सार्वभौमसत्ताको कथा

यो एक घण्टाका बीचमा म सार्वभौमसत्ताधारी जनतालाई हायल–कायल पारियो । अर्थात् त्यो ‘यस जग्गामा घर छैन’ लेख्नलाई दुईहजार नजराना दिनुपर्ने अरे । नत्र त ‘घर छ कि छैन हाम्लाई के थाहा’ अरे । नत्र त ‘जग्गामा पुग्नु पर्छ‘’ अरे । ‘पुुगुम् न त पुुगुम्, हेरूम्’ भन्दा ‘कहाँ अहिले जाने– पहिला क्यूमा बसेका अरूहरूकहाँ जानु प-यो नि, अरू काम पनि छन्, यही मात्र काम छ र हाम्रो ?,

त्यो दिन म नगरपालिका पुगेको थिएँ । जग्गा पास गराउन नगरपालिकाले मालपोतलाई लेखिदिनु पर्ने अरे– निजको यो जग्गामा घर छैन ।

घर नभएको खाली जग्गा बेच्नु पर्ने थियो र पनि नगरपालिकाले नलेखदिए नहुने अरे ।

मेरो घर भएको नौधुर जग्गाको लालपूर्जा र घर नभएको दशधुर जग्गाको लालपूर्जा एउटै थियो । त्यो एउटै पूर्जामा दुईथान जग्गा नराखेको भए चाहिँ हुने थियो अरे ।

खैर, म नगरपालिका पुग्न बाध्य पारिएको थिएँ । नगरपालिका पुगेपछि त्यहाँका कर्मचारीहरूका कान ठाडा भएका थिए । उनीहरूले मुख मिठ्याइरहेको, अनुहारमा कुटिल प्रशन्नता छाएको मैले अनुभूत गरिरहेँ ।

निवेदन लेख्न भनियो– लेखेँ । दर्ता कोठामा जान भनियो– गएँ । त्यसपछि एक घण्टा पछि आउन भनियो ।

यो एक घण्टाका बीचमा म सार्वभौमसत्ताधारी जनतालाई हायल–कायल पारियो । अर्थात् त्यो ‘यस जग्गामा घर छैन’ लेख्नलाई दुईहजार नजराना दिनुपर्ने अरे । नत्र त ‘घर छ कि छैन हाम्लाई के थाहा’ अरे । नत्र त ‘जग्गामा पुग्नु पर्छ‘’ अरे । ‘पुुगुम् न त पुुगुम्, हेरूम्’ भन्दा ‘कहाँ अहिले जाने– पहिला क्यूमा बसेका अरूहरूकहाँ जानु प-यो नि, अरू काम पनि छन्, यही मात्र काम छ र हाम्रो ?, पहिला अरू काम सक्नु प-यो नि, तपाईंको कामका लागि फुर्सत् निकाल्नु पर्छ– त्यसका लागि ५, ७ दिन पर्खिनुहोस्’–अरे ।

नत्र त दुईहजार, मात्र दुईहजार– अरे । अर्थात् दुईहजार दिए एकघण्टापछि नै तु हातमा मालपोतलाई लेखिदिएको पत्र– अरे । नभए त ‘यो काम हुन्छ नि, हामी हुँदैन भन्दैनौं, हुन्छ नि भोलि भरे’–अरे ।

धम्क्याइयो पनि— ‘ऊ त्यो देख्नु हुन्छ, १० वर्ष जङ्गल बसेर आएका जङ्गलबासी हुन् !’ मैले इसारा गरेपट्टि हेरेँ— एकजना टाटेपाटे वस्त्रमा सुसज्जित मान्छे मतिर हेर्दै कुटिल हाँसो हाँसिरहेको थियो ।

“हो, उहाँ अहिले यस नगरपालिकामा सक्रिय कर्मचारी, उहाँको सबथोक चल्छ यहाँ ।”

“के सबथोक चल्छ ?” बुझ्न मुख फोडेँ ।

“सबथोक भनेपछि बुझ्नुस् न, हात पनि चल्छ, लात पनि चल्छ, बात पनि चल्छ । उहाँले भनेको नमान्ने यो नगरपालिका क्षेत्रभरि कुन प्राणी होला !’

म निरीह जनता, नक्कली शक्तिशाली, असली सार्वभौमसत्ता सम्पन्न जनतासित आँखा जुधेपछि रूञ्चे हाँसो हाँसिदिएँ — खिस्रिक्क मुख बाएँ ।

दलाल फेरि बोल्यो— ‘‘ऊ त्यो चिन्नु हुन्छ, मधेस आन्दोलनबाट उभरिएका शक्तिशाली श्रीमान् राम सोहारथज्यू ! उहाँलाई पनि भागवण्डा नगरी तपाईंको त्यो निवेदनरूपी कागजको पत्ता पनि हल्लिंदैन ।’’

त्यो कालो अनुहारसित आँखा जुध्दा म झन् डराएँ । म स्वयम् पनि कालो अनुहारकै भए पनि उसको अनुहार मेरो भन्दा मत्थर कालो भएको भए पनि उसले मेरो आँखामा आँखा गाडेर हाँसेको देखेर मेरो सातो पुत्लो उड्यो ।

दलाल भन्दैथियो— ‘‘रौतहटमा गौर काण्ड थाहा छ नि तपाईंलाई, त्यसको एक सूत्रधार उहाँ श्रीमान् राम सोहारथज्यू नै हुनुहुन्थ्यो…।’’

दलालले फेरि भन्यो— ‘‘अरू पनि देखाउँ भूमिगत रूपमा कृयाशिल भूमिगत संगठनहरूका यस नगरपालिकामा भूमिगत तरिकाले नै नियुक्त कर्मचारी ? उनीहरू त गोजीमैदिउँसै चार इञ्चिको त्यो ‘अथि’ बोकेर हिंड्दछन् । तपाईंको नजराना उनीहरूलाई पनि चढाउनु पर्छ…! देखाउँ उनीहरू मध्येको एउटा नाइकेलाई ?’’

मैले घबडाएर हतार–हतार भने— ‘‘भो पर्दैन, तपाईंको कुरा मलाई मञ्जुर ! तर यसो कम गरेर मिलाई दिउँ न…!’’

‘‘ए त्यो त भइहाल्छ नि…ठिकै छ पन्ध्रसय दिनुस्…!’’

मैले दाँत ङिच्याएँ— ‘‘दुईसय लिनुस् !’’

उसले आग्नेय नेत्रले हे-यो— ‘‘भइगो संगठनमा जाऊँ, त्यहीँ छिनोफानो हुन्छ । यस नगरपालिका भित्रै चार–चार संगठन छन् । भन्नुहोस् कुन्मा जाने हो ?’’

‘‘पर्दैन–पर्दैन, तपाईं नै मेरो ठूलो संगठन । तर अलिकति त अझै मिलाइदिनुस् न – आखिर म तपाईंहरूकै जनता….!’’

‘‘अब भने तपाईं लाइनमा आउनु भयो । अघि नै त्यसो भने त भइहाल्थ्यो नि । लौ बाह्रसय दिनुस्…!’’

‘‘होइन, पाँच सयमा मिलाइदिनुस् न….!’’

उसले फेरि आग्नेय नेत्रले हे-यो। र, भन्यो— ‘‘एकहजार भन्दा एक रुपियाँ घटि पनि हुँदैन । दिए दिनुस्, नभए आफैं भुक्तिनुस् । पछि, केही भयो भने मलाई दोष नदिनु होला…!’’

ऊ उठ्यो । उसको धम्कीलाई झेल्न मेरो पिताम थिएन । दुई हातले उसको पाऊ नै समाउन पुगेजस्तै गरी कम्मर समाएँ र भनें— ‘‘नरिसाउनुस् न, हामी त एकै टोलका हौं नि, हुन्छ एकहजार नै दिन्छु । तर अलिक छिटो काम गराइदिनुस् न है….!’’


दलालले फेरि भन्यो— ‘‘अरू पनि देखाउँ भूमिगत रूपमा कृयाशिल भूमिगत संगठनहरूका यस नगरपालिकामा भूमिगत तरिकाले नै नियुक्त कर्मचारी ? उनीहरू त गोजीमैदिउँसै चार इञ्चिको त्यो ‘अथि’ बोकेर हिंड्दछन् । तपाईंको नजराना उनीहरूलाई पनि चढाउनु पर्छ…! देखाउँ उनीहरू मध्येको एउटा नाइकेलाई ?’’

उसको अनुहार हँसिलो भयो, अत्यधिक हँसिलो ।

‘‘जेहोस्, तपाईं समझदार मानिस नै हुनुहुन्छ ।’’
म उसको अघि पनि खिसिक्क हाँसेँ । म शक्तिशाली जनता उसको अघि थर्कमान भएर खिसिक्क हाँसेको त्यहाँ कसैले देखेन ।

त्यसपछि उसको पछि–पछि म चुम्बकले समातिएझैं गरी खुरूखुरू चलेँ । ऊ अघि–अघि म पछि–पछि ।
कर्मचारीका टेबुलकुर्सीका अघि उभिएर उसले हात बढायो । एकजना जुँगामुठे कर्मचारीले केही नबोली खामबन्दी पत्र उसको हातमा राखिदियो ।

उसले तत्पश्चात् मेरो आँखामा हे-यो र इसारा ग-यो । उसले दाहिने हातमा खामबन्दी पत्र समातेको थियो र देब्रे हात मतर्फ पसा-यो ।

मैले खुरूक्कन रु.एकहजारको नोट उसको हातमा राखिदिएँ । त्यसपछि मात्र, हो रु.एकहजारको नोट उसको हातमा राखिदिए पछि मात्र उसले मलाई त्यो खाम हस्तान्तरण ग-यो ।

त्यहाँ सबै कर्मचारीका ओठ हाँसेका थिए । दलालले मलाई भन्यो— ‘‘हामी कुरा गर्छौं तपाईं जानुहोस्, काम सकियो….!’’

म सार्वभौमसत्ता सम्पन्न जनता त्यसपछि लुरूलुरू लागेँ । म सार्वभौमसत्ता सम्पन्न जनता सार्वभौमसत्ता सम्पन्न जनताको नोकरबाटै लुटिएँ र थकित, त्रसित, अनुहार मलिन पार्दै माल अड्डातर्फ लागेँ ।

मालअड्डामा पनि एउटा दलाल प्रकट भयो । उसले पनि सातआठसय जति लुट्यो ।

म सार्वभौमसत्ता सम्पन्न मुलुकको जनता चुपचाप लुटिएँ । त्यसदिन मैले आफ्नो जग्गा बिक्री त गर्न सकेँ तर यस क्रममा मैले आफ्नो हैसियतराम्ररी चाल पाउन सकेँ । ममा निहित रहेछ अरे सार्वभौमसत्ता– यो व्यङ्ग्यवाण हो कि यथार्थ, जवाफ कसले दिने ?

अस्पताल पुगेको छु । डाक्टरको बोर्ड झुण्ड्याइएकोमुनि डाक्टर पर्खिएर बसिरहेको छु । डाक्टर रमेश मुडभरी….! आउलान् नि त — नौबजे आउनु पर्ने छैन, १० बजे आउनु पर्नेछैन, ११ बजे हल्लिंदै आए । पालेले अघि त सबैको पूर्जा संकलन ग-याथ्यो तर अहिले बेपत्ता भयो । डाक्टर आउने बेला एक–एक गरी विरामी बोलाउनु पर्ने पाले बेपत्ता । सबै ह्वार–ह्वार डाक्टरकहाँ पसे ।

त्यही बेला पाले आयो र सबैलाई धकेलेर बाहिर निकाल्यो ।

मैले भनें— ‘‘होइन पाले दाइ, कहाँ हराउनु भाथ्यो ? हेर्नुस् त भीड…।’’

उसले उल्टै यत्रो–यत्रोआँखा फुकालेर हे-यो र भन्यो— ‘‘चिया खान पनि जान नपाउनू ?’’

मलाई खुसुक्क अर्को एकजना भाइले कानमा भने— ‘‘ए दाइ, यिनीसित मुख नलाग्नुस् ! यो अस्पतालको युनियनका सचिब हुन् यिनी । स्वाँठ छन् । डाक्टरलाई ‘लौ जानुस् डाक्टरसाब’ भन्दै पठाइदिएर ढोका बन्द गर्दै सबै विरामीलाई लखेट्न बेर लाउँदैनन् ।’’

मैले अचम्म मानेर भाइको मुखमा हेरेँ । उनले फेरि भने— ‘‘पत्याउनु भएन ? एकदिन यस्तो घटना मैले स्वयं भोगेको छु । अनि त्यसबेला म कम्प्लेन गर्नु प-यो भनेर कहाँ छ संगठनको कोठा भन्दै खोज्दै त्यहाँ पुगेको त यी पाले दाइ पहिल्यै त्यहाँ पुगेर बसिराखेका ।

मैले समस्या भन्न यसो मुख के खोलेको थिएँ सबैले मलाई उल्टै उडाए— गिल्ला गरेर हाँसे । यी पाले दाइ त्यतिबेला गजक्क परेर, ठालू पल्टेर मन्द–मन्द मुस्कुराइरहेका थिए…!’’

मलाई भाइको कुराले भाउन्न छुटायो । मुख बन्द गरेँ । त्यसपछि जब डाक्टरकहाँ छेऊमा पुगेँ झन् छक्क परेँ । बाहिर बोडमा नाम लेखिएका डाक्टर रमेश मुडभरी यी होइन रहेछन् । यिनी त दलाल डाक्टर रहेछन्, प्रत्येकलाई यसो हेर्दै नाम लेख्दै अरू सिनियर डाक्टरकहाँ निजी क्लिनिकमा ‘रेफर्ड’ गरिदिने यिनको प्रमुख ‘धन्दा’ रहेछ । सानोतिनो रोगमा यसो औषधि लेखिदिइहाले भने पनि धन्य मान्नु पर्ने रहेछ ।

ती अघिका भाइसित मेरा फेरि आँखा जुधे । उनको आँखाले भनिरहेजस्तो लाग्यो— ‘के गर्नुहुन्छ दाइ, यहाँ यस्तै छ । उजुर गर्ने कहाँ ? संगठन उनीहरूकै । हामी निरिह जनताको खोइ संगठन ?’

मलाई भाउन्न छुट्यो । ती जुनियर दलाल डाक्टरले मेरो पुर्जीमा ‘रेफर्ड टु डा.रमेश मुडभरी’ लेखिदिइसकेका थिए । र, मुखले लाजैनमानी भनेका थिए— ‘‘डाक्टर रमेश मुडभरीको क्लिनिक देख्नु भएको छ होइन, चोकबाट सिधा उत्तर जाने, छेऊमै दुइतले घर छ, त्यसकै माथि….!’’

एउटा साहुजीको किराना दोकान ।

‘‘साहुजी ! चिनी चाहियो, के भाऊ ?’’ साहुजीले मेरो मुखतिर आँखा गाडेर हे¥यो, मानौं मनमनमा मलाई तौलियो— ‘यसलाई कति भन्दा ठीक होला ?!’

त्यसपछि अलिकति अकडिएर बोल्यो— ‘‘पचासी रुपियाँ किलोे !’’

मैले टाउकोमा हात राखेँ— ‘‘उफ् यो भाऊ पनि के भाको, ऊ त्यो पर्तिरको अर्को पसलमा अस्सी भन्छ त अस्सी ?’’

‘‘लिनु न त उहीँ, हामीलाई किन परेशान गर्ने !’’

ठीक यसैगरी आजभन्दा २२ वर्ष अघि, छियालिस साालको परिवर्तन पछि मैले ‘म जनता हुँ, सार्वभौमसत्ता सम्पन्न जनता बाबै’ भनेर रौशिंदै ‘बढी भाऊ लिन पाईंदैन, बुझ्नुभयो । यो पञ्चायतकाल होइन, प्रजातन्त्रकाल हो’ भन्दै औंलो ठड्याएको सम्झिएँ । उतिबेला एउटा पुलिस अफिसर आएको थियो त्यहाँ । उसलाई पुलिसले भनेको थियो— ‘‘ठीक छ होइन साहुजी ! केही समस्या त छैन ?’’

साहुजीले ‘हेँ हेँ हेँ’ गर्दै पुलिस अफिसरका अघि ५५५ अर्थात् थ्रि फाइब सिगरेटको डिब्बा बढाउँदै भनेको थियो— ‘‘हेर्नु न हजुर, उहाँलाई भाऊ बढ्ता लागेछ…!’’

नगरपालिकाको त्यसै वडाको वडा अध्यक्ष रमेश शर्मा पनि पान चपाउँदै साहुजीका समिप आइपुगेको थियो । साहुजी उसैगरी ‘हेँ हेँ हेँ’ गर्दै बोलेको थियो— ‘‘किन न उहाँलाई सुपथ मूल्यको पसल नखोलिदिने हजुर…?’’

सबै गललल हाँसेका थिए । त्यतिबेला पनि म मेरो सार्वभौमसत्ताको खिल्ली उडाइएको पीडाले रन्थनिएको थिएँ । सहिद संझिएको थिएँ— यो परिवर्तनलाई साहुजी, पुलिस अफिसर र जनताको प्रतिनिधि भनिएको वडा अध्यक्षले चपाइरहेको अनुभूत गरेर सहिदको नाममा दुई थोपा आँशु चुहाएको थिएँ ।

अहिले त जनप्रतिनिधि पनि छैन ।पुलिस अफिसर पनि ठीक यसैबेला आइनपुगेको अवस्था छ ।

अचानक मलाई के भयो यतिबेला, म साहुजीलाई औंलो ठड्याउँदै कड्किएँ— ‘‘बुझ्नु भो, यो पञ्चायतकाल पनि होइन, संबैधानिक राजतन्त्रकाल भनिएको काल पनि होइन, गणतन्त्रकाल हो । अलिकति पनि अरू कसैको हातमा सार्वभौमसत्ता निहित नभएको काल ! साराका सारा सार्वभौमसत्ता म अर्थात् जनतामा निहित भएको काल । तपाईंले मलाई ठग्न पाउनु हुन्न । म तपाईंको दोकानमा किन्छु अरे, के गर्नु हुन्छ ? मलाई कसरी ठग्नु हुन्छ हेरौं त….!’’

मेरो कन्पारा तात्तिंदै थियो। रमिता हेर्ने मान्छेहरूको ताँती लाग्यो । एकजना आगो भएपछि अर्को पानी भइदिनु नि भन्ने गरिन्छ क्यारे तर अहँ साहुजी के खाएर पानी हुन्थ्यो नि ! ऊ त झन् दुई वित्ता उफ्रिएर ‘आगो’ भयो ।

चिच्यायो— ‘‘भाइयोँ, यी आदमी हमको आँखे दिखा रहा है ! इसको बताना पडेगा….!’’

चारैतिरबाट पसलेका साहुजीहरू जुटे । अहँ, रमिते मजस्ता सार्वभौमसत्ता आफैंमा निहित भएका जनता जनार्दनहरू चुईंक्क बोलेनन् । बरु उनीहरू स्यालको शिरबाट सिङ गायब भएझैं छिन्मै गायब भए ।

मलाई क्रान्तिकारी पसलेहरूको झुण्डले घे-यो । कसैले ‘‘क्या है रे, ए तेरा राज है ? तुँ आँख दिखाता है ?’’ भन्दै हातले धक्कम धक्का लगाउँदै कुट्न खोजे । कसैले उत्निखेरै मेरो काननेर मुख जोत्दै भन्यो— ‘‘भागिहाल्नुस्, अहिले दुकानको संगठनको अध्यक्ष आइहाल्छ त झन् अप्ठ्यारो हुन्छ…!’’

मेरो जागृत सार्वभौमसत्ता सम्पन्न सोच निमेषमै हायलकायल भयो। ‘भाग ज्यान जोगा ! ज्यान बचे तो लाख उपाय’ भन्दै तत्काल बेतोडसित कुलेलम ठोकेँ ।

पछिबाट हाँसोका फोहरा छुटे— ‘‘भाग गया साला…!’’

त्यो ‘भाग गया साला’ ले मलाई लखेटिरह्यो ।घर नपुगुञ्जेल मलाई विथोलिरह्यो ।

त्यसपछि नै हो म घरमा आएर ओछ्यानमा डङ्रङ्ग ढलेको ।

श्रीमती कमलाले मेरो ताल देखेर हतार–हतार टाउको छुन आइन्— ‘‘के भयो, सञ्चो भएन कि ? खोइ चिनी त ल्याउनु भएन त । भोलि बिहान चिया नखाने हो ?’’ एकातिर माया र अर्कोतर्फ कचकच दुवैको फ्युजनले मेरो टाउको झन् रन्थनियो ।

त्यसैबेला मोबाइल बज्योे । नम्बर हेरेँ, अहँ नाम छैन…!

‘‘हेलो ?’’

एक्कासी उताबाट आवाज आयो— ‘‘तपाईँलाई खुब आजकाल अधिकारको भूत चढेछ अरे, होश गर्नुहोस् । जमाना खराब छ । अधिकारको बोली बोल्नेहरूलाई थाहै नपाई गोलि लाग्ने गरेका छन्— होश गर्नुहोस्…!’’

मेरो हातबाट खुत्रुक्क मोबाइल खस्यो । जिऊ एकतमासले डरले सिथिल भयो । दिमागको पारा त चढेर कहाँ पुग्यो कहाँ — पसिनाले पनि निथ्रुक्कै…!

श्रीमती भान्साबाट फेरि कुद्दै आइन् र बोलिन्— ‘‘के भयो भन्या ? सारा देशको ठेक्का तपाईंले लिनु भा छ ?नगर्नुस् न यस्ता कुरा भन्या होइन ? सुने पो…!’’

फेरि थपिन् — ‘‘बरु संगठन खोल्नुस् तपाईं पनि….छ तपाईंको कुनै संगठन ? अनि त हेप्छन्…?’’

मलाई भने मोबाइलको धम्कीले तर्साइरह्यो, मन ढुक–ढुक हुनेगरी जिऊ फुलिरह्यो ।

त्यसदिन पश्चात मेरो मनमा कहिल्यै सार्वभौमसत्ताको भूत चढेन। ज्यान गए, मैले ममा सार्वभौमसत्ता निहित छ भनेर सार्वभौमसत्ताको ‘स’ पनि उच्चारण गरिन ।

त्यो दिन देखि सिलाई भएको मेरो मुख अहिले पनि सिइएकै छ । टेन्सन छैन— आनन्दमा छु…!

SHARE
mm
कविता, निवन्धमा पनि कलम चलाउने नारायण तिवारी राम्रा कथाकार हुन् ।

तपाईंको प्रतिक्रिया