आज देशभरि जनै पूर्णिमा, रक्षाबन्धन र ऋषितर्पणी मनाईंदै

षितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा पर्व आज मनाइँदैछ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुद्वारा नाडीमा बाँधिदिने गरिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ ।

त्यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको छ ।

आजकै दिन तागाधारीहरुले पनि आफ्नो जनै फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन्

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । यो दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ ।

शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।

तराईका जिल्लामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

तपाईंको प्रतिक्रिया