गर्नै नहुने यी काम गरे प्रधानमन्त्री दाहालले दिल्लीमा

भारतका सामु इतिहासमै सर्वाधिक लम्पसार पर्ने नेपाली प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहालले कीर्तिमान बनाएका छन् । दुई देशको मामिलामा सबैभन्दा धेरै झुठ बोल्ने कीर्तिमान पनि उनकै नाममा बनेको छ ।

नेपाल भारत संयुक्त विज्ञप्ति आद्योपान्त पढ्दा प्रधानमन्त्री दाहालले देशभित्र कति धेरै झुठ बोले भन्ने छर्लङग देखिन्छ । र, त्यही विज्ञप्तिले उनी कुन हदसम्म लम्पसार परे भन्ने पनि स्पष्ट पार्छ ।

तर, सम्बन्ध सुध्रियो

भारत भ्रमणमा प्रधानमन्त्री दाहाल एउटा काममा भने सफल देखिएका छन् । दाहालको भ्रमणसँगै नेपाल–भारत सम्बन्ध ‘सुधार’ भएको छ । सम्बन्ध नयाँ ‘उचाई’मा पुगेको छ र त्यो उचाईबाट दाहाल स्वयं भने तल खसेका छन् ।

नेपाल भारत सम्बन्ध सदैव अनौठो रहँदै आएको छ । भारतले नेपाल देशसँग नभएर यहाँका विभिन्न व्यक्ति तथा शक्तिहरुसँग सम्बन्ध राख्दै आएको छ । अचम्म लाग्दो के छ भने– नेपालमा भारतको राजनीतिक दल समेत छ । फलानो पार्टीले उठाएको माग पूरा गर भन्दै भारतले नेपाललाई नाकावन्दी समेत लगाउँछ । नेपालमा भारतको मिडिया छ, भारतका बुद्धिजिवी छन्, भारतका कार्यकर्ता छन्, भारतका नेता छन् । समग्रमा भन्नुपर्दा नेपालमा भारतको स्वार्थ छ । तर, छिमेकी देशमा छिमेकीको स्वार्थ हुनु अस्वाभाविक भने होइन ।

दुई देशबीचको सम्बन्ध नेपालले होइन, भारतले नै बिगारेको हो । नेपालले संविधान जारी गर्दा भारतको अनेक स्वार्थमा चोट पुग्यो र मौकाको अनेक ढोका पनि खुल्यो । यो कारण सम्बन्ध बिग्रिएको हो ।

अहिले सम्बन्ध कसरी सुध्रियो भने भारतले जसोजसो भन्यो, प्रधानमन्त्री दाहालले त्यसैत्यसै गरे । अघिल्ला प्रधानमन्त्री केपी ओलीले मानेनन्, दाहालले माने, त्यसैले सम्बन्ध सुध्रियो । भोली दाहाल हटेर भारतलाई मन नपरेको कोही प्रधानमन्त्री बन्यो भने सम्बन्ध फेरि बिग्रनेछ । अर्थात्, नेपाल–भारत सम्बन्ध अस्थायी रुपमा सुध्रियो ।

सम्बन्ध सुधार्न प्रधानमन्त्री दाहालले आफूलाई भारतीय स्वार्थको बलिवेदीमा चढाएका छन्, नेपालको हित र स्वार्थलाई दिल्लीको यमुना नदीमा बगाएका छन् । बाग्मतीमा बगाएको भए बाग्मती सफा गर्ने लिलामणी पौडेलहरुको टोलीले भेट्थ्यो होला, तर, उनले दिल्लीको यमुनामा बगाइदिए ।

के छ ? के छैन ?

दुई देशको संयुक्त विज्ञप्ति कुनै सन्धीसम्झौता होइन तर वचनवद्धता हो । विज्ञप्तिमा जनाइएका सहमतिमा नेपाल नैतिक र राजनीतिक रुपमा बाँधिन्छ । बाँधिन मानेन भने भारतले कहिले अदुवा रोक्नेछ, कहिले खुर्सानी र कहिले काउली रोक्नेछ । त्यति गर्दा पनि पुगेन भने उताबाट आउने पेट्रोलियम रोक्नेछ ।

भारतले जसोजसो भन्यो, प्रधानमन्त्री दाहालले त्यसैत्यसै गरे । अघिल्ला प्रधानमन्त्री केपी ओलीले मानेनन्, दाहालले माने, त्यसैले सम्बन्ध सुध्रियो । भोली दाहाल हटेर भारतलाई मन नपरेको कोही प्रधानमन्त्री बन्यो भने सम्बन्ध फेरि बिग्रनेछ

र, संयुक्त विज्ञप्तिमा परेका विषयमा सन्धी सम्झौता गर्ने ढोका खुलेको छ । यो खतरनाक पक्ष हो ।

भारतले नेपाललाई भूकम्पपछिको पुननिर्माणका लागि सहयोग दियो, ऋण दियो, केही आयोजनाहरुमा सहयोग गर्ने भयो । यस्ता विषय सामान्य हुन् यद्यपि यी विषयमा पनि अन्य मुलुकसँग सहयोग लिन नसक्ने कूटनीतिक परिपंच मिलाइएको दृष्टिगोचर हुन्छ ।

विश्व मामिलामा नेपालले स्वतन्त्र रुपमा धारणा राख्दै आएको छ । पाँच दशक अघि इज्रायल राष्ट्र खडा हुँदा भारतले तत्काल समर्थन जनाएन तर नेपालले जनायो । भारतले पाकिस्तान फुटाएर बङगलादेश जन्मायो तर नेपालले समर्थन गर्न आनाकानी गरयो । दुई सातापछि मात्र समर्थन गर्न नेपाल बाध्य भयो । भारत र चीन तथा भारत र पाकिस्तानको युद्ध भयो, नेपाल तटस्थ रह्यो । अब त्यस्तो तटस्थताको युग क्रमश समाप्त पार्दै लाने वचनवद्धतामा प्रधानमन्त्री दाहालले सहमति जनाएका छन् ।

संयुक्त विज्ञप्तिको ११ नम्बर बुँदामा प्रमुख अन्तराष्ट्रिय परिघटनाहरुमा नेपाल र भारतले समान धारणा बनाउने भनिएको छ । संयुक्त राष्ट्रसंघ र अन्य अन्तराष्ट्रिय संस्थाहरुमा संयुक्त रुपमा आपसी तालमेलमा धारणा बनाउने भनिएको छ । एउटा स्वतन्त्र र सार्वभौम मुलुकले ठूलो र बलियो देशसँग यस्तो प्रावधानमा सहमति जनाउन कसरी मिल्छ ?

यो प्रावधानको सीधा अर्थ के हो भने अब विश्व मामिलामा धारणा बनाउन नेपाल स्वतन्त्र छैन । जे गर्दा पनि भारतसँग सोध्नुपर्ने हुन्छ । भारतले चाहिँ नेपाललाई सोध्ने छैन । भारतले निर्णय गर्नेछ, नेपालले त्यसलाई पछ्याउनुपर्ने छ । उत्तर कोरियाले आणविक परीक्षण गर्दा विरोधमा विज्ञप्ति दिउँ कि नदिउँ भनेर दिल्लीलाई सोध्नुपर्ने छ । नसोधी केही गरेमा भारतले के सम्म गर्छ भन्ने गत नाकावन्दीका बेला देखिसकेका छौं ।

भारत र चीन तथा भारत र पाकिस्तानको युद्ध भयो, नेपाल तटस्थ रह्यो । अब त्यस्तो तटस्थताको युग क्रमश समाप्त पार्दै लाने वचनवद्धतामा प्रधानमन्त्री दाहालले सहमति जनाएका छन् ।

भारतले राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यतामा दावी गरेको छ । विज्ञप्तिको ११ नम्बर बुँदामा नेपालले समर्थन जनाएको उल्लेख छ । दक्षिण एसियाका पछिल्ला घटनाक्रमले देखाएको छ– भारतले दक्षिण एसियामा साम्प्रदायिकता फैलाइरहेछ, पृथकतावाद निर्यात गरिरहेछ । पाकिस्तानको बलुचिस्तान पृथकतावादी आन्दोलनलाई समर्थन गरेको छ । अरुलाई असुरक्षित बनाउने देशलाई नै सुरक्षा परिषद्को सदस्यताका लागि समर्थन ! यो नसुहाउने विषय हो ।

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्षसँग संवाद गरेको भन्दै रिपोर्टिङ गरेको र उताका प्रधानमन्त्री मोदीले दाहालको यो प्रयासको समर्थन गरेको दर्शाइएको छ ।

विशेष दूत विमलेन्द्र निधी दिल्ली जाँदा संविधान संशोधनको विषयमा छलफल नै भएको छैन भन्ने यिनै प्रधानमन्त्री दाहाल हुन् । मोदीसँग संयुक्त विज्ञप्तिमा संविधान कार्यान्वयनको विषयमा छलफल गरेको भनेर औपचारिक संयुक्त विज्ञप्ति दिने पनि यिनै दाहाल हुन् । प्रधानमन्त्रीको तहबाट यति सफेद झुठ किन ?

संयुक्त विज्ञप्तिमा संविधानको प्रसंग नै परेको थिएन भने कुरा बेग्लै हुन्थ्यो । यो विषय हाल्ने हो भने भारतले नेपालको संविधानलाई स्वागत र समर्थन गर्न किन नमानेको ? यही कुरा नमान्दा पूर्ववर्ती केपी ओली संयुक्त विज्ञप्ति दिन नमानी स्वदेश फर्किएका थिए । यसबाट ओली र दाहालमा कति फरक छ भन्ने छर्लङग हुन्छ ।

ल ठिक छ, नाकावन्दीको प्रसंग संयुक्त विज्ञप्तिमा परेन । तर, नेपाललाई निर्वाध पारवहन दिने र त्यसमा कुनै रोकावट नहुने प्रतिवद्धता संयुक्त विज्ञप्तिमा किन परेन ? दुवै देशले एउटाको भूमि अर्का विरुद्ध प्रयोग गर्न नदिने भन्ने विज्ञप्तिमा छ । नाकावन्दीका बेला भारतीय भूमि नेपाल विरुद्ध किन प्रयोग भयो ? यो प्रश्न दाहालले सार्वजनिक रुपमा भारतलाई सोध्न सक्छन् ? अहँ, सक्दैनन् । किनभने उनी लम्पसार परेका छन् । लम्पसारवादका प्रतिक बनेर दाहाल भारतबाट फर्कंदैछन् ।

दिल्ली जानु अघि विवादास्पद सन्धी सम्झौता गर्दिन भन्थे दाहाल । संयुक्त विज्ञप्तिमा घातक विषय हाल्न उनी किन लम्पसार परे ?

ल ठिक छ, नाकावन्दीको प्रसंग संयुक्त विज्ञप्तिमा परेन । तर, नेपाललाई निर्वाध पारवहन दिने र त्यसमा कुनै रोकावट नहुने प्रतिवद्धता संयुक्त विज्ञप्तिमा किन परेन ?

जसरी दाहाललाई जनयुद्धमा सत्रहजार मानिस मारिएको प्रश्नले पिछा छाड्दैन, संयुक्त विज्ञप्तिमा राखिएका यी विषयहरुमा उठ्ने प्रश्नले पनि उनलाई जीवनभर छाड्नेवाला छैन ।

सम्बन्धका आयाम

नेपाल भारत सम्बन्ध बहुआयामिक भएकोमा शंका छैन । सम्बन्धको जति ब्याख्या गरे पनि कम हुन्छ । सम्बन्ध सुधारिनुको विकल्प पनि छैन । तर, परराष्ट्र मामिला घुमाउरो पाराले भारतको जिम्मा लाउने र जिम्मा लिने शैलीले सम्बन्ध कति दिगो हुन्छ ? देश–देशबीच भएको सन्धी सम्झौता समेत समयको कठोर प्रवाह र परिवर्तित सन्दर्भमा च्यातचुत हुन्छ, यो संयुक्त विज्ञप्ति मात्र हो । यो नियत मात्र हो । यो भविष्यका लागि ढोका खोलेको मात्र हो । दाहालले खोलेको ढोका अरुले अवश्य बन्द गर्नेछ र गर्नु पनि पर्छ ।

भारत र चीनसँग नेपालको विकल्परहित सम्बन्ध छ । अहिले दाहालको दिल्ली दौडमा जेजे देखियो, त्यसबाट चिनियाँ राष्ट्रपति नेपाल आउने ढोका बन्द भयो भन्ने बुझ्नुपर्छ । अब दाहालले चिनियाँ राष्ट्रपतिलाई ल्याउन होइन, नल्याउन चाहिँ भूमिका खेल्छन् भन्ने घामजत्तिकै छर्लङग भयो । ओली सरकारले भूराजनीतिक सन्तुलन मिलाउन सकेन भन्दै दाहाल सत्तासीन भएका हुन् । दाहालले भूराजनीति मिलाए त ?

छर्लङग छ, भूराजनीतिका नाममा सन्तुलन पूरै भत्काइएको छ । भारतीय आँखाबाट विश्व घटनालाई हेर्ने उल्लेख गरेर दाहालले दिल्लीमा औंलाले होइन निधारले नै ल्याप्चे ठोकेका छन् । दिल्ली जानु अघि उनलाई बलियो बनाउने र देखाउने प्रयत्न एउटा बौद्धिक तप्काले यथासक्य गरेको थियो । उनले दिल्लीबाट पो बलियो बनेर फर्कने चाँजो मिलाएछन् ।

दाहालको भ्रमणबाट नेपाल भारत सम्बन्धमा नयाँ आयाम थपिएन, पूरानै आयाम झन विस्तारित भए । दाहालले असन्तुलित बनाएको भूराजनीति सच्याउन नेपाली जनताले नयाँ चुनाव नै कुर्नुपर्ने हो त ? हो भने अब नेपालमा कुनै पनि चुनाव सजिलो छैन भन्ने संकेत यो भ्रमणको पाश्र्वभागबाट आएको छ, जो खतरनाक छ ।तथ्य के हो भने नेपाली राजनीतिमा भारतको चर्कै प्रभाव छ तर प्रभुत्व छैन । नेपालमा भारत बलियो छ तर ऊ सर्वाेपरी निर्णायक छैन । नेपालमा भारतले भनेको धेरै काम हुन्छ तर जे पनि हुँदैन । नेपालमा भारतले नेता बनाइदिन सक्ला तर कोही नेतालाई समाप्त हुनबाट बचाइदिन सक्दैन । भारतले उपयोगिता सकिएपछि नेताहरुलाई रद्दीको टोकरीमा लगेर मिल्काइदिएका अनेक उदाहरण प्रधानमन्त्री दाहालले देखेकै होलान् ।

दाहाल दिल्लीबाट काठमाडौं फर्कंदा ट्रान्जिट थिम्पु पर्दैन तैपनि पारे भने अस्वाभाविक नहुने भो । काठमाडौंलाई थिम्पु बनाउने दिल्लीको उदेश्यमा दाहालले निधारले ल्याप्चे ठोकेका छन् र उनको निधारबाट मसीको दाग अब सजिलै पखालिने छैन ।

राजकुमार रेग्मीका अन्य लेखहरु

SHARE
mm
तीन दशकदेखि पत्रकारितामा संलग्न राजकुमार विभिन्न साप्ताहिक पत्रिका, अन्नपूर्ण पोष्ट, राजधानी दैनिक लगायतमा संलग्न रहिसकेका छन् ।

तपाईंको प्रतिक्रिया