डोमो जीन्दगी 


गुगल, याहु, एप्पल, सामसुङ र नासामा काम गर्नेहरु अघिल्लो पंक्तिमा लहरै बसेका थिए । नामी मानवशास्त्री, समाजशास्त्री र संसारका प्रसिद्ध मानिसहरु जन्माईसकेको काभ्रेपलान्चोक, नेपालको मानेडाँडा विश्वविद्यालयका सयौं विद्यार्थीहरुबीच जिवन शर्मा उभिएको थियो । हजारौं मानिसले भरिएको अडिटोरीयमको पोडियमबाट उ आफूले भोगेको अनुभव साट्न थाल्नुअघि नै सभाकक्षका सबै बत्ती निभिसकेका थिए । सभाकक्षको त्यस्तो सन्नाटाबीच जिवन धाराप्रवाह बोल्दै थियो ।

………………………

लाम्चो अनुहार, बाक्लो कपाल, महिलाको जस्तो कमलो हात, मझौला आकारको निधार, दुवै पोरा ठूलो भएका नाक, बाक्लो आँखी भौं, हात्तीको जस्तो सानो आँखा, दोहोरो आङको शरिर भएको जिवन फूर्तिलो र आकर्षक थियो ।
अमेरिकाको लिङ्कन विश्वविद्यालयबाट क्रियटिभ राईटिङमा स्नातकोत्तर गरेको जिवन लेखपढमा रुचि राख्थ्यो । स्वतन्त्र पत्रकार, नेपालको पुरानो विश्वविद्यालयको गुरु, मनमा लागेको पोख्न कसैको मोलाहिजा नगर्ने र वामपन्थी पृष्ठभूमिले जिवनलाई मिलनसार भएरपनि थोरै अक्कडो बनाएको थियो । पहिले आईफोन थ्रीसँग अभ्यस्त उ आईफोन सिक्स प्लस चलाउन थालेको दुई वर्ष वित्दानवित्दै आँखा कमजोर भएर ओखती चस्मा सँधै झुण्ड्याउनुपर्ने बनेको थियो ।

अधवैंसे जिवनकी पत्नी ज्योती पहाडमा महिला आयआर्जन सम्बन्धी गैह्र सरकारी संस्था चलाउँथी । सामाजिक प्रतिष्ठा, मध्यमवर्गीय हैसियत, बढदो सामाजिक पहुँच र अवसरहरुको संभावनासहित बाँच्दै थियो जिवनको परिवार, नेपालमा । चढ्दै आएको हुन्डाई टक्सन, सुजुकी एक्सेल मोटर साईकल बेचेर र पारिवारीक लहनतहन मिलाएर जिवन एकाएक क्यानडा उडेको थियो । सन्तानको शिक्षा र भविष्य देखेर जिवन दशैं पनि नमनाई विदेशीएको थियो । त्यसरी परिवार सहित क्यानडा पुगेको जिवन विदेश बस्नुलाई सधैं यो जिवनदर्शनसँग जोड्ने गर्थ्यो, ‘जीन्दगीको कथाले फरक—फरक पात्र भएर बाँच भनेपछि बाँच्नै पर्यो ।’

…………………………..

फुस फुस गर्दै हिउँ कहिले बाक्लो त कहिले अलि पातलो गरी परिरहेको थियो । वातावरण सेतो, सफा, स्वच्छ र कपास ओछ्याए जस्तो देखिन्थ्यो । फाट्टफुट्ट बाटोमा हिँडिरहेकाहरुले लगाएको चिसो नछिर्ने बाक्लो लुगा, टोपी, जुत्ता र पन्जाको आकारप्रकारले युद्धमोर्चामा भएका सेनाका जवान जस्तो झल्को दिन्थ्यो । तापक्रम माईनस ४० देखी ५० बीचमा रहेको हिउँमय यो वातावरणले विचलित बनाउँदा आफैंलाई ढाडस् दिन मानिसहरु भन्थे, ‘अब गर्मीयाम आउन धेरै महिना छैन ।’ वर्षमा यहाँ ७—८ महिना यस्तै मौशम हुन्थ्यो ।

………………………….

परमजीतचाहिँ ३२ वर्षअघि प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै सुरक्षाकर्मी सतवन्त र बेअन्त सिहँले हत्या गरेपछि भारतमा शिखविरुद्ध चलेको अमानवीय श्रृखंलाबाट बच्न भागेका लाखौं पन्जाबीमध्ये एक थियो ।

काम गर्दै आएको शेल ग्यास र कन्भिनेन्ट स्टोर मालिकको अभद्र वचनले जिवन शर्मा बेकारी बसेको तीन हप्ता भइसकेको थियो । काममा हुँदा उसले मालिक परमजित कौरलाई वर्कप्लेस हर्यास्मेन्टको मुद्दा हाल्ने चेतावनी दिएको पनि थियो । परमजीतचाहिँ ३२ वर्षअघि प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै सुरक्षाकर्मी सतवन्त र बेअन्त सिहँले हत्या गरेपछि भारतमा शिखविरुद्ध चलेको अमानवीय श्रृखंलाबाट बच्न भागेका लाखौं पन्जाबीमध्ये एक थियो । रसायन विज्ञानमा स्नातकोत्तर उ सुरुमा खाडी मुलुक र त्यसपछि यहाँ आएको थियो ।
सेता लामा दाह्री, टाउकोमा पञ्जाबी पगरी, रातो मिलेको अनुहारले देखाउने सौम्य व्यक्तित्व, आँखामा डाईनामीक रेवान चश्मा, घाँटीमा सँधै झुन्डिने टाई, झण्डै ६ फिट अग्लो र दोहोरो आङको शरिर, परमजीतको बाहिरी परिचय थियो । ५६ वर्षिय उ पम्पमा ग्याँस हाल्न र नियमीत सामान किन्न आउने ग्राहकहरुलाई शिष्टतापूर्वक नै व्यवहार गर्थ्यो । त्यहीकारण ग्राहकहरु उ नहुँदा पनि खोजीनीति गर्थे ।

जिवनको बुझाईमा भने परमजीतको सहकर्मीहरुलाई अपमान गर्ने मालीक मनोविज्ञान र जसरी पनि ठालू हुन खोज्ने स्वभाव छ । उसलाई परमजीत दक्षिण एशियाली सामन्ति पछौटेपन र चिन्तनको एउटा सशक्त प्रतिविम्व लाग्थ्यो । माथिकालाई चाकडी गर्ने र मातहतलाई सक्दो हेप्ने परमजीतको स्वभाव रहेको उसको बुझाई थियो । हुनपनि बोल्न नसक्ने नव आप्रवासीलाई परमजीत तालिमको नाममा पारिश्रमिक नदिई तीन दिन काम लगाउथ्यो । दिएपनि हरहिसाब लटपट्याउन खोज्थ्यो । तर, कानूनको कुरा गर्नासाथ उसको सातो गईहाल्थ्यो । र, तुरुन्तै नरम व्यवहार गर्नथाल्थ्यो ।
रातीको सीफ्ट म्यानेजर जिवनलाई एक जना सहयोगी पनि दिइएको थियो । बाहिर हिउँ बाक्लो परिरहेकोले सडकमा कार पातलो थिए । सडक पेटीमा हिड्ने त बेला बेला मात्र देखिन्थ्यो । तिनमा पनि अधिकांश ग्राहक खोजीमा निस्केका नगरवधु थिए । यस्तो मध्य रातमा रक्शीले लठ्ठ परेको झण्डै चालीस वर्षको गोरो अनुहारको मान्छे ढोका अगाडी देखा पर्यो । अन्य ग्राहकलाई जसरी नै जिवनले ठूलो सिसा भएको विद्युत्तीय ढोका खोलिदियो । तर, त्यो ग्राहकले अनौठोसँग स्टोरको फोन गर्नुछ भन्दै फोन माग्यो । कम्पनीको कामका लागि मात्र फोन प्रयोग मिल्ने हुँदा जिवनले त्यही कुरा राख्यो ।

तर, रक्शीले टिल्ल परेको ग्राहकले उसको कुरा नसुनी तिमी जुन देशबाट आएको हौं, त्यतै फर्क भन्दै फोहरी शब्द मिसाउँदै गाली गर्न थाल्यो । त्यसपछि जिवनले त्यो मत्थुलाई तह लगाउने तरिका अपनाउँदै भन्यो, ‘तिमी आदिवासी हो ? तिम्रो पिता—पुर्खा पनि यूरोपबाट आएका होइनन् ?’ 
गोरेले आफ्नो प्रत्येक रौं, अङ्ग, रगत पक्का क्यानाडाली भएको दाबी गर्यो ।

जिवनले भन्यो, ’ब्रिटिस कोलम्बिया कहाँ पर्छ ? क्यानडामा पर्छ हैन ?’

‘क्यानडामै पर्छ ।’

‘म बिसिमा जन्मीएको हुँ । मेरो बा—आमाको सम्बन्ध राम्रो भएन । आमालाई पछ्याउँदै म नेपाल गएँ । त्यताबाट फेरी क्यानडा आएँ । नेपालमा लामो समय विताएको हुनाले मेरो अंग्रेजी उच्चारण फरक भएको हो ।’
वार्तालापपछि त्यो ग्राहकको कुरा पूरै फेरियो र भन्यो ‘माफ गर्नुस ।’

अब, जिवन आक्रमक भयो र भन्यो, ‘महासयलाई सजायँ दिलाउन प्रहरीलाई फोन किन नगर्ने ?’

‘प्रहरी’ शब्द सुनेर उ डराएको देखेपछि जिवनले अरु पेल्दै भन्यो, ’महासयको भनाई सबै सिसिटीभीमा रेकर्डेड छ । रक्सी खाएर वर्कप्लेस हर्यासमेन्ट गरेको, कामदारलाई जातीयरुपमा अपमान गरेको, पसलको टेलिफोन जबर्जस्ती लिन खोजेको र मध्यरातमा हल्लाखल्ला गरेको आरोपमा तपाईंलाई प्रहरीबाट कार्वाही किन नगराउने ?’

‘म बिसिमा जन्मीएको हुँ । मेरो बा—आमाको सम्बन्ध राम्रो भएन । आमालाई पछ्याउँदै म नेपाल गएँ । त्यताबाट फेरी क्यानडा आएँ । नेपालमा लामो समय विताएको हुनाले मेरो अंग्रेजी उच्चारण फरक भएको हो ।’

यति भन्नासाथ त्यो ग्राहक सरी, सरी, सरी, भन्दै हतारहतार ढोका खोलेर बाहिर निस्क्यो ।
यसपछि जिवन र उसको सहयोगी अशोक मिश्र पेट मिची मिची हाँस्न थाले । अशोक उसले अपनाएको तरिकासँग उदेक मानेको देखेपछि
जिवन व्याख्या गर्न थाल्यो, ‘ब्यापकरुपले सोच्ने हो भने सिगों धर्ती एउटा देश हो । जसलाई जहाँ मन लाग्छ त्यहाँ बस्दा हुन्छ । देश, राष्ट्रिय सिमा र त्यसको भूगोल त मान्छेले सिमित पारेका न हुन् ।’
अशोकको भनाई थियो, ‘तपाईँ त ग्लोबल सिटीजनसीपको पक्षधर हो क्यार ।’

तर, आफूलाई पहिचान पक्षधर भन्ने रौतहट झुनखुनवा स्थायी घर भएको अशोक जिवनसँग कुरा गर्दा नेपाली हुँ भन्थ्यो भने परमजीतसँग भारतको उत्तर प्रदेशमा जन्मेको भन्थ्यो । त्यस्तो अशोकलाई अलि छेड हाने जसरी जिवनले फेरी थप्यो, ‘यूजे पोत्तरको अन्तराष्ट्रिय गीत गाएर राजनीतिक जिवन सुरु गर्ने नेपाली वामहरु अहिले जाति, नश्ल र पहिचानको संकुचित दलदलमा फसे जस्तै हो त्यो गोरेको पारा । आप्रवासीकै कारण जिवन्त र गतीशिल अर्थतन्त्र बनेको क्यानडा जस्तो देशमा गोरो जातिवादको ढ्याग्रों ठटाउने त्यो जँड्याहा र नेपालका पहिचान र जातिवादी वामहरुमा के फरक छ र ?’ त्यसपछि मौन बनेको अशोक हिउँ परिरहेपनि घरभित्र चुरोट पिउन नपाईने क्यानडाको कडा कानूनका कारण बाहिर निस्केर चुरोट तान्न थाल्यो ।

………………………………..

साँझको सवासात बजेको थियो । भर्खर स्टोरमा आएको मालिकले बाहिर भएका दशवटा पम्पहरुको दुवै तर्फको विन्डसिल वाटर राख्ने पम्प सजाउन राखिएको जस्तो लाग्नेगरी राखिएको प्लास्टीकका भाँडा निरिक्षण गर्यो । अनि, भित्र छिर्दै जिवनलाई ग्यालेन ल्याउन अह्रायो । त्यसले जिवनलाई हेपेको महशुस भएपनि
 परदेश भनेर एक मनले चित्त बुझाउन खोज्यो । तर, अर्काे मनले अन्याय सहनु पनि अपराध हो भन्ने सोच आएपछि उसलाई साहुले भनेको नमानु कि भन्ने लाग्यो । यस्तै दोमनमा उसले साहूले भने अनुसार कार्टुनमा लेखेको नपढी दुईवटा ग्यालेन लिएर आयो । तर ती ग्यालेन विन्डसिल वाटरको नभएर क्यासट्रोल लुब्रिकेन्टको परेपछि मालिकले उसलाई ‘होईन तिमीले पढेका त छौ के ? तिमी कसरी काम गर्छौ ?’ भन्यो । त्यसपछि जिवन आक्रोशित हुँदै पड्क्यो ‘मैले पढेको छैन भन्ने तिमी को हौ ? कौर महासय, तपाइँ विरुद्ध वर्कप्लेस हर्यासमेन्टको मुद्दा हालौं ?’

जिवनको त्यो आक्रोश सुनेपछि परमजीत अनुहार रातोपिरो पार्दै हिड्यो । त्यसको भोलीपल्टै जिवनले शेल ग्यास एन्ड कन्भीनेन्स स्टोर छाडिदियो ।

……………………………..

माइनस ३० को चिसोलाई पनि स्वाभाविक ठान्ने बानी परिसकेको जिवन सडकमा चुरोट तान्दै धुवाँ उडाउँद बाहिर हिडिरहेको थियो । तर, परिरहेको हिउँले धुवाँ देखिदैनथ्यो । एमी रिचमन्डलाई पालो दिन डोमो ग्यासोलिन कर्पोरेसन लिको बाहिर कुरीरहँदा एक महिना अघिका दृश्यहरु उसको दिमागमा यसरी घुमिरहेका थिए ।

…………………………………

ईन्टरनेट चलाएर, दयाहाङ राईका नेपाली चलचित्र हेरेर र बिभिन्न देशमा बसोवास गर्ने साथीभाई र नातागोतासँग सामाजिक संजालमा कुरा गरेर जिवनले दुर्ई हप्ता सजिलै विताएको थियो । तेस्रो हप्ता लागेपछि बेकारीबाट उम्किने चिन्ताले उसलाई सताउन थाल्यो । त्यही कारण उ यहाँ आइपुगेको थियो ।
झट्ट हेर्दा सोझो जस्तो देखिने मध्य कदकाँठीको प्रशन्न प्रधान गफ गर्ने र चिया खाने सुरले जिवनको कोठामा छिरेको थियो । प्रशन्नसँग देखभेट भएर नजिकिएपछि जिवनले मन मनै मान्छेको बठ्याँईलाई वर्गिकरण गरेको थियो । एकखालका मान्छे बाहिरीरुपमा हेर्दा सोझो जस्ता देखिएपनि भित्रीरुपमा चतुर र बाठो हुन्छन । कोही बाहीर चतुर र बाठो देखिएपनि भित्रको सोझो र भावुक हुन्छन् । अनुहारै बाठो, चतुर देखिएजस्तै काममा पनि चतुर र बाठो हुन्छन तेस्रो प्रकारका मान्छे ।

तर डोमोमा काम गर्दा बढी टिप्स पाईने हुनाले चुरोट, मादक पदार्थ, तरकारी र मासुको मासिक खर्च टिप्सबाटै धानिन्थ्यो ।

जिवन आफूलाई दोश्रो दर्जाको ठान्थ्यो तर प्रशन्नलाई पहिलो किसीमको मान्थ्यो । 
प्रशन्नले जिवनलाई सोध्यो, ‘डोमोमा काम गर्ने होईन?’
दिन, रात,घाम, हावा पानी र हिँउ नभनी डोमो ग्यासोलिन कर्पोरेसन लि. मा काम गर्नेले बाहिर निस्केर सवारी साधनहरुमा आफ्नै हातले तेल भरिदिनु पथ्र्याे । जिवनले त्यो काम धेरै गाह्रो हुन्छ भन्ने सुनेको थियो । हुन पनि डोमोले कामदारलाई जागिर खान आह्वान गर्दै जम्प टु द पम्प भन्ने नारा अघि सारेको थियो । प्रविधीको उच्चतम प्रयोग हुने क्यानडामा डोमोमा बाहेक अरु सबै ग्याँस स्टेसनहरुमा सबै क्रेता स्वयंले गाडीमा तेल हाल्नु पथ्र्याे । प्राविधिकरुपमा डोमोलाई शायद एनालगकै रुपमा संरक्षण गरेर सेवा र ब्यापार गर्ने ध्यय थियो । त्यसकालागि काम गर्ने मान्छेले नै हातले तेल भरिदिनु पथ्र्याे । तर डोमोमा काम गर्दा बढी टिप्स पाईने हुनाले चुरोट, मादक पदार्थ, तरकारी र मासुको मासिक खर्च टिप्सबाटै धानिन्थ्यो । त्यसैले पनि एडमन्टन आएका नव आप्रवासीको पहिलो छनोट हुन्थ्यो, डोमोमा काम गर्नु । यस्तै यस्तै अनुमान गरेको थियो जिवनले ।
आफ्नो ताल ’चल्तीके नाम गाडी, रुक गईल त खटारा’ जस्तै ठान्ने जिवनले भन्यो, ’हुन्छ, काम गर्ने तर के के गर्नुपर्छ डोमोमा काम गर्न?’
प्रशन्नले जवाफ दियो, ’दुई दिने वैतानिक तालिम लिनुपर्छ ।

त्यसपछि एडमन्टन शहरका चौधवटा ग्यास स्टेसनहरुमध्ये कामदारलाई पायक पर्ने ठाउँमा एक हप्ता अल्पकालिन काममा लगाउँछ । एक हप्ता पछि राति, दिउसो वा साँझको सिफ्टमा पूर्णकालीन काम दिन्छ ।’

यति सुनेपछि बेकारी जिवनले प्रशन्नसँग सहमती जनायो । तालिममा सहभागी भयो । त्यसरी जिवन अन्य नेपाली झैं सन् २०१४ को कडा हिमपातका तीन महिना डोमोमा ग्यास भर्ने र समान बेच्ने काम गर्न थाल्यो । तर जिवनसँगै तालिम लिएको प्रशन्नले डोमामा लामै समय काम गरेको थियो । यहाँको विश्वविद्यालयबाट एक वर्षीय समुदाय सहयोगी विषय पढेर स्थानीय गैरसरकारी संस्थामा राम्रो तलवमान सहित जमेर काम गर्न थालिसकेको थियो । तरपनि डोमोको काममा सप्ताहन्तको दुई दिन गैरहेको थियो । महिनाभरीमा डोमोको आठ दिने कमाई उसले मनग्गे फुर्मासी खर्च गरेर पनि जोगीएकै थियो । अन्य कामदार झैं प्रशन्न डोमोको काममा रमाएकै थियो ।

…………………………………

पश्चिमी खुला संस्कृती जान्न डोमो ग्यासोलिन लिनवुडको सहकर्मी क्यानडाली एमी रिचमन्डसँग जीवनले धेरै खुलेर बैयेक्तिक प्रश्नहरु सोधेको थियो । २६ वर्षीय एमीको जवाफ सुनेर जीवन तिन छक परेको थियो, उ ।
एमीले जिवनलाई भनेकी थिई, ’मलाई जन्म दिने मेरो जैविक आमा र बुवा को हुन मलाई थाहा छैन, अहिले सम्म भेटेको छैन । मलाई हुर्काउने, पढाउने र अघि बढाउने मेरा आमा बुवाहरु भने आईरिस हुन ।’ 

सानैदेखि पढाईमा कम रुची राख्ने एमी उच्च माध्यमिक विद्यालयको पढाई नसक्दै आमा बनेकी थिई । दश कक्षामा लगाएको कलिलो मायाले एघार नसक्दै एमीलाई आमा बनाएको थियो । एमीले भनेकी थिई ’त्यसपछि म ब्वाय फ्रेन्डसँग बाहिर बस्न थालेको एक वर्ष पनि नपुग्दै उ बेपत्ता भयो । मेरो छोरी बा—आमाले हेर्ने तर मैले बा—आमासँगै बस्नुपर्ने शर्तमा म फेरी घरमा बस्न थालें । स्थिर पारिवारिक जिवन बिताउन चाहने पुरुषको खोजीमा छु तर अहिलेसम्म भेटेको छैन ।’

लामो सुस्केरा तान्दै एमीले थपेकी थिई ’स्थिर सम्बन्धको खोजीमा मैले १९ जना पुरुषसँग महिना—वर्ष विताई सकें । तर आफूलाई मन परेका राम्रा पुरुषहरु केहि महिना र वर्ष वित्ने वित्तिक्कै छोडेर हिँडछन, आफूलाई मन नपरेका अल्छि पुरुष भने लिसो टासिएँ झै टाँसिन खोज्छन । त्यस्ता लम्पट बेकामे पुरुषलाई म छाडदिन्छु । राम्रो पुरुष पतिको खोजीमा छु । थाहा छैन, मैले चाहे जस्तो पति फेला पार्छु कि पार्दीन ।’

दुख—सुख के हो ? अनेकन अनुभव र अनुभुति ब्यहोरेकी एमीले भनेकी थिई, ‘जीवन यस्तै रहेछ । आफूले सोचे, देखे वा चाहे जस्तो हुँदो रहेनछ । जीवन अझै लामो छ । भविष्यमा के कस्ता अवस्था र सम्बन्धको सामना गर्नुपर्ने हो । अत्तो पत्तो छैन । दुख—सुखको मिश्रण हो जिवन । कहिले दुख धेरै, कहिले सुहाँउदो सुख मात्रै ।’

’स्थिर सम्बन्धको खोजीमा मैले १९ जना पुरुषसँग महिना—वर्ष विताई सकें । तर आफूलाई मन परेका राम्रा पुरुषहरु केहि महिना र वर्ष वित्ने वित्तिक्कै छोडेर हिँडछन, आफूलाई मन नपरेका अल्छि पुरुष भने लिसो टासिएँ झै टाँसिन खोज्छन ।

त्यसपछि एमी मजाले हाँसेकी थिई । तर जिवनले मनमनै तारा देवीको गीत गुनगुनाएको थियो, ’सोचे जस्तो हुन्न जिवन, खोजे जस्तो हुन्न जिवन, जस्तो भोग्यो त्यस्तै हुन्छ, रोजे जस्तो हुन्न जिवन ।’ 

जिवनले हार्वड युनिभर्सीटीको मानवशास्त्रसँग सम्बन्धित अनुसन्धानका अनेकौं आयामका परिणाम मध्ये जिवनमा मानिस के कारणले खुशी हुन्छ ? भन्ने परिणामलाई टेड टल्कमा हेरेको सम्झ्यो । त्यस विषयमा सन् १९४५ देखि ७ सय २० अमेरिकीहरुको जिन्दगीका अनेकन आयाममाथि सुक्ष्म अध्ययन—अनुसन्धान गरिएको थियो । त्यो अनुसन्धान अहिले पनि जारी छ ।

अध्ययनका प्रमुख एवं मनोचिकित्सक रिचर्ड वाल्डीगनरले टेड टल्कमा जिवन्त प्रस्तुतीसँगै भनेका अनेकन कुरामध्ये पारिवारिक जिवनमा श्रीमान र श्रीमतीबीचको सम्बन्ध र पारिवारिक स्थिरताले खुशी निर्धारण गर्ने तथ्य र तर्कलाई जिवनले झलझली सम्झ्यो । ईमान्दारिता, एक अर्काप्रतिको वफादारिता र अटल विश्वास रहेको

परिवार सबैभन्दा खुशी भएको अनुसन्धानको निश्कर्ष थियो । त्यस्ता परिवारको श्रीमान श्रीमतीको आयुपनि लामो रहेको सत्य तथ्य टेडटल्कमा वाल्डीगनरले दिएका थिए ।

त्यसरी पश्चिमा समाजमा आधारित अनुसन्धानलाई जिवनले एमीको खुशी नाप्ने कसी बनाउँदा उ धेरै नै दुखि र निराश थिई । बाहिर वनावटी हाँसो देखाउनु बेग्लै कुरा हो । तर भित्र भने उ धेरै निराश भएको आभास जिवनले गरेको थियो ।

हुन त तीन दिनसम्म जिवनले एमीसँग दिउसोको सिफ्टमा काम गर्यो । तेश्रो दिनको सिफ्टमा काम सक्न पच्चीस मिनट बाँकी हुँदै एमीले भनी, ’जिवन हिसाब किताव मिलाउनु है । म आज छिट्टै हिँडछु । उ त्यहाँ पर मेरो व्वायफ्रेन्ड कारमा कुरी बसेको छ ।’ त्यो शुक्रवारको साँझ थियो । त्यसपछि एमी परिकथाको परि हराए झैं बेपत्ता भएकी थिई । न उ फर्किएर आई न त उ कता गई के गर्दैछे भन्ने कसैले सुँईको पायो । शायद आत्मकेन्द्रित स्वतन्त्र समाजको संस्कारले गर्दा जिवनलाई त्यस्तो लागेको थियो । एमीसँगको कुराकानीले पश्चिमी समाजमा किशोर किशोरीलाई प्राप्त असिम स्वतन्त्रताले गर्दा कलिलो उमेरमै बा—आमा बन्ने समस्याबारे सोध—खोज गर्ने रुचि जगाएको थियो । तर कार्यब्यस्तताले जिवनले त्यसो गर्न भ्याएको थिएन ।

………………………………..

सानो चिटिक्क परेको मुन्डे घर जस्तो स्टोर देखेर छक्क परेको जिवनले डोमो पुगेको पहिलो दिन मसिनो गरि निरिक्षण गरेको थियो । घर—जग्गाको मूल्य र केन्द्रीय वातानुकूलित प्रणालीका कारण उत्तर अमेरिकामै नामुद वेष्ट एडमन्टन मलसँग जोडिएको बस्ती हुनाले लिनउड धनीहरु मात्र बस्ने टोल जस्तो बनेको थियो । लिनउड आफैंमा जे जस्तो भएपनि त्यहाँको डोमोमा काम गर्नेहरु संसारका विभीन्न गरिब देशहरुबाट आएका विद्यार्थी वा नव आप्रवासीहरु हुन्थे । आफ्नो देशको प्राज्ञिक योग्यतालाई झीनो मान्यता दिने हुनाले क्यानडाली अनुभव अपरिहार्य मानिन्थ्यो । त्यसैले एशियाली र दक्षिण अमेरीकालीको लागि डोमोको काम क्यानडाली समाज, व्यबहार, संस्कृती बुझ्न, संचार र अनुभवको लागि उपयुक्त थलो थियो । त्यतिमात्र होईन संसारका झण्डै प्रत्येक देशका मानिसहरु नै बसोबास गर्ने एडमन्टनमा मिश्रित संस्कृतीबारे छिपछिपे जानकारी पाउन सकिने स—सानो केन्द्र जत्तिक्कै थियो, डोमो ।

अन्योलग्रस्त उत्सुक्ता कायम राख्दै एक खिली खरो स्टुडियो चुरोट जिवनले स्टोरमा छिर्नुअघि धित पुग्ने गरी लामो कस लिएर उडाएको थियो ।

१५ फिट चौडाई अनि ३० फिट लम्बाई भएको डोमो स्टोर साँचिक्कै चिटिक्कको थियो । बाहिरपट्टि ४ वटा सानो फलामको अग्लो र्याकहरुमा चिप्स, कुकीज, विन्डसिल सफा गर्ने पानीका जर्किनहरु थिए । स्टोरको पालीमुनी राखिएका ठूला दुई फ्रिजहरुमा पेप्सी, स्प्राईट, मिरीन्डा लगायतका हल्का पेय पदार्थहरु बोतलहरुमा सजाएर राखिएको थियो । त्यसबाहेक तत्कालै तागत दिने महँगा पेयपदार्थहरु पनि राखिएको थियो । 

स्टोरको भित्रीभागलाई दुई खण्डमा बाँडिएको थियो । भित्र १५ फिट लम्बाई ८ फिट चौडाई भएका दुईवटा कोठाहरु थिए । बाहिरी कोठामा पचासौं किसीमका चुरोटका बट्टाहरु, लाईटर, तत्कालै खान मिल्ने खाजाहरु, अनेकन सिगारका बट्टाहरु, नर्वेको खैनी, चुईगम, चकलेट, सवारीमा हिँडदा तत्कालै चाहिनसक्ने अत्तर, मासुका सुकुटीहरु, पेय पदार्थका क्रेटहरु, पैसा राख्ने झिक्ने आधुनिक सन्दुक, हरहिसाव गर्ने मेसिनहरु लगायतका अनेकन समाग्रीहरु सजाएर राखिएको थियो ।

त्यहाँ के थिएन र ! सक्दो र पुग्दो ठाउँको प्रयोग गरिएको थियो । साँघुरो भएकाले स्टोरको बाहिरी कोठामा २ जना भन्दा बढी मानिस अटाउँदैनन् । भित्री कोठामा पनि मुश्किलले २ जना अटाउँथे । तर त्यो कोठा गोदाम, भान्छा, शौचालय, हरहिसाब मिलाउने लेखा शाखा र सिंगो ग्यास स्टेसनको विद्युतीय प्रणाली, वातानुकुलन गर्ने प्रविधी लगायत सबै थोक थियो । काम थालेको केहि दिन डोमोको भित्री र बाहिरी कोठाको आकार, बिभिन्न सामग्रीहरुको सजावट र व्यबस्थापन देखेर जिवन चकित परेको थियो ।

…………………………

फेसबुक चलाउँदा चलाउँदै झकाएको जिवनले डोमोको स्टोर बाहिर गाडी रोकिएको सुन्यो । उ हत्तपत्त बाहिर आयो । दक्ष मजदुर जस्तो देखिने गोरे ग्राहकले ४० लिटरको ग्यालिनमा पेट्रोल हाल्दै थियो । जिवनले उसलाई सघायो । ग्राहकसँग पैसा लिन वाईफाई भएको टेल मसिन लिन स्टोर भीत्र पुग्दा नपुग्दै ग्राहक गाडी चलाएर भाग्यो । त्यसपछि जिवनले प्रहरीलाई फोन गर्यो । तर केही पत्ता लागेन । क्यानडा जस्तो देशमा पनि चोर ठग भएको देखेर जीवन ले भनठान्यो, ‘संसारनै राम्रो र नराम्रो मान्छेमा विभक्त भएको छ ।’

………………………………..

ठूलो हिमपात भैरहेको रात पच्चिस वर्षको एउटा गोरो युवक तेल हाल्न आईपुगेको थियो । तेल हाल्दा हाल्दै उसले जिवनलाई सोध्यो, ’महासय कुन देशबाट आएको हो?’ त्यो गोरेले तिन पटक सोध्दा पनि जिवनले तेल हाल्दा हाल्दै तीनै पटक आफू स्वर्गबाट आएको हुँ भन्यो । वाक्क भएर गोरेले फेरि सोधेपछि जिवनले भन्यो, ’नेपालबाट आएको ।’ तर त्यो युवकले ठूलो हिमपात भैरहेको त्यो रात जिवनले नेपालजस्तो देश छोडेर सात्त—आठ महिना हिँउ पर्ने क्यानडाको अलवर्टा आएर गल्ती गरेको जस्तो गरी आश्चर्य मानेर कुरा गरिरहेको थियो । युवकले जिवनलाई भन्यो, ’मेरा साथीभाई र नातेदारहरु नेपाल घुम्न गएका छन् । उनीहरुको कुरा सुन्दासुन्दा म छिट्टै नेपाल जाने विचारमा छु ।’

जिवनले त्यो गोरीले यौन सम्वन्ध पश्चिमाहरुको आँखामा मामूली कुरा हो भन्ने अभिब्यक्ति दिएकी हो कि भन्नेठान्यो । जिवनले आफू यौन मामिलालाई अत्यन्त अनुदारतापूर्वक हेरिने र बन्द समाजबाट आएको हुनाले गोरी महिलाले जिस्काएको त होईन भन्ने आशंका मन मनै गर्यो

त्यो युवक विदा भएको केही समयपछि तीस वर्ष आसपासको गोरी महिला तेल हाल्न आईपुगी । जिवनले तेल हाल्दै क्षम कुशलको कुरा गर्यो । पैसा तिरेर हिँडने बेलामा जिवनले आजको शुक्रबारको रात राम्रोसँग बितोस् भनेर शुभकामना दियो । तर त्यो गोरीले एकदमै सहज भावमा तिमी जस्तो युवा पनि यो रातमा मसँगै भए पो रात रमाईलोसँग बित्थ्यो भनेर जवाफ फर्काउँदा जिवन ठूलो हिमपातमा पनि रातोपिरो भएको थियो । कताकति उसलाई शरिरको तापक्रम बढेजस्तो भएको थियो । संचारलाई जिवन्त बनाउन जिवनले भन्यो, ‘म काम गरिरहेको छु । काम छोडन मिलेन । के गर्नु?’ जिवनको जवाफ सुनेपछि गोरीले जिवन कुन देशबाट आएको कता हो भनेर दिलचश्पी देखाएकि थिई । जिवनले त्यो गोरीले यौन सम्वन्ध पश्चिमाहरुको आँखामा मामूली कुरा हो भन्ने अभिब्यक्ति दिएकी हो कि भन्नेठान्यो । जिवनले आफू यौन मामिलालाई अत्यन्त अनुदारतापूर्वक हेरिने र बन्द समाजबाट आएको हुनाले गोरी महिलाले जिस्काएको त होईन भन्ने आशंका मन मनै गर्यो । तर त्यस किसिमको संवाद डोमोमा केही महिलाहरुसँग अनपेक्षितरुपमा पहिला पनि भैसकेको हुनाले जिवनलाई त्यो गोरी महिलालाई सहजै म काम गरिरहेको छु भनेर टुग्यांएको थियो ।

…………………………..

दिशा पिसाव गर्ने कम्बोटलाई मेचकोरुपमा प्रयोग गरिएको सत्यसंग जीवन पहिलोपटक परिचित हुँदैथियो । त्यसैमाथि बसेर खाजा, खाना खानु, हिसावकिताब गर्नु, सिंगो स्टोरको व्यबस्थापन गर्नु र सँधै आफ्नो सिफ्ट सुरु हुँदा स्टोरको गोदाम र बाहिर भएका सामग्री गन्नु जीवनको बानी बनिसकेको थियो । 
ठूलो हिमपातकाबीच जिवनले नेपालबाट आएको अप्रत्याशित टेलिफोन कल उठाएको थियो । फोन संवाद हुँदा जिवनले बहुत मुश्किलले कामेको शरिर र अशिम शोकले थरथराएको ओठबाट राम राम राम नारायण नारायण नारायण भनेको थियो । यस्तो मनोदशाबाट जिवनले आफ्नो पिताको निधनको दुखद खबर सुन्दा गुज्रनु परेको थियो ।

स्वदेशमा जिवनको बुवाको निधन भएपछि डोमोको काम छाडेर नेपाल गएको थियो । त्यसपछि उ नेपालबाट क्यानडा फर्किएपनि डोमोमा काम गर्न छोडेर एउटा गैह्रसरकारी संस्थाको उप प्रबन्धक भएर काम गरेको थियो । नेपालको दुर्गम गाउँदेखि संसारका अनेकन देश, ठूलाशहर र समाज बुझेको जिवनले जिन्दगीका अनेकन घाटहरुमध्ये केहि घाटहरुको पानी पनि नखाएको थिएन । जिवनलाई संसारका कुनैपनि देशमा नयाँ र फरक चुनौतिहरु सामना गर्नु सामान्य लाग्न थालिसकेको थियो । त्यसैले जिवनले आफूले विताएका वर्षहरुलाई पाकेको भुईंकटहरका अनेकौं रसिला टुक्रा मध्ये एक—एकटुक्रा जस्तै ठानेको थियो । आफूले बिताएको ठाउँको नाम पछाडी जिन्दगी लेखेर जिवनले अनुभव बाँडफाँड गर्न थालेको पनि केहि वर्ष भैसकेको थियो । जिवनले जीन्दगीको यो टुक्रालाई भन्यो,’डोमो जीन्दगी’ ।

……………………………

सभाकक्षका बत्ति बल्नासाथ सबै सहभागी उठेर निरन्रत ताली बजाईरहे । विस २१०२ को जाडो महिनामा भएको त्यो कार्यक्रममा जिवनले सुनाएको अनुभवले सबै सहभागी र बिशेषगरी संचारकर्मीलाई आश्चर्यमा पारेको थियो । नेपालीहरु पहिले छाना, नाना, माना र सन्ततिको शिक्षाका लागि विदेश जान्थे र त्यस्तो दुख र अपमान भोग्थे भनेर । पत्रकारहरु जिवनसँग उसको भोगाई अरु थाहा पाउन भेटघाटको समय मिलाउदै थिए ।

http://prajjwalchapagain.blogspot.ca/

SHARE
mm
नेपालमा लामो समय पत्रकारिता र पत्रकारितामा प्राध्यापन गरेका चापागाईं अहिले क्यानाडा बस्छन् ।

तपाईंको प्रतिक्रिया