खेलमा प्रायोजन लिन हुने, साहित्यमा किन नहुने?

नेपाली कला साहित्य डट कम प्रतिष्ठानले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेको
छ । यो सहकार्यलाई साहित्यिक संस्था र कर्पाेरेट व्यापारिक कम्पनीको सहयात्रा उचित होइन भन्नेहरू पनि छन् । प्रतिष्ठानको अध्यक्षको नाताले म दावीसाथ भन्छु– यो सहकार्य जायज मात्र नभएर उत्कृष्ट पनि छ ।

साहित्य सार्वकालिक हुन्छ । समाजका हरेक अवयव एक अर्कासँग अन्र्तसम्बन्धित हुन्छन्; जसरी आफूलाई सम्पूर्ण हेर्न अन्तर्दृष्टि सहितको अरूकै आँखा चाहिन्छ ।साहित्य र व्यापारिक संस्थाको पनि समाजमा त्यस्तै व्यावहारिक सम्बन्ध आवश्यक हुन्छ । यसरी सम्बन्ध निर्माण हुँदा मात्र साहित्यिक संस्था र नाफामूलक व्यापारिक कम्पनीले सुन्दर र न्यायसङ्गत सहयात्रा गर्न सक्छन् ।

यसै सन्दर्भमा, नेपाली कला साहित्य डट कम प्रतिष्ठानले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य गरेको
छ । यो सहकार्यलाई साहित्यिक संस्था र कर्पाेरेट व्यापारिक कम्पनीको सहयात्रा उचित होइन भन्नेहरू पनि छन् । प्रतिष्ठानको अध्यक्षको नाताले म दावीसाथ भन्छु– यो सहकार्य जायज मात्र नभएर उत्कृष्ट पनि छ ।

सहयात्राको नाममा व्यापारिक कम्पनीसँग नाम गाँसेर पुरस्कारको नाम राख्न हुँदैनथ्यो कि भनेर उठाइएको प्रश्नमा मेरो प्रतिप्रश्न छ– एउटा फुटबल क्लबले कर्पाेरेट कम्पनीसँग नाम गाँसेर प्रायोजन लिनहुने, साहित्यिक संस्थाले लिन किन नहुने ? कर्पाेरेट कम्पनीले सुन्दरी प्रतियोगिता प्रायोजन गर्न हुने, साहित्यिक पुरस्कार प्रायोजन गर्न किन नहुने ?

नेपाली कला साहित्य डट कम प्रतिष्ठानले एनएलजीकै सहयोगमा गत पाँचवर्षदेखि प्रकाशन गरिरहेको कलाश्री साहित्य वार्षिकमा प्रकाशित सिर्जनाका स्रष्टाहरूमध्ये एक जना समय र समाजका सशक्त संवाहक स्रष्टालाई समर्पण गरिने कलाश्री सिर्जना पुरस्कारको नाम एनएलजी कलाश्री सिर्जना पुरस्कार राखेको छ ।गत तिन वर्षदेखि हामीले यो पुरस्कार दिँदै आएका छौँ । विगत पाँच वर्षदेखि नै एनएलजी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा एनएलजी विशेष शान्ति कविता गोष्ठी पनि गरिरहेका छौँ । एनएलजीसँगको सहकार्यमा हामीले गरिरहेको यो काम अहिले साहित्यिक जगत्मा उदाहरणीय बनेको छ ।

हो, पुरस्कारको नाममा नै हामीले एनएलजी गासेका छौँ । बक्सिङ प्रतियोगितामा कर्पोरेट कम्पनीको नाम गाँस्नहुने, चुरोट कम्पनीसँग नाम गाँसेर खेलकूद प्रतियोगिता गर्न मिल्ने, रक्सी कम्पनीसँग मिलेर स्वास्थ्य शिविर चलाउन हुने तर साहित्यिक काम गर्न नहुने किन? मेरो फेरि पनि प्रश्न छ ।

हाम्रोमा अहिलेसम्म व्यक्तिले साहित्यिक पुरस्कार या कार्यक्रमको प्रायोजन गर्ने चलन छ । समाजमा कुनै विशेष उचाइ नभएका व्यक्तिको नाममा राखिएका सयौँ पुरस्कारहरू छन् भने एउटा कम्पनीको नामसँग गाँसेर पुरस्कार राख्न किन नहुने ? म भन्छु– एनएलजी मात्र होइन, अन्य प्रतिष्ठित कम्पनीहरू पनि साहित्यिक फाँटमा लगानी गर्न आउनुपर्छ ।

कर्पाेरेट कम्पनीहरूले सामाजिक उत्तरदायित्वको नाममा खर्च गरिरहेका हुन्छन् । खर्च गर्नका लागि सबैभन्दा उपयुक्त क्षेत्र कला साहित्य नै हो । मैले अन्य क्षेत्रमा कर्पाेरेट कम्पनीहरूले लगानी गर्न हुँदैन भनेकी होइन; कला साहित्यलाई लगानीको मुख्य प्राथमिकता दिए भने कर्पाेरेट कम्पनीहरूको ‘ब्रान्डिङ’ मा पनि योगदान हुन्छ ।

समाज परिवर्तन गर्ने तथा समाजको भलाइ गर्ने हो भने सर्वाेत्तम माध्यम साहित्य कला नै हो । यस्तो फाँटमा नेपालका कर्पाेरेट कम्पनीहरूको लगानी असाध्यै थोरै छ । सहयात्रीको हैसियतले एनएलजी साहित्यको फाँटमा आएको छ, उसलाई हार्दिक स्वागत गर्नुपर्छ र अरूलाई पनि आउन प्रेरित गर्नुपर्छ । यसर्थमा एनएलजीलाई प्रतिष्ठान मुरी–मुरी धन्यवाद दिन चाहन्छ ।

बरु, साहित्यिक पत्रिका तथा कार्यक्रमहरूमा मात्र प्रायोजन गरेर पुग्दैन । कर्पाेरेट कम्पनीहरूले साहित्यिक संस्थासँग संस्थागत सहकार्य पनि गर्नुपर्छ । साहित्यिक फाँटबाट प्रवाह हुने नाम असाध्यै दिगो हुन्छ र छवि निर्माणमा ठूलो योगदान पुग्छ भन्ने कर्पाेरेट कम्पनीहरूले बुझ्नुपर्छ ।

कर्पाेरेट कम्पनीहरू बाहिरी आवरणमा मात्र अल्मलिएका छन्, भित्री मनमा पस्न सकेका छैनन् । साहित्यिक संस्थाहरूसँग सहकार्य गरेर मनभित्र पस्न सक्छन् । स्कुलको छाना हालिदिएर मात्र सामाजिक उत्तरदायित्व पूरा हुन्छ भन्ने छैन । स्कुलमा पढ्ने बालबालिकाको टुहुरो उदास मन अनि त्यही स्कुलमा पढ्ने भविष्यका बैशाखी नै हराएका अभिभावकको मनको शान्तिका लागि योगदान खोइ ? यसका लागि भावनाको दह्रो पुलनिर्माण गर्नुपर्ने हुन्छ; जसका लागि कला साहित्य नै चाहिन्छ; जुन सत्य अँध्यारोमा पनि महसुस गर्न सकिन्छ । यद्यपि स्कुलको छाना हाल्नहुँदैन भनेको होइन तर मनमनमा छाना हाल्नु अनि बज्न नसकेको हृदयको सितारलाई झङ्कृत पार्नु र सङ्गीतमय बनाउनु झन् ठूलो कुरा होइन र !

साहित्यको बजारीकरणलाई अझै पनि पुरातन शैलीमा सोचेर कहीँ पुगिँदैन । समाजमा धेरै ठूलो परिवर्तन आइसक्यो । मानिसले साहित्य कागजमा भन्दा धेरै स्क्रिनमा पढिरहेका छन् । हामी नेपाली कला साहित्य डटकम भनेर अङ्ग्रेजी नेपाली दुबै भर्सनमा वार्षिक वेबपत्रिका प्रकाशित गर्छौैँ । यो वेबसाइटमा प्रकाशित सामग्री एक वर्ष रहन्छ । यसले प्रविधिमार्फत साहित्यलाई पाठक माझ पुराउने कामलाई सजिलो बनाइदिएको छ । यद्यपि, कागजी पुस्तकको बजार घटेको छैन । हाम्रो वार्षिक प्रकाशनकला श्री पाँचवर्ष पहिले जति छाप्थ्यौँ, अहिले त्योभन्दा धेरै गुणा छाप्छौँ ।

समाज र साहित्यको बजारीकरणमा आएको परिवर्तनसँगै हामीले साहित्यिक सहकार्यको नयाँ क्षेत्र खोज्नु परेको छ । यसका लागि ठूला र कर्पाेरेट कम्पनी उपयुक्त छन् । यस्ता कम्पनीहरू आखिर जनताकै धनबाट चलेका हुन् । जनताको धनबाट चलेको संस्थाले मनका लागि योगदान गर्नु उपयुक्त हो । यसले समाज र सभ्यतालाई पूर्णतातफ उन्मुख
गराउँछ । त्यसैले नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले एनएलजीसँग नामसहितको सहयात्रा गर्नु जायज मात्र होइन उदाहरणीय सत्कर्म हो, तर कार्यसम्पादन भने यथासम्भव उत्कृष्ट हुनुपर्दछ । अब अरू साहित्यिक संस्था र कर्पाेरेट कम्पनीहरूले पनि यही पदछापमा हिँड्नु आजको आवश्यकता हो ।

SHARE
mm
मोमिला जोशी राजधानीमा सक्रिय चर्चित कवि हुन् ।

तपाईंको प्रतिक्रिया