मसान्तसम्म पनि संशोधन प्रस्ताव नआए आन्दोलन ः मोर्चा

कान्तिपुर दैनिक लेख्छ ,संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारले आफैं घोषणा गरेको समयावधिभित्र समेत संविधान संशोधन विधेयक दर्ताको तयारी नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।
राजधानीको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको गठबन्धन बैठकले कात्तिक मसान्तभित्र सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता नगरे पुनः आन्दोलनमा उत्रने निर्णय गरेको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकार आफैंले तोकेको समयावधि बित्नै लाग्दा पनि संशोधन विधेयक दर्ता गर्ने संकेत नदेखिएकाले बैठकले आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।
‘कात्तिक मसान्तसम्म हेर्छौं, त्यो अवधिमा पनि संशोधन प्रस्ताव दर्ता नभए देशभर विरोध कार्यक्रम सुरु गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले एक साताअघि मोर्चासँग छलफल गरी कात्तिक अन्तिम साता संशोधन विधेयक दर्ता गराउने प्रतिबद्धता जनाएका थिए । बैठकमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी थिए ।

तपाईंको प्रतिक्रिया