विशेष सद्भावना भ्रमण ः भारत

राजधानी दैनिक लेख्छ ,भारतले राष्ट्रपति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमण ‘विशेष सद्भावना’ भ्रमण भएको जनाएको छ । मुखर्जीको भ्रमणको विषयमा जानकारी गराउन भारतीय विदेश मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपालमा हुने भ्रमण सम्बन्ध सुधारका लागि फलदायी हुने बताएको छ ।
मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क हेर्ने सुधाकर दलेलाले पत्रकार सम्मेलन गरी भ्रमण दुई पक्षीय सम्बन्धलाई झन् सुदृढ बनाउन सफल हुने भारतले अपेक्षा गरेको बताए । नेपाल भ्रमणको समयमा कुनै सम्झौता नहुने तर विगतका कार्यक्रमहरूलाई कार्यान्वयन गर्न छलफल हुने उनले बताए । ‘विगत दुई वर्षमा नेपाल र भारतबीच व्यापार, पारवहन, विकास परियोजनालगायत थुप्रै क्षेत्रमा सम्झौता भएका छन्,’ उनले भने, ‘त्यसैले हाम्रो जोड ती परियोजनाको कार्यान्वयनमा रहनेछ ।’ यसअगाडि बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतको संयुक्त आयोगको बैठकमा पनि रोकिएका परियोजनाहरूलाई अगाडि बढाउने विषयमा सहमति भएको थियो ।
दलेलाले आफूहरूले परियोजनाको सम्बन्धमा स्थानीय स्तरमै केही उपलब्धि हेर्न चाहेको समेत बताए । यसअघि बिहीबार नै भारतले मुखर्जीको नेपाल भ्रमणको सम्बन्धमा औपचारिक घोषणा गरेको थियो । ‘विगतमा दुई देशबीच उच्च तहमा भएको भेटघाटको समयमा नेपाल सरकारले आफ्नो प्राथमिकता र पहल समाजका सबै क्षेत्रलाई समेटेर सबै संवैधानिक विषय हल गर्ने रहेको बताएको छ,’ उनले भने, ‘भारतले यो प्राथमिकता र पहलको स्वागत गरेको छ र यसले नै नेपाललाई शान्ति र समृद्धिको बाटोमा लैजाने विश्वास हाम्रो छ ।’

भारतले मधेसवादी दलहरुको माग सम्बोधनका लागि भएको ढिलाइप्रति यसअघि नै राजनितिक नेतृत्व मार्फत असन्तुष्टी व्यक्त गरिसकेको छ ।भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले नेपालका प्रमुख राजनीतिक दलसहित अन्य मधेसकेन्द्रीत दलका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको भारतले जनाएको छ ।
झण्डै अठार वर्षपछि भारतका राष्ट्रपतिले नेपालको भ्रमण गर्दैछन् । यस अगाडि सन् १९९७ मा तत्कालिन राष्ट्रपति केआर नारायननले नेपालको भ्रमण गरेका थिए । त्यस अघि सन् १९८६ मा भारतका राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिए । भारतले नेपालमा गणतन्त्र स्थापना र संविधान निर्माणपछि नेपालको भ्रमण गर्ने उच्च पाहुँना मुखर्जी हुने समेत बताएको छ । यस अगाडी सत्र वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्ष अगाडि दुई पटक नेपालको भ्रमण गरेका थिए ।
जनकपुर भ्रमणका क्रममा मुखर्जीलाई नागरिक अभिनन्दन गरिने कार्यक्रमसमेत तय भएको छ । त्यसैगरी मुखर्जीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले रिसेप्सनको आयोजना गर्ने छन् । मुखर्जीले पोखरामा भुपु सैनिकहरुसँग अन्तरक्रियासमेत गर्नेत्रछन् ।

तपाईंको प्रतिक्रिया