महाभियाेगकाे पक्षमा गगन थापाले मन्त्रीबाट राजीनामा दिने

नेपाली कांग्रेसका केही मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । उच्च स्रोत अनुसार उनीहरुमध्ये स्वास्थ्यमन्त्री गगन थापा सबैभन्दा अघि छन् । उनी राजीनामा दिनका लागि  अन्य मन्त्रीहरुको पनि साथ खोजिरहेका छन् ।

‘महाभियोगको पक्षमा पार्टी उभिएन भने मन्त्री थापाले राजीनामा दिनुहुन्छ,’ गगन निकट एक नेताले बताए । स्रोत अनुसार गगनले मन्त्री पदबाट, धनराज गुरुङले सांसद पदबाट, विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् ।

यीमध्ये गुरुङले महाभियोगको विपक्षमा जाने पार्टी निर्णय आएमा सांसद पदबाट राजीनामा दिने घोषणा आठै प्रहरसँगको अन्तर्वार्ताबाट गरिसकेका छन् ।

पार्टी महाअभियोगको पक्षमा गएमा धनराज, गगन र विश्वप्रकाश लगायतको टिमले राजीनामा दिनेबारे निर्णय गरिसकेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर यो निर्णय सुनाएको पनि स्रोतका दावी छ । स्रोत अनुसार यी तीन नेताबाहेक प्रदिप पौडेल सहित चारजनाले सभापति देउवासँग उनकै निवासमा पुगेर भेट गरेका थिए । सो भेटमा देउवा पत्नी तथा सांसद आरजू देउवा पनि थिइन् । सोही भेटमा उनीहरुले राजीनामा दिने निर्णय सुनाएका थिए ।

गगन निकट एक नेताका अनुसार पार्टी केन्द्रीय सदस्य पदबाट राजीनामा दिने पक्षमा चन्द्र भण्डारी, प्रदिप पौडेल, डा. डिला संग्रौला र सुरेन्द्र पाण्डे पनि रहेका छन् । उनीहरुले वन मन्त्री शंकर भण्डारीलाई पनि आफ्नो साथमा मिलाउन प्रयास गरिरहेका छन् । यो प्रयास सम्भव भएमा भण्डारीले पनि गगनसँगै राजीनामा दिनेछन् ।

खुमबहादुर खड्का निकट भण्डारीले गत केन्द्रीय समिति वैठकमा औपचारिक रुपमा नबोले पनि वैठकभित्र अनौपचारिक गफगाफमा महाभियोगको पक्षमा विचार राखेका छन् ।

राजीनामा किन ?

महाभियोग पक्षधर समूहले आआफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको भएपनि सार्वजनिक भने गरिसकेको छैन । पार्टी महाभियोगको विपक्षमा जाने हो भने सबै मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने यो समूहको धारणा रहेको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग असहमत हुन मिल्दैन, प्रधानमन्त्रीसँग असहमत हुने हो भने मन्त्रीपद त्याग्नुपर्छ भन्दै यो समूहले संसदीय मूल्यमान्यताको प्रश्न उठाइरहेको छ ।

केन्द्रीय समितिको वैठकमा यो विषय धनराज, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे लगायतले उठाएका थिए । उनीहरुले नेपाली कांग्रेस संसदीय व्यवस्था मान्छ भने प्रधानमन्त्रीसँग फरक मत राखेर उनको धारणा विपरित संसदमा मतदान गर्न मिल्दैन भन्ने तर्क अगाडि सारेका थिए । महाभियोगको विपक्षमा जाने निर्णय गरिए यही तर्कका आधारमा गगनले मन्त्रीपदबाट राजीनामा दिन लागेका हुन् ।

‘कांग्रेस संसदीय दलले महाभियोगको विपक्षमा जाने निर्णय गर्यो भने संसदीय दलको सोही वैठकमा गगनले राजीनामा घोषणा गर्ने सल्लाह भएको छ,’ महाभियोग पक्षधर समूहका एक नेताले बताए । कांग्रेसले महाभियोग सम्बन्धमा संसदीय दलबाट निर्णय गर्ने भनेको छ ।

‘प्रधानमन्त्रीले एक ठाउँमा मत दिने, मन्त्रीहरुले अर्काे ठाउँ मत दिने काम संसदीय व्यवस्थामा हुन सक्दैन र नेपाली कांग्रेस रहेको सरकारमा त झन हुनै सक्दैन’, गगनलाई उदृत गर्दै एक युवा नेताले बताए । महाभियोगको विपक्षमा कांग्रेसले निर्णय गरेमा महाभियोग पक्षधरहरुले कांग्रेसले सरकार त्याग्नुपर्ने माग अगाडि सार्ने पनि स्रोतको दावी छ ।

‘महाभियोगको विपक्षमा लाग्ने निर्णय गरियो भने हाम्रो माग हुनेछ– पार्टीले यो सरकार छाड्नुपर्छ, मन्त्रीहरुले राजीनामा दिनुपर्छ,’ चन्द्र भण्डारीले भने ।

तपाईंको प्रतिक्रिया