सोह्रदिने अभियान – पिडित महिला बाहिर परेका छन्

हालसालै चर्चामा आएको हिन्दी सिनेमा पिंक भारतमा मात्र नभई हिन्दी चलचित्र हेर्ने र बुझ्ने धेरैका लागि बहसलायकको विषय बनेको छ । भारतीय प्रसिद्ध अभिनेता अमिताभ बच्चनले एक वकिलको भूमिका निर्वाहा गरेको सो चलचित्रमा कामकाजी युवतीमध्ये एकजना कार्यक्रमहरूको व्यवस्थापन गर्ने अर्थात इभेन्ट मेनेजर हुन्छिन । एउटा रक कन्सर्ट हेर्ने क्रममा ती युवतीको तीनजना युवासँग मित्रता हुन्छ र युवाहरुको अनुरोध स्विकार्दै बेलुकाको खाना खान सँगै जान्छन् ।

त्यही बेला उनीहरुमध्येकै एक युवतीले बियरको बोतलले हिर्काउँदा तीनमध्येका एक युवा घाइते हुन्छन् । त्यो बिबाद बढ्दै गएर अदालतसम्म पुग्छ, जहाँ युवतीहरूलाई अल्कोहलजन्य पेय पिएको, स्कर्ट, जिन्स, टिसर्ट लगाएको, केटाहरूसँग खानाखान बाहिर गएको भनेर कमजोर चरित्र भएका युवती भनेर आरोपित गरिन्छ । हुँदाहुँदा केटीका बावुले समेत छोरीमाथि शंका गर्छन ।

यी प्रसङ्ग देखाएर चलचित्रले यस्ता प्रश्न उठाउन खोजेको छ—युवाहरूले रक्सी खाँदा, हाफपेन्ट वा गन्जी लगाएर हिड्दा समाजले उनीहरूलाई कमजोर चरित्रको मान्दैन, राती काम गर्न जाँदा केही भन्दैन, घर छाडेर साथीहरुसँग मिलेर डेरामा बस्दा केही आरोप लगाउँदैन । यसरी समाजले महिला र पुरूषका लागि चरित्र सम्बन्धी बेग्लावेग्लै आधार निर्माण गरेको छ ।

त्यस्ता कार्यक्रममा देखिने सुन्दर र हँसिला मुहार भएकाहरुले उसैगरी समाज परिवर्तन गर्ने सपना सुनाउँछन् । तर, त्यस्ता कार्यक्रममा हुने खर्च भने सामान्य मानिसको कल्पनाभन्दा धेरै परको हुने गर्छ ।

हालै एक टेलिभिजन कार्यक्रममा कञ्चन शर्माको अन्तरवार्ता आएपछि नेपाली समाज विशेषगरी सामाजिक सञ्जालमा एक प्रकारको तरंग नै आयो । कोहीले कञ्चनलाई विचराको रूपमा प्रस्तुत गरे, कोहीले उनलाई अन्याय भएको माने भने कोहीले उनलाई खलनायक बनाए । यस्ता धारणाले नेपाली समाजको चरित्र र चित्रलाई देखाउँछ । उनको श्रीमानको हवाला दिंदै कञ्चनले रक्सी खाने गरेको, श्रीमानले भनेको नमान्ने तथा बाहिर जाने र अन्य मान्छेहरूसँग वस्ने गरेको बताउँदै चरित्रमा प्रश्न उठाए । यसरी प्रश्न उठाउनेहरुले कञ्चनका श्रीमानले रक्सी खान्छन् कि खान्नन्, घर बाहिर जान्छन् कि जान्नन्, महिलाहरुसँग यात्रा गर्छन् कि गर्दैनन्, कञ्चनले भनेको मान्छन् कि मान्दैनन् जस्ता जिज्ञाशासमेत राखेको पाइएन । उनीहरुको विचारमा ती सबै पुरुषका अधिकार भएकाले त्यसमा प्रश्न उठाउनुको औचित्यसमेत छैन ।

अहिले नेपाल लगायत विश्वका धेरै देशहरूमा महिलामाथिको विभेद र हिंशा अन्त्यका लागि सोह्र दिने अभियान चलेको छ । जुन हरेक वर्षको नोभेम्वरको २५ देखि डिसेम्वर १० सम्म चल्छ । यो अभियानमा नेपालमा पनि युएन (संयुक्त राष्ट्र संघ) का निकायहरू, सरकारी र गैरसरकारी संस्थाहरूबाट कार्यपत्रहरू तयार पारिन्छन्, गोष्ठि, सभा, सम्मेलन गरिन्छन् र प्रतिवेदन लेखिन्छन् । सुन्दा ती सबै सुन्दर लाग्छन् । त्यस्ता कार्यक्रममा देखिने सुन्दर र हँसिला मुहार भएकाहरुले उसैगरी समाज परिवर्तन गर्ने सपना सुनाउँछन् । तर, त्यस्ता कार्यक्रममा हुने खर्च भने सामान्य मानिसको कल्पनाभन्दा धेरै परको हुने गर्छ ।

तर, उनीहरुबाहेक लाखौं नेपाली महिला श्रीमान वा परिवारका सदस्यहरूवाट चौबिसै घण्टा बर्बरताका शिकार बन्नुपरेको यथार्थ अर्कातिर छ । तर, त्यस्तो हिंशाको न समाचार बन्छ, न संचारमाध्यम महिला हिंशाविरोधी कार्यक्रम गर्नेले नै थाहा पाउँछन् । उनीहरुले त्यस्ता अत्याचारलाई आफ्नो भाग्यको खेल सम्झँदै मौनताको आँशु पिइरहन्छन् । केही घटना र पात्रहरूलाई एक पटक हेरौं ।

सिन्धुपाल्चोक निवासी एक महिला । जसको बिबाह १६ वर्षमै भयो, १८ वर्षका केटासँग । विवाहको केही समय सम्वन्ध ठिकै भएपनि बिस्तारै केटाले शारिरिक र मानशिक पिडा दिँदै घरमा वस्न नसक्ने वातावतण बनाउन थाल्यो । त्यही बेला फेला परेको एक जना वैदेशिक रोजगारीमा लैजाने एजेन्टले सुखी जिन्दगीको सपना देखाउँदै उनलाई भारत हुँदै साउदी अरब पुर्यायो । उनले उता काम गरेर श्रीमानलाई खुशी बनाउन पैसा पठाउन थालिन् । पैसा आउन थालेपछि फोनमा पनि राम्रो कुरा हुन थाल्यो । तर, अरबको मालिकको दुव्र्यवहारका कारण एउटा खुट्टा राम्ररी चलाउन नसक्नेगरी बिग्रिएपछि उनलाई नेपाल फर्काइयो । अहिले तीस बर्ष पुग्न लागेकी उनलाई श्रीमानले उनलाई चरित्रहिन भन्दै शारिरिक र मानसिकरूपमा सिमाहिन पिडा दिइरहेको छ ।

बालखमै बिबाह गरेकी सुनसरीकी एक महिलाको तीन वटा बच्चा भएपछि पति बेपत्ता भए । एक्लोपन भोगिरहेकी उनलाई एक जना पुरूषले बिबाहको प्रस्ताव राखेर डेरामा संगै बस्न थाले । यस्तोमा ती महिला गर्भवति भएको थाहा भएपछि पुरुष अर्कैसँग सुतेर गर्भ बोकेको आरोप लगाएर बेपत्ता भयो । भाग्यले ठगेको मान्ने ती महिला अहिले झण्डै पचास बर्ष पुग्न लागेकी छन्, उनकी जेठी छोरीले घर खर्च र भाइ वहिनीको पढाईका लागि पढाई छाड्नु परेको छ ।

श्रीमान बैदेशिक रोजगारीमा रहेका सुनसरीकी अर्की महिला छोरा छोरीसँग ईटहरी नजीकैको सुकुम्वासी बस्तीमा बस्छिन् । तर, उनका श्रीमानले उनलाई फोन गरेर कहाँ छेस्, कोसँग बस्छेस्, घरमै हो भन्ने के प्रमाण छ जस्ता प्रश्न सोधेर हैरान पार्छन् । त्यस्तो बेला उनले लुगा सिलाउने मेशिनको आवाज वा छोराछोरीले बोलेको सुनाउनु पर्छ । उनले पनि यो पिडालाई भाग्य मान्दै स्विकार्नुपरेको छ ।

मोरङ्ग निवासी एक महिलाका श्रीमान भारतमा काम गर्थे । उता काम कम हुँदा घर आउंथे । त्यस्तो बेला दुई बच्चा भएकी श्रीमतीलाई जहिल्यै शंकाको नजरले हेर्दै गाली गर्थे र कुट्थे । एकदिन उनले धारिलो हतियारले आक्रमण गर्दा श्रीमतीको एउटा हत्केला काटियो । छिमेकिको सहयोगम उनी बाँचिन्, तर दुई बच्चा र घाइते श्रीमती छाडेर उनी बेपत्ता भएको तीन बर्ष भयो । मोरङ्ग सुनसरी सिंचाई आयोजनाले बनाएको नहरको डिलमा अहिले उनीहरु भत्किनै लागेको छाप्रोमा बस्छन् । त्यही बास पनि कुन दिन उठनेहो भनेर उनीहरु त्राहीमाम छिन् ।

सोह्रदिने अभियान चलि रहेकै वेला काठमाण्डौमा एक कामकाजी महिलालाई उनका श्रीमानले इच्छा विपरित काम छोड्न लगाए । त्यस्तै एक छोरा भएकी अर्की महिलाका पति बिदेशमा छन्, पत्नीलाई वास्ता गर्दैनन् । ती पतिले अर्कै बिबाह गरिसकेको उनले थाहा पाएकी छन् । छोरालाई पढाउन र हुर्काउन उनी अहिले एक्लो परेकी छन् । सर्लाहीमा अस्ति मात्रै बोक्सी भनेर एक महिलालाई मानव मलमूत्र खुवाइयो । यस्ता अत्याचार खेपिरहेका महिलाको संख्या असंख्य छ ।

ती कार्यक्रमहरू सम्भ्रान्तहरूले आफ्नै अबस्थालाई ध्यानमा राखेर बनाएका हुन्छन् । गरिव, दलित, शिक्षाको अवसर नपाएका, भाग्यमा विश्वास गरेर बाँच्न वाध्य बनाइएका, बोक्सी बनाइका महिलाहरूलाई न यी सुन्दर कार्यक्रमहरूले प्रत्यक्ष रूपमा केही फरक पारेको छ, न त पार्छ नै ।

यसै प्रसंगमा ओशोले ‘नारी र क्रान्ति’ नामक पुस्तकमा सोधेका केही प्रश्नहरूको स्मरण गर्नु बान्छनीय देखिन्छ । उनको प्रश्न छ— हामी हाम्रा संस्कार र चलनका बारेमा विश्लेषण गर्न नसक्ने त भएका होइनौं ? कतै हामी यो उहिलेदेखि मान्दै आएको कुरा हो, यसलाई परिवर्तन गर्नु हुदैन भनेर हाम्रो समाजलाई नदी जस्तो निरन्तर बग्न नदिएर पोखरी जस्तो एकै ठाउँमा जमाएर फोहोर र दुगन्धित नै राख्न त खोज्दै छैनौं ? कतै महिलाहरू पनि यस्तो दलदलमा नजानिदोगरी भासिएका त छैनौं ?

सोह्रदिने अभियान चलिरहँदा विद्वान इब्रहिम मास्लोले बनाएको मानिसका आवश्यकताहरू सम्वन्धी सिद्धान्तको सन्दर्भमा हाम्रा कार्यक्रमहरू लाई हेर्नु सान्दर्भिक लाग्छ । मास्लोले आवश्यकताहरूको अनुक्रममा भोक र तिर्खालाई पहिलोमा र सुरक्षाालाई दोश्रोमा राखेका छन् । माथी उदाहरण दिइएका पात्रहरूको आवश्यकता यिनै दुई भन्दा माथि नहोलान् । तर जस्ले उनीहरूका लागि भनेर कार्यक्रमहरू गर्छन्, उनीहरूको आवश्यकता सायद मास्लोले भनेको चौथो तहको आत्मसम्मान (इस्टिम) र पांचौं तहको आत्मसिद्धि (सेल्फ एक्चुअलाइजेसन) हुन् । जसको एक अर्कामा लिनु र दिनुबीच केही सम्वन्ध छैन । हालसालै मिडियाहरूमा आएका रिपोर्टहरूलाई आधार मान्ने हो भने नेपालको सोह्रदिने अभियानमा धनि र सम्भ्रान्त परिवारका पढेलेखेका महिलाको बर्चश्व छ । उनीहरूलाई मास्लोले भने जस्ता प्रथम, दोश्रो र तेश्रो तह सम्मका आवश्यकताहरू कस्ता हुन्छन् भन्ने खासै महसुस छैन । त्यसैले, ती कार्यक्रमहरू सम्भ्रान्तहरूले आफ्नै अबस्थालाई ध्यानमा राखेर बनाएका हुन्छन् । गरिव, दलित, शिक्षाको अवसर नपाएका, भाग्यमा विश्वास गरेर बाँच्न वाध्य बनाइएका, बोक्सी बनाइका महिलाहरूलाई न यी सुन्दर कार्यक्रमहरूले प्रत्यक्ष रूपमा केही फरक पारेको छ, न त पार्छ नै । उनीहरुले त यी कार्यक्रमबारे सुनेकासम्म छैनन् । यो लेख स्वयंले पनि उल्लेखित महिलाहरू माथि केही न्याय गर्न सक्छ जस्तो लाग्दैन ।

तर प्रश्नहरू जटिल छन् — महिला सम्बन्धी यति धेरै कार्यक्रम भइरहँदा पनि किन माथि भनिएका जस्ता महिलाहिंसाका घटनाहरू बारम्बार दोहोरिइरहेका छन् ? अहिलेसम्म हिंशापिडितहरुका नाममा कति खर्च गरियो र त्यसको प्रतिफल के आएको छ ? कतै पिडित एकातिर र कार्यक्रमहरू अर्कैतिर त भएका छैनन् ? यस प्रकारको महिलावादले केहीलाई तलव, भत्ता, विदेश भ्रमणको अवशर त देला तर पिडितहरूको घाउमा मल्हम लगाउदैन । वास्तविकता र काम गराईमा यस्तै अन्तर भईरहने हो भने सायद हामीले भनिरहेको महिलावाद थप बदनाम हुनसक्छ ।

SHARE
mm
अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट मानवको अस्थायी बसाई सर्ने प्रक्रिया र जेन्डर सम्बन्धमा विद्यावारिधी गरेका डा. बिनोद चापागाईं अहिले थाईलेण्डको राजधानी बैंककमा बस्छन् ।

तपाईंको प्रतिक्रिया