बेलायती जनमत संग्रहको निर्णयले बेलायतलाई राम्रो गर्नेछ

यूरोपियन यूनियनमा अब टर्की, मेसोडोनिया, क्रोयेसिया, कोसोभो, वोस्निया सहित अन्य केही देश सदस्य बन्दै छन् । टर्की एक्लैको जनसंख्या वेलायतको भन्दा धेरै छ । सदस्य बनेपछि त्यहाँबाट पनि जनसंख्या ओइरिने वेलायतमै हो । ती देशहरु यूनियनको सदस्य बनेपछि एनएचएसमा आकस्मिक सेवालिन ६ घन्टा पालो पर्खनुपर्ने अनुमानित तथ्यांक विभिन्न संस्थाले सार्वजनिक गरेका छन् ।

वेलायतवासी नेपाली हुँ । वेलायतले यूरोपियन यूनियनको सदस्यता त्याग्ने किन त्याग्ने भनेर जनमत संग्रह हुँदा मैले त्याग्ने पक्षमा मत दिएँ । किनभने यूनियन त्याग्नुमै मैले वेलायतको भलाइ देखें ।

यूरोपियन यूनियन त्याग्ने वेलायती जनमत संग्रहको निर्णयले विश्वव्यापी तरंग ल्याएको छ । नेपालमा पनि यसबारे ठूलो चासो राखियो । वेलायतमा मताधिकार भएका नेपालीमध्ये धेरैले कुन पक्षमा मत दिए होलान् भन्ने पनि नेपालमा चासो रहेको पाएको छु ।

गोप्य मतदान भएको हुनाले कता धेरै मत गयो भनेर यकिनसँग भन्न सकिन्न। तर, मताधिकार भएका यहाँका नेपालीहरुसँगको कुराकानी, चुनाव अगाडि र पछाडिको माहौल हेर्दा मलाई के लाग्छ भने यूरोपियन यूनियनमा बस्नुपर्छ भन्ने पक्षमा धेरै मत गएको हुनुपर्छ । यूनियनमा बस्नुपर्छ भन्ने पक्षमा साठी प्रतिशत र त्याग्नु पर्छ भन्ने पक्षमा चालीस प्रतिशत मत गएको हुनुपर्छ ।

बहुमत वेलायतीले कुनै एउटा कारणले मात्र यूनियन त्याग्ने पक्षमा बहुमत दिएका होइनन् । यसका निम्ति विभिन्न कारण जिम्मेवार छन् ।

युनियनमा बस्नुको पीडा

बाँकी विश्वका आँखाबाट हेर्दा यूनियन त्याग्ने वेलायती जनमत संग्रहको निर्णयबारे अर्कै देखिएला । तर, यूनियन त्याग्नुपर्ने निर्णय वेलायती आँखाबाट मैले ठिक देखेको छु । यूरोपियन यूनियनमा वेलायत धेरै पछाडि मात्र सहभागी भएको हो । यूनियनमा सहभागी भएकै कारणले वेलायतको आन्तरिक समस्या बढ्दै गएको थियो ।

युनियनमा सहभागी भएपछि अंग्रजी भाषी देश भएकाले वेलायतमा आप्रवासन अत्याधिक बढ्यो । खासगरी पूर्वी यूरोपबाट धेरै मानिस वेलायत आए । अदक्ष कामदारहरु आए । यूनियनको सदस्य राष्ट्रहरुमा स्वतन्त्र आगमन गर्न पाउने अधिकारका कारण वेलायतमा जनसंख्यासँगै यहाँको सामाजिक सुरक्षा अन्तर्गतका सेवाहरुमा थामिनसक्नु चाप बढ्यो ।

उदाहरणका लागि (नेशनल हेल्थ सर्भिस) एनएचएस लाई लिन सकिन्छ । यो भनेको वेलायतको सरकारी स्वास्थ्य सेवा हो । अधिकांश वेलायती एनएचएसको निशुल्क र उत्कृष्ट सेवामा निर्भर छन् । एनएचएसका अस्पतालहरुमा अहिले आकस्मिक सेवालिन तीन घन्टा पालो कुर्नुपर्ने अवस्था छ ।

यूरोपियन यूनियनमा अब टर्की, मेसोडोनिया, क्रोयेसिया, कोसोभो, वोस्निया सहित अन्य केही देश सदस्य बन्दैछन् । टर्की एक्लैको जनसंख्या वेलायतको भन्दा धेरै छ । सदस्य बनेपछि त्यहाँबाट पनि जनसंख्या ओइरिने वेलायतमै हो । ती देशहरु यूनियनको सदस्य बनेपछि एनएचएसमा आकस्मिक सेवालिन ६ घन्टा पालो पर्खनुपर्ने अनुमानित तथ्यांक विभिन्न संस्थाले सार्वजनिक गरेका छन् । यूरोपियन यूनियनमा भएकै कारणले वेलायतको उत्कृष्ट स्वास्थ्यसेवा लिन यूनियनका सदस्य देशहरुबाट मानिस आउँछन् । कर तिर्ने वेलायती जनता, सेवा लिने विदेशी भन्ने भावना यहाँ छ । यसले सामाजिक असन्तोष बढाएको छ ।

यसबाट अनुमान गरौं, यूनियनको सदस्य भएकै कारण वेलायतमा कति समस्या बढेको छ । अर्काे कुरा शिक्षाको छ । अहिले विद्यालयमा भर्ना पाउन मुस्किल छ । आफू बसेको ठाउँमा विद्यालयमा भर्ना नपाएपछि सन्तानलाई पढाउन कै लागि यहाँका मानिसहरुले बसाईं सर्नुपरेको छ । युनियनमा अन्य देशहरु थपिएपछि वेलायतमा विधालय भर्ना पाउन झन समस्या हुनेछ ।

सामाजिक समस्या

वेलायत प्राचीन देश हो र यसकाआफ्नै मौलिक परम्परा र संस्कृति छन् । आप्रवासनले वेलायतको सामाजिक सांस्कृतिक निरन्तरतामा प्रश्न उठिरहेको छ ।

वेलायतको समस्यालाई नेपालको तराईसँग दाँज्न मिल्छ । तराईमा भारतीयहरुको ठूलो संख्यामा आप्रवासन भइरहेको
छ । यसले गर्दा नेपालीहरु अल्पमतमा पर्ने खतरा छ । यसले गर्दा तराईका रैथाने मधेसी समुदाय पनि गैरभारतीय भनिन थाले । रैथाने मधेसी अल्पमतमा पर्ने र आप्रवासी भारतीय बहुमतमा हुने अवस्थाले तराईमा समस्या जन्मियो । वेलायतमा ठ्याक्कै यस्तो अवस्था त छैन तर चिन्ताको स्वरुप भने यही हो ।

बरु एसियाबाट आएकाहरु राम्रोसँग अंग्रेजी भाषा जान्दाछन तर आप्रवासी यूरोपेलीहरुले जान्दैनन् । भाषा नजाने पनि यूरोपियन यूनियनको देशका नागरिक भएकाले उनीहरुले सेवा तथा रोजगारमा प्राथमिकता पाउँछन् । अंग्रेजी राम्रो जानेका नेपाली तथा अन्य देशका मानिस वेलायतमा तेस्रो दर्जाको भएका छन्,यूनियनको सदस्य देशका मानिस चाहिँ असक्षम भएपनि दोस्रो दर्जाको भएका छन् ।

यूरोपियन यूनियन त्यागेपछि अब वेलायतले यूनियनका सदस्य राष्ट्रका मानिसहरुलाई रोजगार र सेवा दिनुपर्ने बाध्यता रहँदैन । नेपाली सहित अन्य मुलुकका मानिसले वेलायतमा प्रतिस्पर्धामा रोजगार पाउने अवस्था हुन्छ ।

उभिन्छ वेलायत

यूनियन त्यागेपछि वेलायतको अर्थतन्त्र खतम हुन्छ, विकास ठप्प हुन्छ भनिँदैछ तर मलाई यो कुरामा पटक्कै विश्वाश छैन । किनभने वेलायतले आजको प्रगति यूनियनको सदस्य नभएको बेलामै गरिसकेको हो ।

यूनियनको सदस्य नरहेपछि पनि वेलायतले बाँकी यूरोपसँग व्यापार र आर्थिक कारोबार जारी राख्नेछ । वेलायतले यूनियनमा ठूलो धनराशी दिइरहनुपरेको थियो, अब दिन पर्दैन । अदक्ष कामदार पनि स्वीकार्नुपर्ने बाध्यता थियो, अब दक्ष कामदार मात्र लिए भो । अब सामाजिक सुरक्षामा हुने खर्चको वृद्धिदर पनि कम हुँदै जानेछ । मुख्य कुरा, वेलायतसँग एक्लै उभिनसक्ने आँट र सामथ्र्य छ ।

वेलायत र यूरोपका बाँकी देश अविभाज्य छन् । कसैले चाहेर या नचाहेर यो सम्बन्ध टुट्न सक्दैन । यूरोपियन युनियनन हुँदापनि वेलायत र बाँकी यूरोपको सम्बन्ध थियो । अब युनियनको सदस्य नरहेपछि पनि सम्बन्ध रहिरहने छ । आपसी व्यापार रहिरहने छ । राजनीतिक र संगठनात्मक आवद्धता फेरिएको हो, वेलायत र यूरोपको भूगोल फेरिएको होइन । त्यसैले युनियन त्याग्ने वेलायती निर्णयले केही समय समस्या पनि होला तर यसले दिर्घकालीन समस्या ल्याउँदैन ।

युनियन त्याग्ने निर्णयले किन पनि समस्या ल्याउँदैन भन्ने नर्वे उदाहरण छ । नर्वे युनियनको सदस्य छैन । तैपनि युनियन र नर्वे दुवैलाई फरक परेको छैन ।

घुमघामको कुरा र भविष्य

केही नेपाली साथीहरुले बिनाभिसा यूरोप घुम्न पाईंदैन भनेर यूनियनमै रहने पक्षमा मत दिएको बताए । थोरै खर्चमा विदा मनाउन यूरोपका विभिन्न देश घुम्न जाने चलन वेलायतमा छ । वेलायतीले यूरोपका बाँकी देश र यूरोपका देशहरुले वेलायत आउजाउ गर्नका लागि समस्या हुन्छ भन्ने मलाइ लाग्दैन । कतै घुम्न जानपाइने सामान्य स्वार्थका आधारमा मत दिन मलाइचाहिँ मन लागेन । नेपाल मेरो मातृभूमि हो, वेलायत पितृभूमि हो । वेलायतको हित हेर्नु मेरो कर्तब्य हो । वेलायतले मलाई रोजगार दिएको छ, वर्तमान दिएको छ, मेरो सन्तानको भविष्य पनि वेलायतले नै दिनेछ । त्यसैले आत्मा साक्षी राखेर वेलायतको सर्वाेत्तम हितको पक्षमा मत दिएँ ।

जसले यूनियनमै रहनुपर्छ भनेर मत दिए, उनीहरुले पनि वेलायतको हित चिताएरै मत दिएको विश्वाश गर्छु । अब
निर्णय भइसकेको छ, वेलायत र बाँकी विश्वले शान्ति, प्रगति र विश्वमानवको कल्याणका लागि मिलेर काम गर्नुको विकल्प छैन ।

SHARE
mm
अहिले वेलायतमा बसोबास गर्ने बर्मा खनाल विगतमा नेपालमा शिक्षण पेसामा आवद्ध थिए ।

तपाईंको प्रतिक्रिया