भारत–नेपाल सम्बन्धले चीन खुसी

कान्तिपुर दैनिक लेख्छ ,चीनले नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा खुसी व्यक्त गरेको छ । बेइजिङमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणप्रति सकारात्मक टिप्पणी गर्दै भने, ‘चीनका मैत्रीपूर्ण छिमेकीका रूपमा रहेका नेपाल र भारतबीच राम्रो सम्बन्ध विकास भएकामा हामी खुसी छौं, यसले यस क्षेत्रको शान्ति, स्थिरता र आर्थिक विकास अघि बढ्नेमा हामी विश्वस्त छौं ।’ चीन र नेपालबीच उच्चस्तरीय भ्रमण आदानप्रदानबारे प्रधानमन्त्री दाहालले भारतमा गरेको टिप्पणीबारे उनले भने, ‘हामी मैत्रीपूर्ण छिमेकी देशका रूपमा दुई पक्षीय उच्चस्तरीय भ्रमणबारे एकअर्काबीच निकट सम्पर्कमा छौं ।’
यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत स्वशासित क्षेत्रका महासचिव उ यिनजेईले वर्तमान राष्ट्रपति सी जिनपिङ र चीन सरकार तथा तिब्बत स्वशासित क्षेत्रको सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको बताएका छन् । उनले नेपालमा संविधान जारी हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा चीनले लिएको समेत बताएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
ल्हासाका नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले शिष्टाचार भेट गर्ने क्रममा महासचिव उले त्यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको संविधान दिवस कार्यक्रममा उनीलगायत तिब्बत सरकारका अधिकारीको उपस्थिति थियो ।

तपाईंको प्रतिक्रिया