मदन भण्डारीको जन्मजयन्तीमा ‘शार्दूल’ प्रकाशित

काठमाडौँ, १३ असार । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा ‘शार्दूल’ शीर्षकको अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनमा ल्याएको छ । भण्डारीको जन्मजयन्ती भोली असार १४ गते पर्छ ।

सो पत्रिकाको प्रमुख संरक्षकमा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली छन् भने प्रधानसम्पादकमा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा तथा कार्यकारी सम्पादकमा डा विन्दु शर्मा र यशोदा अधिकारी रहेका छन् । भण्डारीको भूमिगत नाम ‘श्वेतशार्दूल’ रहेको आधारमा यो प्रकाशनको नाम शार्दूत राखिएको बताइएको छ ।

पत्रिकामा प्रा डा बद्रीविशाल पोखरेल, डा अमर गिरी, डा कृष्णबहादुर थापा, डा डिल्लीराज खनाल, प्रा डा सोम खतिवडा, डा भीम खतिवडा, शान्ता मानवी, श्यामल, जयन्ता पोखरेल, सुदेश सत्याल लगायतद्वारा रचित जनताको बहुदलीय जनवादसम्बन्धी कार्यपत्र, साहित्य, संस्कृति, सङ्गीत, चलचित्र र पत्रकारिता, नाटक, निबन्ध (मदन भण्डारीसँगको संस्मरण), कथा, कविता (मदनका कविता), समालोचना, प्रतिष्ठानका प्रतिवेदन लगायत विषय समेटिएका छन् ।

विसं २०६७ माघ २२ मा स्थापित यो प्रतिष्ठान र पत्रिकाको संरक्षकमा भण्डारीकी छोरी उषाकिरण भण्डारी छन् ।

तपाईंको प्रतिक्रिया