सतीशको कविता संग्रह ‘रङ्ग महिमा’ बिमोचित

सतीश क्षत्री

सन् २००३ मा आफ्नै गायन, गीत र संगीत रहेको एल्बम ‘सौगात’ निकालेका युवा पत्रकार सतीश क्षत्रीले भर्खरै ५५ कविताहरूको संगालो ‘रङ्ग महिमा’ प्रकाशित गरेका छन् ।

सन् २००७ मा ‘आँखाहरू साह्रै दोषी हुन्छन्’ प्रकाशित गरेका उनको अहिलेको कृति दिल्लीस्थित साहित्य एकेडेमीले प्रकाशित गरेको हो । जसको भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङस्थित गोर्खा जन पुस्तकालयमा आइतबार भव्य कार्यक्रमबीच विमोचन भयो ।

पत्रकार एवं साहित्यकार बिमल राईको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा कवि एवं समालोचक जय क्याकटस् मुख्य अतिथि थिए भने कवि कालुसिंह रनपहेँली र तारा बहादुर क्षेत्री विशिष्ठ अतिथि थिए । कविहरु विनोद रसाइली र श्रीमती उषा किरणले उद्घोषण गरेको सो कार्यक्रममा ‘रङ्ग महिमा’ माथी वक्ताहरुले आफ्ना धारणा राखेका थिए ।

कवि एवं नाटककार राजु प्रधान हिमांशु, मिलन बान्तवा र भुपेन्द्र सुब्बा प्यानलिष्ट रहेको सो कार्यक्रममा ‘रङ्ग महिमा’ले आध्यात्मिक साथै जिवन दर्शनलाई समेट्दै समसामयिक विषयहरूलाई नयाँ शैलीमा प्रस्तुत गरेको धारणा वक्ताहरुबाट आएको थियो ।

क्षेत्रीको सन् २०१० मा पूर्णाङ्की नाटक ‘भीरको घर’ मञ्चन भइसकेको छ भने दर्जनभन्दा बढी एकाङ्की नाटकहरू लेखेर उनले निर्देशन गरिसकेका छन् ।

सञ्जय प्रधान, दार्जिलिङ

तपाईंको प्रतिक्रिया