भारु प्रतिबन्धले नेपालमा दीर्घकालीन फाइदा

अन्नपूर्ण पोष्ट लेख्छ , भारतले ’ब्ल्याक मनी’ हटाउन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा पनि परेको छ । नेपालमा प्रतिबन्धित भारु अर्बौंमा रहेको अनुमान छ । सीमावर्ती तराईमा भारुको व्यापक प्रयोग हुन्छ । पहाडी भेगमा पनि भारु प्रचलनमै छ ।
भारतीय निर्णयपछि प्रतिबन्धित भारु राख्ने व्यापारी र सर्वसाधारण अन्योलमा छन् । भारतले प्रतिव्यक्ति २५ हजारसम्म भारु सटही सुविधा दिनसक्ने सम्भावना रहेको अधिकारीले बताए । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले दिएको सुविधाअनुसार एकजना नेपालीले पाँच सय र हजारको नोट २५ हजारसम्म राख्न पाउँछन् । त्योभन्दा बढी भारु रकम अवैध हुन्छ । उद्योगी व्यापारी एकैजनासँग लाखौं भारु रहेको बताइन्छ । राष्ट्रबैंकले पर्याप्त भारु नदिँदा साथमै नगद राख्ने चलन व्यापारीमा छ । तराईका सर्वसाधारणको दैनिकी भारुसँग जोडिएको छ ।
प्रतिबन्धित भारुका विषयमा अन्नपूर्ण पोस्ट्ले शुक्रबार गरेको राउन्ड टेबल कार्यक्रममा बोल्ने वक्ताले वैधानिक रूपमा राखिएको पाँच सय र हजारको भारु साटिनेमा निश्चिन्त हुन आग्रह गरे ।
भारु प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने विज्ञको दाबी छ । भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुने अवैध व्यापार निरुत्साहित हुने छलफलका सहभागीले बताए ।

तपाईंको प्रतिक्रिया