न्यूयोर्कको महावाणिज्यदुतावासमा एक घण्टा..

अमेरिकाको न्यूयोर्कको नेपाली महावाणिज्यदूतावास कार्यालयमा लेखिका

एउटा जरुरी कामले बिहान १० बजेतिर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क जादैँ थिए । अन्य दुईवटा कामको लागि २ बजे भित्र ज्याक्सन हाईट पुग्नै पर्ने भएकोले समयमा त्यहाँको काम सकिएला कि नसकिएला भन्ने चिन्ताले मेरो दिमाग खाइरहेको थियो ।

पहिला खाली देखिने कन्सुलेट अफिस म पुग्दा ब्यस्त थियो । यसले नेपाली समुदाय अमेरिकामा दिन प्रतिदिन ठुलो बन्दै गएको महसुस भयो ।

बिदाबाहेकका दिनमा प्राय सबै आफनो काममा ब्यस्त हुने हुँदा कन्सुलेट अफिसमा चाप कम होला भन्ने सोचेर म आज अफिस लाग्ने दिन त्यहाँ पुगेकी थिएँ । तर त्यस्तो नपाउदा काम नसकिएला भन्ने चिन्ता लाग्न थाल्यो ।

यसरी चिन्ता लिँदै सरासर आफनो कामका लागि सोधपुछ शाखामा गएँ । त्यहाँ बसेका (एकजना दिदी र एक जना भाई) को ‘वेलकमिङ नेचर’ र मिठो बोलीले दुबै हाम्रै सेवाको लागि पर्खिरहेको महशुस गरायो । नेपालका कर्मचारीहरुको रुखो ब्यवहार देखेको मलाई त्यहाँको वातावरणले आश्चर्यमा पारिरहेको थियो ।

त्यहाँको अनुमति लिएर वाणिज्यदूत कृसु क्षेत्री र सह –वाणिज्यदूत प्रविण भट्टराईलाई भेटेँ । न्यूयोर्कको नेपाली समुदायले गर्ने कार्यक्रमहरुमा कहिलेकाहिँ भेट्दा चिनजान भएकाले दुवैसँग सहज कुरा राख्न मलाई गाह्रो परेन । त्यसपछि मलाई एउटा फारम भर्न भनेपछि भरेर दिएँ । फारम बुझाउदै गर्दा अब अनेक कागजपत्र माग्ने होलान् वा भोली÷पर्सी आउनु भन्ने होलान् भन्ने चिन्ताले मेरो मन खाइरहेको थियो । तर, एकैछिन मात्र बस्न भनियो । त्यो एकछिन २–३ घण्टा हुने होला भन्ने पीर गर्दै म सेवाग्राहीका लागि राखिएको कुर्सीमा पर्खन थालेँ ।

१५ मिनेट पनि पर्खाई नसकिदै मेरो काम सकिन लागिसकेको थियो । यस्तोमा, मेरो चिनजानको कारण वा महिला भएकोले मेरो काम सहज बनेको होला भन्ने सोच मेरो दिमागमा आयो । तर, मेरो सोच गलत भएको एकैछिन पछिका घटनाहरुले स्पष्ट पारिहाल्यो । त्यसैबीच, कार्यालयमा आएका एउटा सानो भाईले त्यहाँ ‘प्रवीणजी’ भनेर सम्वोधन गरेको सुनें ।

‘तपाईको राहदानीमा के सच्याउनुपर्ने हो राम्ररी सच्याउनु होला, नत्र फेरी अर्को झमेला पर्न सक्छ’ प्रवीणजीले अर्का कर्मचारीलाई त्यो भाईको फाईल झिकेर छिटो काम गर्न आग्रह गरे । हेर्दा सोझो लाग्ने र कम बोल्ने ती भाईको काम नेपालका सरकारी कार्यालयमा यसरी सजिलै हुन्थ्यो होला ? मेरो दिमागमा आयो ।

त्यसबीच ४,५ जनाले मेलै हेर्दाहेर्दै काम सकाएर गए । म सहित ८, ९ जनाको काम प्रवीणजीले क्याबिन छाडेर बाहिर वेटिङ एरियामै जाँगर लगाएर फटाफट गर्दै थिए । अरु चार जना कर्मचारी पनि कोही फुर्सदमा देखिदैनथे ।

त्यो शैलीले त्यहाँ सबै हाम्रै सेवाको लागि खटिएको मलाई महशुस भयो । त्योसँगै त्यहाँको कार्यशैलीले मलाई को सानो र ठूलो ओहोदाका हुन् भनेर छुट्याउन पनि ग्राहो परिरहेको थियो ।
जुनसुकै तहका भएपनि त्यहाँका सबै कर्मचारी एकै जसरी आदर र नम्र भएर कुरा गरिरहेका थिए । नेपालका सरकारी कार्यलयमा जसरी हाकिमले पियनलाई बोलाउने, हकार्ने, गाली गर्ने शैली त्यहाँ देखिदैनथ्यो ।

यसरी एक घण्टाभित्रै काम सकाएर नेपाली महावाणिज्यदूतावासको कार्यालय न्यूयोर्क, म्यानह्याटनबाट ज्याक्सन हाईट लागँे । बाटोमा मेरो मनमा नेपालका सरकारी कार्यालयमा सेवाग्राहीले पाउने दु्ख, सानो कामको लागि दिनदिनै धाउनु पर्ने झञ्झट, घाम तापेर बदाम खाँदै गफ चुट्ने कर्मचारीहरुको प्रवृति र हाजिर गरेर तास खेल्न पुग्ने कर्मचारीहरु घुमिरहेका थिए ।

आफ्नो देश मन पर्छ भन्नेमा कुनै शंका छैन । तर, गतिलो कानून र प्रणली नहुँदा अनि कानून र प्रणालीभन्दा कोही माथि छैन भन्ने सिद्धान्त लागू नहुँदा चित्त बुझ्दैन । यस्तै सोच मनमा खेलाउँदै गर्दा अर्काे जरुरी काममा पुग्ने बेला पनि भइसकेछ ।

तपाईंको प्रतिक्रिया