दिल्ली र बेइजिङको नेपाली दूतावसमा यस्तो फरक देखियो

चीन र भारतमा रहेका नेपाली दूतावास संचालन प्रक्रियामा आकाश पातालको फरक रहेको फेरी पनि पुष्टि भएको छ ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट गरे । बेइजिङ स्थित नेपाली दूतावासले सो भेटघाटको विवरण तस्विरसहित सार्वजनिक गरयो । जसलाई प्रेस विज्ञप्तिका रुपमा परराष्ट्र मन्त्रालयले आफ्नो वेवसाइटमा पनि राख्यो ।

यता, उपप्रधानमन्त्री विमलेन्द्र निधीले भारतको राजधानी नयाँ दिल्लीमा त्यहाँका गृहमन्त्री राजनाथ सिंह र शुष्मा स्वराजसँग भेट गरे । यसबारे न पराराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकारी दियो, न दिल्ली स्थित नेपाली दूतावासले नै विज्ञप्ति जारी गरयो ।

दुवै देशमा रहेका नेपालका दूतावास समान हैसियतका, दुवै उपप्रधानमन्त्री एउटै प्रयोजन र एउटै हैसियतमा ती मुलुकमा गएका्, भ्रमणको समय मात्र केही दिन फरक भए पनि कार्यशैली र क्षमता यस्तो फरक छ ।

दुवै देशका दूतावासमा राजदूत छैनन् । अर्थात्, सबै दृष्टिले समान अवस्था छ । तैपनि उस्तै प्रकृतिको बेग्लाबेग्लै भ्रमणमा सूचना र जानकारी दिने क्रममा फरक मापदण्ड किन अपनाइयो होला ? यसको जवाफ दिन परराष्ट्र मन्त्रालयका अधिकारीहरु तयार भएनन् ।

कूटनीतिक क्षेत्रका जानकारहरु भन्छन्– भारतमा रहेको नेपाली राजदूतावासले प्रशासनिक प्रकृतिको काम मात्र गर्छ, नेपाल–भारत दुई देशबीचको आपसी सम्बन्ध सम्बन्धी सबै काम राजनीतिक नेतृत्वले हेर्ने गरेको छ । उनीहरुका अनुसार दिल्लीको दूतावास नाममात्रको हो ।

चीनमा भने व्यवस्थित दूतावास छ, यद्यपि, चीनमा भन्दा भारतको दूतावासमा धेरै कर्मचारी छन् । दुवै दूतावासमा अहिले कर्मचारी नेतृत्व रहेको छ ।

‘यो फरक दूतावासका फरक कर्मचारीका कारण देखिएको फरक मात्र होइन,’ एक पूर्व राजदूतले भने–‘दुई देशको दूतावास संचालनको परम्पराका कारण यसो भएको हो ।’

तपाईंको प्रतिक्रिया