देउवालाई ओलीले भने– निर्वाचनसम्बन्धी कार्यसूची ल्याए संसद् खुल्छ

कान्तिपुर दैनिक लेख्छ ,प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयकलाई थाती राख्दै निर्वाचनसम्बन्धी कानुन र त्यससम्बन्धी अन्य विषय संसदको कार्यसूचीमा ल्याए सदनको अवरोध खोल्ने संकेत दिएको छ । त्यसका लागि निर्वाचनसम्बन्धी विधेयकहरू संसद्मा पेस गर्नुपर्ने र कार्यसूची राख्नुपर्ने एमालेको सर्त छ ।
निरन्तरको संसद् अवरोध खुलाउन सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा आइतबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीसँग छलफल गर्न गएका थिए । त्यसक्रममा ओलीले देउवालाई निर्वाचनसम्बन्धी विधेयकहरू ल्याउन सुझाव दिए । ओलीले तत्काल स्थानीय तहसम्बन्धी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे । देउवाले स्थानीय निकायको चुनाव पुरानै संरचनाअनुसार गर्नुपर्ने प्रस्ताव ओलीसमक्ष राखेका थिए ।
कांग्रेस सभापति देउवाले प्रतिपक्षीसँगको छलफल सकारात्मक भएको संक्षिप्त प्रतिक्रिया दिए । ‘संसदको अवरोध खोल्ने विषयमा सकारात्मक ढंगबाट छलफल अघि बढेको छ,’ देउवाले भने, ‘हामी फेरि बैठक बसेर छलफल गर्छौं । सक्दो चाँडो अहिलेको गतिरोधको अन्त्य गर्ने प्रयास भएको छ ।’
कांग्रेस सभापति देउवाले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै एमालेको सहयोग आवश्यक रहेको बताएका थिए । उनले विगतमा कांग्रेस र एमालेको साझा दस्ताबेजलाई आधार मानेर संशोधन अघि बढाइएको बताउँदै यसलाई अन्यथा ढंगबाट लिनभन्दा संशोधनमा सहयोग गरेर चुनावमा अघि बढन एमाले नेता ओलीलाई आग्रह गरेको स्रोतले जनायो । एमाले अध्यक्ष ओलीले भने संविधान संशोधन प्रस्तावलाई सहयोग गर्न नसकिने अडान राख्दै निर्वाचनसँग जोडिएका कानुनहरूलाई मात्र अघि बढाउने हो भने संसदको गतिरोध लम्ब्याउने पक्षमा एमाले नरहेको बताएका थिए ।
‘स्थानीय तहको चुनाव घोषणा गरेर त्यससम्बन्धी विधेयकहरू सरकारले सदनमा ल्यायो भने हामी सहयोग गर्न तयार छौं,’ एमाले नेता अग्नि खरेलले भने, ‘निर्वाचनसँग सम्बन्धित काम केही नगर्ने, संविधान संशोधन मात्र गर्न खोज्ने कुरा हामीलाई मान्य हुँदैन भन्ने सन्देश सत्तारूढ दलको नेतालाई हाम्रो पार्टी अध्यक्षले दिनुभएको छ ।’ संविधान संशोधन आवश्यक छैन भन्नेमा अहिले पनि आफूहरू दृढ रहेको नेता खरेलले बताए ।
‘यदि यो प्रस्तावको सट्टा चुनावसम्बन्धी विधेयकहरू आउँछन् भने त्यसलाई कसरी छिटो अघि बढाउने भन्नेमा हामी नै उहाँहरूलाई विधि सिकाएर अघि बढाउँछौं,’ उनले भने । कांग्रेस नेताहरूले पुरानै स्थानीय निकायको चुनाव गर्ने धारणा राखेकाले त्यसमा एमालेले यही हुनुपर्छ भन्नेमा अडान राखेको छैन ।
सहमतिबाट स्थानीय निकाय वा तह जुनसुकै भए पनि चुनाव हुनुपर्छ भन्ने धारणा एमाले नेताहरूले देउवासँग राखेका छन् । संविधानले स्थानीय तहको परिकल्पना गरेकाले त्यसलाई नै टुंग्याएर चुनाव गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ । तर स्थानीय तहको निर्धारणमै विवाद रहेकाले त्यो प्रक्रिया टुंग्याउँदा झन् बढी समय लाग्ने भन्दै कांग्रेसले भने पुरानै स्थानीय निकायको चुनावमा जोड दिएको छ ।
भेटमा देउवा, ओली र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । नेम्वाङले पनि सकारात्मक छलफल भएको प्रतिक्रिया दिए । यस विषयमा तीन दलका शीर्ष नेताहरूबीच थप छलफल गर्ने सहमति भएको छ । सरकारले प्रदेश नम्बर ५ को सीमा फेरबदल गर्ने गरी संविधान संशोधन विधेयक अघि बढाएपछि एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ ।
प्रदेश नम्बर ५ मा एमालेकै अगुवाइमा सडक आन्दोलन चलिरहेको छ । संशोधन विधेयकको विपक्षमा हाल संसदभित्र करिब एक तिहाइभन्दा बढी सांसद रहेकाले सरकारले संसदको कार्यसूचीमा त्यो प्रस्ताव ल्याउनै सकेको छैन ।

तपाईंको प्रतिक्रिया