कांग्रेस-एमालेकाे दाउ चुनाव गराउने, भारतकाे दाउ गतिराेध लम्ब्याउने

त्ता गठवन्धनका कांग्रेस र माओवादी तथा प्रमुख प्रतिपक्ष एमालेले सतहमा एउटा राजनीति देखाए पनि भित्रभित्रै अनेक कुटिल दाउपेच गरेर एकअर्कालाई पछार्ने तिकडम गरिरहेका छन् । अहिले एमालेले एउटा जाल फालेको छ– हामी कुनै नयाँ सत्ता गठवन्धन बनाउँदैनौं भनेर ।

एमाले ट्याक्टिस

जानकार राजनीतिक स्रोतहरुका अनुसार एमाले नेताहरुले यो सत्ता गठवन्धन तोड्न कुनै प्रयास नगर्ने अनौपचारिक निर्णय गरेका छन् । यो गठवन्धन तोडेर नयाँ सरकार बनाए पनि समाधान नआउने एमाले नेताहरुको निष्कर्ष रहेको बुझिन्छ । संविधान संशोधन पनि गर्न नदिने एमालेको घोषित रणनीति यथावत छँदैछ ।

त्यसो भए एमालेले अब के गर्छ ? एमाले स्थायी समितिका एक सदस्य भन्छन्– ‘हामीले केही गर्न पर्दैन अब, जे गर्ने हो उनीहरुले नै गर्छन् । हामी सिर्फ संसद वैठक अवरोध गरेर रमिता हेर्छाैं ।’ उनका अनुसार संसद अवरोध जति लम्बिन्छ, गतिरोधमा जति दिन बित्छ त्यति धेरै संकटमा फस्दै जानेछ सत्ता गठवन्धन । किनभने चुनावमा नजाने, संविधान संशोधन पनि नहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले कहिले पद त्याग्ने भन्ने पनि अनिश्चित हुने अवस्थाले सत्ता गठवन्धनको हालत सिठी लाग्न नपाएको आगोमाथिको प्रेसरकुकरको जस्तो हुनेछ ।

खासगरी कांग्रेसको छटपटि, मधेसी मोर्चाका नेताहरुको हतासा र राप्रपा सहितका साना दलहरुले सत्तामा खोज्ने हिस्सेदारीले सत्ता गठवन्धनलाई नै विकल्प सोच्न बाध्य बनाउने परिस्थिति सिर्जना गर्नेछ । संविधान संशोधन गर्न दुई तिहाई पुग्दै नपुग्ने, संसदीय कारवाही पनि अगाडि बढ्न नसक्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल संकटमा फसेका छन् । संकटमा परेका दाहाललाई हटाएर नयाँ गठवन्धनको खोजी गर्न या नयाँ प्रधानमन्त्री खोज्न भारत इच्छुक देखिएको छैन । भारतले जुनसुकै परिस्थितिमा पनि दाहाललाई नै निरन्तरता दिने संकेत दिएको छ ।

प्रधानमन्त्री दाहालको विकल्प खोज्न नमिल्ने, राजनीति पनि यही हालतमा अड्किएर बस्न नसक्ने ! त्यसोभए गतिरोध कसरी तोडिन्छ त ? सत्ता गठवन्धनका नेताहरु संविधान संशोधनमा एमालेलाई सहमत गराएर गतिरोध फुकाउने भन्दैछन् । तर, एमालेको दाउ भने अर्कै छ । यही मौकामा स्थानीय चुनाव घोषणा गर्न लगाउने एमालेको दाउ देखिन्छ । गतिरोध लम्ब्याउँदै गएर चुनाव घोषणा गर्ने बाध्यात्मक परिस्थिति सिर्जना गर्ने एमालेको दाउ सत्ता गठवन्धनले राम्रैसँग बुझेको छ ।

पहिरोबीच ‘सुरक्षित’

प्रधानमन्त्री दाहालको अवस्था पदिय सुरक्षाका दृष्टिले अहिले खासै प्रतिकूल छैन । किनभने एमालेले सत्ताको खेलभन्दा चुनावलाई प्राथमिकता दिएको छ । उता कांग्रेस पनि गठवन्धन टुटाएर होइन यसलाई नै निरन्तरता दिएर दाहालबाट देउवामा प्रधानमन्त्री पद सार्न चाहन्छ । तर, यो कसरी सम्भव छ ? कांग्रेस सभापति शेरबहादुर देउवाका लागि यो प्रश्नको जवाफ सजिलो छैन, जवाफको खोजिमा देउवाले कैयन रात ननिदाई बिताएका छन् भने त्यो अस्वाभाविक होइन ।

सत्ताको खेल चलोस् भन्नेमा राप्रपा, मधेसवादी दलहरु र अन्य साना दलहरु हुनु अस्वाभाविक होइन । तर, यसका लागि प्रमुख तीनमध्ये एक पार्टी अगाडि सर्नुपर्छ । सत्ताको खेलमा सरकारको नेतृत्व गरिरहेको माओवादी अगाडि सर्ने कुरै भएन । कांग्रेसले ढुकुवा खेल गरिरहेको छ, उ पनि अगाडि सर्दैन । एमालेले पनि चुनाव गराउनुलाई आफ्नो प्राथमिकतामा राखेको छ । त्यसैले प्रधानमन्त्री दाहाल सुरक्षित त छन् तर उनको हालत पहिरोको बीचको विशाल ढुंगाको ढिस्कोमा उभिएको मान्छेको जस्तो छ ।

दाहालसँग न अगाडि बढ्ने ठाउँ छ, न पछाडि फर्कने बाटो छ । पछाडि फर्कने अर्थात् संविधान संशोधन विधेयक फिर्ता लिने बाटोमा जानु भनेको पद गुमाउने अवस्था सिर्जना हुनु पनि हो । त्यसैले स्वाभाविक रुपमा दाहालले घोषणा गरे– संविधान संशोधन विधेयक कुनै हालतमा फिर्ता हुँदैन । फिर्ता हुँदैन भने अब के हुन्छ त ? दाहाल भन्छन्– परिमार्जन गरेर पारित गर्नुपर्छ । एमालेले भने अनुसार परिमार्जन गरे मधेसी मोर्चाले नमान्ने, मधेसी मोर्चाले भने अनुसार परिमार्जन गर्ने हो भने दुई तिहाई नपुग्ने ! विचित्र अवस्थामा फसेका छन् दाहाल ।

चुनावको निर्णयमा पुग्न अब धेरै ढिलाई गर्न सम्भव छैन । ढिलाई गरिएमा बैशाखभित्र स्थानीय चुनाव सम्भव नहुनसक्छ । यो अवस्थामा चुनाव भदौ असोजमा सर्नेछ । चुनाव सर्नुको अर्थ हो दाहालको प्रधानमन्त्री पदको आयु पनि लम्बिनु । यो अवस्था अरुलाई भन्दा धेरै कांग्रेसलाई, कांग्रेसमा पनि देउवालाई मर्मान्तक हुनेछ । त्यसैले चाँडो समाधान खोज्न र चुनाव गराउन कांग्रेसलाई हतारो छ । कांग्रेसको यो हतारो बुझेर नै एमालेले चुनाव घोषणालाई मुख्य प्राथमिकता दिएको बुझ्न गाह्रो छैन ।

तेस्रो बाटो

गतिरोध यही अवस्थामा रहिरहेमा सत्ता गठवन्धन ठूलो संकटमा पर्नेछ । एमालेले संसद अवरोध गरेको कारणले होइन कि देउवाको पालो कहिले आउने भन्ने अनिश्चित भएकाले संकट बढ्नेछ । एमालेलाई पनि छिटो चुनाव चाहिएको छ, गतिरोध लम्ब्याए चुनाव पर धकेलिन सक्छ । यो अवस्थामा राजनीतिले अहिले देखिएको भन्दा फरक बाटो लिन सक्छ, अर्थात्, फरक कोणबाट सहमति खोजिन सक्छ ।

तर, सहमतिका लागि निर्णायक शक्ति भने पर्दा पछाडि छ, त्यो शक्ति हो भारत । जानकारहरु भन्छन्– वर्तमान गतिरोध लम्ब्याएर चुनाव हुन नसक्ने परिस्थिति सिर्जना गर्ने भारतीय उद्देश्य हो । भारतको यो उद्देश्यको सिकार एमाले त भएको छ नै, कांग्रेस पनि हुने देखिन्छ । कांग्रेसले, खासगरी शेरबहादुर देउवाले आफूलाई भारतले उपयोग मात्र गरेको तर अवसरबाट बन्चित गरेको ठान्न सक्छन् ।

गतिरोध लम्ब्याइरहने भारतीय रणनीति हो भने त्यसबाट सबैभन्दा ठूलो क्षति कांग्रेसलाई हुनसक्छ, किनभने सत्ताको नेतृत्व गर्नबाट ऊ बन्चित हुनेछ । गतिरोध लम्ब्याउने भारतीय नीति सफल हुने हो र तेस्रो बाटो नभेटिने हो भने राजनीतिले अनपेक्षित मोड लिनसक्छ, जसको सिकार पूरै मुलुक बन्न सक्छ ।

तपाईंको प्रतिक्रिया