शक्तिशाली मुलुकले पठाए नेपालमा महिला राजदूत

कान्तिपुर दैनिक लेख्छ , चीनले पनि नेपालमा महिलालाई राजदूतका रुपमा पठाउने भएपछि काठमाडौंमा विदेशी महिला राजदुतको संख्या आठ पुग्ने भएको छ । यतिबेला नेपालका लागि विश्व शक्तिराष्ट्र अमेरिकाकी राजदूतको रुपमा अलैना वि. टेप्लिज छन् । सायद यही दृष्टान्त हेरेर होला शक्ति राष्ट्र बन्ने बाटोमा अग्रसर चीनले पनि महिलालाई नै राजदूत नियुक्ति गर्ने तयारी गरेको छ । नेपालका लागि चीनको २० औं राजदूतको रुपमा यु होङ नेपाल आउने भएकी छन् ।
सरकारले उनको नाममा सहमति दिएलगत्तै उनी मंसिरमा नेपाल आउनेछिन् । चीनले नेपालमा पहिलो पटक महिला कूटनीतिज्ञ पठाउन लागेको हो । इन्डोनेसियाको सुरायावमा महाबाणिज्य दूत रहेकी ५१ बर्षिय प्रस्तावित चिनियाँ राजदूत यु एसिया मामिला विज्ञ हुन् ।
अमेरिकाबाहेक अहिले नेपालमा युरोपियन युनियन (ईयू) को राजदूत र राष्ट्रसंघको आवासीय प्रतिनिधि पनि महिला नै छन् । सार्क मुलुकहरु श्रीलंका र बंगलादेश तथा आर्थिक शक्तिका रुपमा उदाइरहेको ब्राजिलकी राजदूत पनि महिला नै छन् । अमेरिकाबाट अलैना, श्रीलंकाबाट डब्लु स्र्वनलथा परेरा, इयूबाट रिन्छे टेरेन्क, बंगलादेशबाट मस्फि विन्टु साम, ब्राजिलबाट मारिया मेस्क्वेटा पेसोअ र राष्ट्रसंघकी आवासीय प्रतिनिधीमा भ्यालेराइन जुलियान्ड छन् ।
त्यस्तै डेनमार्कको नियोग प्रमुख पनि महिला नै छन् । डेनमार्कले यसै बर्षदेखि राजदूत स्तरबाट घटाएर सार्जे स्तर बनाएको हो । सन् २०१७ मा डेनमार्कले नेपालमा दुतावास नै बन्द गर्ने जानकारी सरकारलाई गराईसकेको छ । उपप्रमुखको रुपमा इन्ग्रीड दहल–माड्सनले दूतावासको नेतृत्व सम्हालेकी छन् ।
फिनल्याण्ड, डेनमार्क, जर्मनी, थाइल्याण्ड र श्रीलंकाले यसअघि पनि महिला राजदूत पठाएका थिए । सन् १९६६ मा अमेरिकी राजदुतका रुपमा नेपाल आएकी क्यारोल सि लेस नेपाल आउने पहिलो महिला राजदुत हुन् । उनी सात बर्षसम्म नेपालमा अमेरिकी राजदूतको रुपमा रहेकी थिइन् । उनले नेपालमा नै विवाहसमेत गरेकी थिइन् ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार मदन भट्टराई महिला राजदूतहरु आउनुलाई राम्रो मान्छन् । नेपालबाट पनि महिला राजदूत नियुक्त हुने भनिए पनि संख्या खासै बढ्न सकेको छैन । नेपालबाट करिअरबाट तीन जना विन्देश्वरी शाह (भारत–२०४५र४६), हाल फ्रान्समा अम्बिका लुइटेल र पाकिस्तानमा सेवा अधिकारी लम्साल राजदूत छन् भने राजनीतिक नियुक्तिमा पनि दुईजना महिला राजदुत भएका थिए ।
राजनीतिक नियुक्तिमा भएका दुई जनामध्ये मायाकुमारी शर्मा विवादमा परेर फर्किइन भने गुणलक्ष्मी विश्वकर्माले बर्मामा पूरा कार्यकाल काम गरिन् । परराष्ट्र सेवामा पछिल्लो समय महिला प्रवेशी बढेकोले पनि पछिका दिनमा महिला राजदूत बढ्ने विश्वास गरिएको छ ।

तपाईंको प्रतिक्रिया