एएफसी कपमा थ्रीस्टारको विजयी सुरुआत

एफसी कप फुटबल छनोट अन्तर्गत मङ्गोलियाको उलनबटारमा भएको ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक राष्ट्र मङ्गोलियाको लिग विजेता ‘एर्चिम’ फुटबल क्लबलाई २–० ले हराएको छ ।

भर्खरै सम्पन्न खेलको १३ औं मिनेटमै नाइजेरियाली खेलाडी मार्टिन्स कयोदेकोस गोलमार्फत थ्रीस्टारले अग्रता लिएको थियो । त्यस्तै खेलको ७५ औंँ मिनेटमा विक्रम लामाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेसँगै थ्रीस्टारको जित सुनिश्चित भएको हो । आजको जितले थ्रीस्टारको दोस्रो चरणमा जाने सम्भावना प्रबल भएको छ ।

थ्रीस्टारले गत वर्षको राष्ट्रिय लिग जितेसँगै एएफसी कपको ‘प्ले अफ छनोट’मा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने अवसर पाएको हो । जारी प्रतियोगितामा थ्रीस्टार समूह ‘बी’मा परेको छ । अब थ्रीस्टारले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबसँग मङ्गलबार खेल्ने छ ।

तीन समूहमा विभाजित ‘प्ले अफ छनोट’ चरणमा नौ टोलीको सहभागिता छ । तीन वटै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछन् ।

तपाईंको प्रतिक्रिया