मैदान र पहाडी भूभागलाई बिल्कुल अलग हुन् भनेझैं गरी साँध सीमाना लगायो । नेपाली जनताको अभीष्ट दक्षिणी मुलुकतर्फको साँधसीमाना नियमन गर्ने हो, साँध नभएका आफ्नै मुलुकको सामाजिक फाइबर वा जोड्ने रसायनलाई बिगार्ने होइन । नेपाली जनताको चाहना विद्यमान विभेदलाई न्यायपूर्ण ढंगले अन्त्य गर्ने हो, फरकपनलाई अन्तिम अस्त्र ठानेर झन् ठूलो सांस्कृतिक, साम्प्रदायिक वा भौगोलिक विभेद खडा गर्नु होइन । नेपाली जनताको लोकतन्त्रको मर्म समृद्धिका निम्ति आफ्ना जैविक र प्राकृतिक सम्पदाको विवेकपूर्ण र दिगो उपयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नु हो, सत्तामा रहीरहन वा सत्तामा आउन आफ्नो नैसर्गिक अधिकार र सार्वभौमिकता गुमाएर छिमेकीको गुलामी गर्नु होइन । यस्ता अधिकारको प्रयोग गर्दा सत्यलाई पन्छाउन सकिदैन ।

देउवाजीलाई सोधौं– साँच्चिकै नेपाली समाजको यस्तो अप्रिय ध्रुवीकरणमा कस कसको हात छ ? परम्परागत वर्णव्यवस्थाको आडमा नेपाली समाजलाई आधुनिक युगमा पनि एकल नश्लीय वा जातीय राज्यमा बाँडेर समानान्तर सत्ताको अभ्यास कसले गरेको हो ? तराई मधेस र पहाड अलग अलग हुन् भन्ने भावनाको वीजारोपण गरेर नेपाली समाजको मनोविज्ञानलाई कलुषित गर्ने तपाईंका गठबन्धनका मित्रहरु हुन् या गठबन्धनबाहिरका अन्य कोही ? तपाईंलाई थाहा छ । दलित हाम्रे मुलुकको सबैभन्दा बढी ऐतिहासिक अन्यायमा परेको वर्ग हो र यो सबैले स्वीकार गरेको तथ्य हो । तर मधेस पहाडका पचास साठी लाख दलितको कतै राज्य नहुने, उच्च जातका मधेसीले दावी गर्दैमा भिन्नै राज्य हुनुपर्ने, यो कस्तो व्यवस्था हो ? तपाईंलाई यो पनि थाहा छ । थाहा छ भने, बताइदिनोस्, नेपालको यस्तो ध्रुवीकरणमा साथ दिएर तपाईं आफुलाई कसरी चोखै राख्न सक्नुहुन्छ ? साँचो नेताले जनतालाई ढाँट्तैन । तपाईं आफुलाई सत्यको पक्षमा उभ्याउन र जनतालाई सत्यको बाटोमा लगाउन चाहनुहुन्छ भने, भन्नोस्, एमाले र उसको नेता ओलीले नै यस्तो जनविरोधी ध्रुवीकरण गरेका हुन् ? के जनताले यति सजिलो गरी अनुभव गरेको सत्यलाई इन्कार गरिदिन सकिन्छ ?
सत्य बोल्नोस्, देउवाजी ।

SHARE
mm
प्रख्यात कवि श्यामल चार दशकदेखि पत्रकारितामा पनि संलग्न छन् ।

तपाईंको प्रतिक्रिया