तात्दै तीजका गीतको बजार

रितालिका तीजका लागि एक महिनादेखि महिलाहरु सजिसजाउ भएर दर खान पार्टीमा हिड्ने चलन जस्तै तीजका गीतको बजार पनि त्यति नै अघिदेखि तात्ने गर्छ । त्यस्ता पार्टीमा नाच्न तिजका गीत चाहिने हुनाले साउन र भदौ महिना सधैं तीजको गीतका लागि मलिलो जमिन हुने गर्छ । यो बर्ष तीज भदौ १९ गते परेकाले तीजका गीतको सरगर्मी साउनदेखि नै सुरु भएको छ ।

तीजका गीतको बजारमा कोमल ओली, सुनिता दुलाल, शोभा त्रिपाठी जस्ता चर्चित गायिका बलिया नाम हुन् । उनीहरुसँग प्रतिस्पर्धा गर्न हरेक बर्ष थुप्रै नयाँ गायिका आउने गर्छन् । उनीहरुमध्ये कोही सफल हुन्छन् त कसैको गीतले बजार नपाएर असफल हुन्छन् ।

मोडलिङ र नृत्यमा नाम कमाएकी तिर्सना बुढाथोकी त्यस्तै एक जना नयाँ गायिका हुन्, जो यस बर्ष तीजको गीतको बजारमा नाम चलेका र नवप्रवेशी थुप्रै गायिकाहरुसँग प्रतिस्पर्धा गर्दैछिन् ।

भदौ ६ गते प्रज्ञा भवनमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट ‘म पनि के कम, नाच्छु छमछम’ एल्बम बिमोचन गराएर प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेकी उनले सो बोलको गीत र गीतको भिडिओ बजारमा ल्याइसकेकी छन् ।

आफैले लेखेको र संगीत सुरेश शाहीले दिएको सो गीतमा नृत्य पनि उनैले गरेकी छन् । ‘संस्कृति अनुसार नै शब्द चयन गरेको छु’ तिर्सना भन्छिन्, ‘उत्ताउला र छाडा शब्दले तीजको परम्परालाई अवमूल्यन गर्ने हुनाले त्यस्ता शब्दलाई मैले स्थान दिएको छैन ।’

तपाईंको प्रतिक्रिया