स्पेनिस ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडले आफनो विजयी सुरुवात गरेको छ । आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० हराउदै सफलताको शिखर चुम्न सफल भएको हो ।

खेल सुरु भएको ७२ सेकेण्डमै बेलले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका हुन । रियलको जितमा ग्यारेथ बेलले दुई तथा मार्को एसेनसिओले एक गोल गरे ।

खेलको ४० औं मिनेटमा एसेनसिओले गोल गरेपछि पहिलो हाफमा रियलको अग्रता दोब्बर भयो । इन्जुरी समयमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै सिजनको पहिलो खेलमा रियल मड्रिडलाई ३–० को अन्तरमा जित दिलाए ।

गएको सिजन उपविजेता भएको रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सिजनको पहिलो खेलमा रियल मड्रिड स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनानै खेलेको हो । रोनाल्डो युरोकपको फाइनलमा लागेको चोटका कारण रियल मड्रिडको पहिलो खेलमा अनुपस्थित भएका हुन् ।

तपाईंको प्रतिक्रिया