कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दै, महाअभियोगबारे छलफल हुने ःकेन्द्रिय सदस्य मन्सुर

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज विहान ८ बजेदेखी बैठक बस्ने भनिएपनि नेताहरुको अनुपस्थितिले ढिलाई हुन गएको छ । बैठकमा मुख्य गरी लोकमानसिंह कार्कीको महाअभियोग लगायतका विषयमा छलफल हुने काँग्रेस केन्द्रिय सदस्य फरमुल्लाह मन्सुरले बताए ।
संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचनामा पार्टीको धारणा, संगठन र विविध गरी चारवटा विषयमा छलफलका लागि बैठक बोलाइएको भएपनि लोकमानविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछि यो छलफलको मुख्य विषय बनेको छ ।
कांग्रेसका धेरै युवा नेता महाअभियोग प्रस्तावलाई पारित गराउनुपर्ने पक्षमा खुलेर लागेका छन् भने शीर्ष नेताले थप छलफल गरेर मात्र धारणा बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
सभापति शेरबहादुर देउवाले महाअभियोगका विषयमा जनमत अनुसार नै अघि बढ्ने तर यसमा पार्टीभित्र थप छलफल गरेर आधिकारिक धारणा बनाउने बताउँदै आउनुभएको छ । बैठकमा संविधान संशोधनका विषयमा पनि छलफल हुने अर्का केन्द्रिय सदस्य अजय चौरसियाले  बताए ।

तपाईंको प्रतिक्रिया