मधेसी मोर्चा मनाउँदै कांग्रेस, सहमति नभए पनि विधेयक दर्ता गर्ने आश्वासन

राजधानी दैनिक लेख्छ ,संविधान संशोधन गरेर मधेसको असन्तुष्टि सम्बोधन गर्ने भन्दै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई मनाउने प्रयास थालेका छन् । देउवाले बुधबार मोर्चाका नेतासँग छलफल गरी सहमतिका आधारमा नै संविधान संशोधन गर्ने भन्दै मनाउने प्रयास गरेका हुन् ।
संविधान संशोधनका विषयमा सहमति जुटाउन प्रमुख तीन दल र मोर्चासहितको संघीय गठबन्धनका शीर्ष नेताहरूबीच छुट्टाछुट्टै आन्तरिक छलफल तीव्र बनेको छ । एमाले नेताहरूसँगसमेत मोर्चाका नेताहरूले छलफल अघि बढाउने प्रयास गरिरहेका छन् । कांग्रेस सभापति देउवाले मधेसी मोर्चाका नेताहरूलाई बुधबार आफ्नै संसदीय दलको कार्यालयमा बोलाएर संविधान संशोधन हुने आश्वासन दिँदै नआत्तिन सुझाएका हुन् । शीर्ष नेताबीच छुट्टाछुट्टै आन्तरिक छलफल भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । सहमति जुटन नसकेका कारण सत्तारूढ दलका नेताहरूले छलफल सकारात्मक भइरहेको भन्दै मधेसी मोर्चाका नेतालाई थामथुम गर्दै साम्य पार्ने प्रयास गरिरहेका छन् । छलफलमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्नमा सरकारले ढिलाइ गरेको भन्दै मोर्चाका नेताहरूले असन्तुष्टि पोखेका छन् ।
‘हामीले तपाईंहरूलाई विश्वास गरेर तीनबुँदे सम्झौता गर्दै प्रधानमन्त्रीलाई समर्थन ग¥यौं, तर त्यो सम्झौताअनुसार सरकारले काम गर्नमा ढिलाइ गरिरहेको छ,’ देउवासँग मोर्चाको भनाइ उद्धृत गर्दै कर्णले राजधानीसँग भने, ‘१५ दिनको अल्टिमेटम दिएका छौं, सम्झौताअनुसार काम अघि बढ्यो भने ठीकै छ, होइन भने अब समर्थन फिर्ता लिएर हामी आन्दोलनमा जान्छौं ।’ संविधान संशोधन विधेयक दर्ताको काममा सरकारले गरिरहेको ढिलाइबारे मोर्चाका नेताहरूले कांग्रेस सभापति देउवा र गृहमन्त्री विमलेन्द्र निधिसँग असन्तुष्टि पोख्दै आन्दोलनमा जानुपर्ने बाध्यता रहेको बताएका हुन । मधेस आन्दोलनका क्रममा घाइतेको उपचार, सहिद घोषणा, क्षतिपूर्ति, न्यायिक छानबिनको काम पनि तीनबुँदे सहमतिअनुसार सरकारले पूरा नगरी आंशिक रूपमा गरेको भन्दै मोर्चाका नेताहरूले असन्तुष्टि जनाएका थिए ।
मोर्चाका नेताहरूको भनाइपछि देउवाले तरुण दलको महाधिवेशन र दलहरूका बीचमा भइरहेको सहमतिको प्रयासका कारण संविधान संशोधन विधेयक दर्तामा ढिलाइ हुन गएको बताएका छन् । सरकारले यसअघि कात्तिक मसान्तभित्रै संशोधन विधेयक दर्ता गर्ने बताउँदै आएको थियो । ‘तपाईंहरूले कांग्रेसलाई बिश्वास गरेर तीनबुँदे सहमति गर्दै प्रधानमन्त्रीमा सघाउनुभयो, कांग्रेसले पनि तपाईंहरूको विश्वास टुट्न दिँदैन, संविधान संशोधन विधेयक छिट्टै दर्ता हुन्छ,’ मोर्चा नेताहरूलाई देउवाको आश्वासन थियो । उनले आफूहरू चाँडै संशोधन विधेयक दर्ताको पक्षमा रहेको भनाइसमेत राखेका थिए । मोर्चाले दिएको १५ दिनको समयमा सहमतिको प्रयास जारी राख्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि सहमति गरेर संविधान संशोधनमार्फत मधेसको असन्तुष्टि सम्बोधन गर्ने देउवाको भनाइ थियो ।
छलफलमा सहभागी गृहमन्त्री निधिले एमालेलाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले छलफल गरिरहेको बताउँदै अब चाँडै संविधान संशोधन विधेयक दर्ता गरिने जानकारी दिएका थिए । ‘एमालेसँग प्रधानमन्त्रीले सहमतिको प्रयास गर्नुभइरहेकाले केही दिनमा सहमति भयो भने सहमतिमै सहमति नभए पनि संविधान संशोधन विधेयक दर्ता हुन्छ,’ गृहमन्त्रीको भनाइ उद्धृत गर्दै गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, ‘सहमति नभए दर्ता गरेर पुनः सहमति खोजिन्छ, सरकारका तर्फबाट अधिकतम प्रयास जारी रहेको छ ।’ छलफलमा मधेसी मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनलगायतका नेताहरू सहभागी थिए ।

तपाईंको प्रतिक्रिया