जनैको डर

निधारमा मेटिँदै गएको पहेँलो पहेँलो टीका छ । शरीरमा मोटो न मोटो जनै झुन्डिएको छ । कम्मर मुनि छोटो कछाड छ । त्यसभन्दा तल र माथि वस्त्रको नाममा केही छैन । जाडोले कठ्याङ्ग्रिएका ती मान्छेलाई देखेर हामीलाई अलिकति दया पनि लाग्यो र डर पनि ।

पुस महिनाको जाडो । घाम झुल्किसके पनि त्यसको तापले सुदूर पश्चिमको यस पहाडी बजारलाई छुन सकेको थिएन । डडेल्धुरा सदरमुकाम अमरगढीको आकाश बादलले छोपिएको थियो । चाँडै घाम लाग्ने सम्भावना पनि थिएन । बिहानको चिसोमा अलिअलि सिरेटोको चिसो पनि थपिएझैँ थियो । आकाश धुम्मिएर एक दुई दिन यस्तै भइरहे हिउँ वा पानी पर्ने सम्भावनाको कुरा पनि मान्छेहरू गर्दै थिए । त्यसै त त्यति चिसो छ; त्यसमाथि हिउँ वा पानी परेपछिको चिसो कस्तो होला ?

हामी कोठाभित्र थियौं । बाहिरको तुलनामा कोठाभित्रको वातावरण अलि तातो थियो । चियाको तलतलले बाहिर निस्कने मन त थियो तर आँट थिएन । बाहिर निस्कने कि ननिस्कने भन्ने मन–मस्तिष्कको द्वन्द्वका बिच चियाको तलतल निकै शक्तिशाली बन्यो । त्यही तलतलले हामीलाई कोठाभित्रको कैदबाट बाहिर निकाल्यो ।

‘लौ न, कस्तो चिसो !’ मान्छेहरू सबै यसै भन्दै आ–आफ्नो कामतिर लागि रहेका थिए । कोही पसल खोल्दै थिए, कोही घर–पसल बढार्दै थिए , कोही बाल्टीमा पानी भर्दै थिए , कोही चुल्होमा भाँडा बजाउँदै थिए , कोही सडकमा दौडिँदै थिए, आदि इत्यादि । हामी चिसोको क््रmूरता अनुभव गर्दै एकै छिन कौसीमै उभियौं ।

हामी कौसीबाट तलको सडकतिर हेरि रहेका थियौं । एक जना मान्छे छोटो कछाड मात्र लगाएर अलि परबाट फटाफट आउँदै गरेको हामीले देख्यौं । यस्तो चिसोमा नाङ्गो मान्छे ! हामीलाई अनौठो लाग्यो । हिँड्दा हिँड्दै ती मान्छे हामी बसिरहेको बैङ्क कार्यालयकै अगाडि आइपुगे । उनी जाडोले लुगलुग कामि रहेका थिए । उनको हिँडाइ, शरीरको हाउभाउ र अनुहारको भाव देख्दा लाग्थ्यो – उनी कुनै ठुलै दुख–चिन्तामा परेका छन् ।

उनी बैङ्कको ढोका अगाडि आएर उभिए । यताउति हेरे । ढोकैमा उभिइ रहेका सुरक्षा गार्डलाई तिनले केही सोधे । सुरक्षा गार्डले तिनलाई हामी उभिइ रहेको कौसीतिर पठाइ दिए । उनी हामी उभिइ रहेको कौसीमा आइपुगे ।

निधारमा मेटिँदै गएको पहेँलो पहेँलो टीका छ । शरीरमा मोटो न मोटो जनै झुन्डिएको छ । कम्मर मुनि छोटो कछाड छ । त्यसभन्दा तल र माथि वस्त्रको नाममा केही छैन । जाडोले कठ्याङ्ग्रिएका ती मान्छेलाई देखेर हामीलाई अलिकति दया पनि लाग्यो र डर पनि ।

‘के भयो, कसलाई खोज्नु भयो ?’ मैले ती व्यक्तिलाई सोधेँ ।

‘…….पण्डितलाई खोजेको ।’ उनले भने ।

उनको बोली बुझ्नै गारो थियो । उनले बोलेको अगाडिको शब्दलाई हामीले ठम्याउनै सकेनौं ।
‘को पण्डित ?’ मैले फेरि सोधेँ ।

‘…….. पण्डित ।’ जवाफ त दिए तर उनले बोलेको अगाडिको शब्द हामीले फेरि पनि बुझ्न सकेनौँ । मैले फेरि सोधेँ – ‘को पण्डित भन्नु भएको हो, केही बुझिएन ।’

‘जिब्री पण्डित ।’ उनले अलि ठूलो स्वरमा जवाफ दिए ।

अफिसियल काममा म र अच्युत मल्ल डडेल्धुरा सदरमुकाममा आइपुगेका थियौँ । हाम्रो कामसँग सम्बन्धित दुई जना बाहेक अन्य कर्मचारीलाई हामी चिन्दैनथ्यौं । त्यसैले हामीले जिब्री पण्डित भन्ने मान्छेबारे थाहा नभएको बतायौं । तर तिनले हाम्रो कुरामा विश्वास गरेनन् । उनी एक छेउमा उभिइ रहे । उनी जाडोले कामि रहेकै थिए । कोठाभित्र ओढ्ने थियो । मैले तिनलाई त्यो ओढ्ने दिने विचार गरेँ र सोधेँ –‘ओढ्ने ओढ्नु हुन्छ ?’

‘नाइँ, ओड्दिन ।’ उनले नकारात्मक उत्तर दिए ।

‘जाडो भएको छैन तपाईँलाई ?’ मैले अझै दयाभावका साथ सोधेँ ।

‘छैन ।’ उनले रूखो पारामा जवाफ फर्काए ।

‘कोठाभित्र बस्नोस् न त, जानोस् भित्र ।’ मैले बल गरेर भनेँ ।

‘नाइँ ।’ मेरो त्यस आग्रहलाई पनि उनले ठाडै नकारे ।

उनी को हुन्, नाम के हो, के कामले आएका हुन् भन्ने कुरा हामीले बुझ्न सकेनौं । सुरक्षा गार्डलाई ती व्यक्तिका बारेमा सोध्यौं । उनलाई पनि केही थाहा रहेनछ ।

‘तपाईँ यसरी नाङ्गै कहाँबाट, के कामले आउनु भएको होला ?’ मैले जिज्ञासासहित सोधेँ ।

‘म उता गाउँबाट आएको…. । मेरो नाम अक्कल विष्ट… । जिब्री पण्डितलाई भेट्न आएको… ।’ उनले आधा बुझिने र आधा नबुझिने आफ्नै खालको भाषा र लवजमा भने ।

जिब्री पण्डित भन्ने नामै अनौठो लाग्यो हामीलाई । जिब्री पण्डित भनेको को हो, हामीले चिनेका पनि थिएनौँ । हामीले सुरक्षा गार्डलाई सोध्यौं । उनले पनि चिनेका रहेनछन् । ती सुरक्षा गार्ड पनि अन्यत्रबाट सरुवा भएर भर्खरै आएका रहेछन् । तर पनि जिब्री पण्डित नामको व्यक्ति बैङ्कमा नरहेको कुरा गार्डले बताए । अक्कल बिष्टले भने यो कुरा पत्याएनन् । उनले जिद्दी गर्दै भने – ‘जिब्री पण्डित यहीँ काम गर्नु हुन्छ ।’

अक्कल बिष्टलाई हामीले जिब्री पण्डित नामको व्यक्ति बैङ्कमा नरहेको विश्वास दिलाउने प्रयास धेरै ग¥यौं । तर उनले हाम्रो कुरामा पटक्कै विश्वास गरेनन् । उनले उल्टै हामीलाई ‘झुटा मान्छे’ को आरोप लगाए । हामीलाई अक्कल बिष्टको दिमाग सबै नखुस्किए पनि अलिकति चाहिँ खुस्किएकै हो कि भन्ने पनि लाग्यो । हामी उनीसँग थप कुरा केही नगरीकन तल झ¥यौँ । अक्कल बिष्ट लुगलुग काम्दै कुनामा बसि रहेका थिए । बैङ्कका सुरक्षा गार्ड उनलाई बैङ्कबाट बाहिर निस्कन दबाब दिइ रहेका थिए । तर उती अटेर गरेर त्यहीँ बसिरहे । हामी चिया खान निस्कियौँ ।

पौने एक घन्टापछि हामी फर्कियौं । अक्कल बिष्ट पूर्ववत् उही कुनामा बसि रहेका थिए । उनी त्यस्तो जाडोमा नाङ्गै बसेर कथित जिब्री पण्डितलाई किन खोजि रहेका छन् भन्ने कुरा हामीले बुझ्न सकि रहेका थिएनौं । उनको अवस्था देखेर हामीमा झनै चिन्ता बढेको थियो । चिन्तासँगै उनीसँग रिस पनि उठि रहेको थियो । हामीलाई लागेको थियो – कोठाभित्र बस्न पनि नमान्ने, ओढ्ने ओढ्न पनि नमान्ने र स्पष्ट कुरा पनि नगर्ने के खालका अड्बाङ्गे मान्छे रहेछन् अक्कल बिष्ट !

बिहानको दस बज्यो । एक जना कर्मचारी आए र कार्यालयका झ्याल ढोका खोल्न थाले । हामीले तिनैसँग सोध्यौं – ‘यहाँ जिब्री पण्डित नामको कर्मचारी कोही छ ?’

ती कर्मचारी फिस्स हाँसे । हाम्रो सोधाइको भाषा–शैलीका कारण उनी हाँसेको हुनुपर्छ भन्ने हामीलाई लाग्यो । उनले हाँस्दै जवाफ दिए – ‘उनको खास नाम जिब्री पण्डित त होइन तर बाहिरतिर धेरैले उनलाई त्यसै भन्छन् । उनी बाहिरतिर जिब्री पण्डितकै नामले प्रख्यात छन् । उनी यहाँ काम पनि गर्छन् अनि गाउँघरतिर लटरपटर पण्डित्याइँ पनि गर्छन् । हामी चाहिँ उनलाई पण्डित पनेरू भन्छौं । जिब्री पण्डित भनेको चाहिँ उनलाई अलि मन पर्दैन । तपाईँहरू पनि त्यसो नभन्नु होला । बरू पण्डित पनेरू नै भन्दा हुन्छ ।’

नाम जे भए पनि अक्कल बिष्टले खोजी गरि रहेका जिब्री पण्डित बैङ्कमै काम गर्ने कर्मचारी हुन् भन्ने कुरा स्पष्ट भयो । अक्कल बिष्ट तिनै पण्डितलाई कुरि रहेको कुरा बुझ्नलाई पनि अब गारो भएन । तैपनि एउटा कौतूहलता भने रहि रह्यो – ‘ अफिस खुल्ने समय हो बिहानको दस बजे । दस नबजी कर्मचारी आउँदैनन् भन्ने कुरा पनि सबैलाई थाहै छ । तैपनि अक्कल बिष्टले दुई घन्टा अगाडिदेखि जिब्री पण्डितलाई कुर्नुको कारण चाहिँ के होला ? त्यो पनि नाङ्गै ?’

हामीले लामो समयदेखि जिब्री पण्डितलाई कुर्नुको कारणबारे अक्कल बिष्टलाई सोध्यौं । उनले आफ्नो जनै देखाए । हामीले जनैतिर हे¥यौं । तर केही बुझ्न सकेनौं । दुब्लो, ख्याउटे अनुहार, सुकेको शरीर र खुसीरहित आँखाबाट उनी एउटा गरिबीमा पिल्सिएका व्यक्ति हुन् भन्ने कुरा सहजै बुझ्न सकिन्थ्यो ।

सबा दस बज्यो तर जिब्री पण्डित आइ पुगेनन् । साढे दस बज्यो तैपनि उनी आइ पुगेनन् । झन्डैझन्डै पौने एघार बजे झोलीतुम्बा बोकेका एक जना व्यक्ति कसैलाई नमस्कार गर्दै र कसैको नमस्कार खाँदै बैङ्क अफिसमा प्रवेश गरे । उनको निधार केसरी लत्पतिएर पहेँलै देखिन्थ्यो । उनको लवाइ, बोलीचाली र अन्य ढाँचाकाँचा बैङ्कको कर्मचारी भन्दा पनि जजमानी गर्ने पण्डितको जस्तै थियो । नभन्दै तिनै रहेछन् – अक्कल बिष्टका जिब्री पण्डित !

जिब्री पण्डित आफैँमा अनौठा लागे हाम्रा लागि । त्यहाँ बैङ्कका कर्मचारीका लागि युनिफर्मको पनि व्यवस्था गरिएको थियो । तर उनी युनिफर्ममा थिएनन् । उनी पण्डित पहिरनमै थिए । अफिस पौने घन्टा ढिला आउँदा पनि उनलाई कुनै रोकतोक रहेनछ । उनले आज अफिस आउन ढिलो हुने कुरा अघिल्लै दिन म्यानेजरलाई भनेर गएका थिए रे । आजको दिन उनका लागि भ्याइ नभ्याइको दिन परेछ । एउटा गाउँमा एउटा पितृ–तर्पण कर्म र अर्को गाउँमा अर्को पितृ–तर्पण कर्म भ्याउनु पर्ने । भन्नलाई जिब्री पण्डितले ‘पितृ–तर्पण कर्म’ भने । त्यसलाई हामीले श्राद्धको रूपमा बुझ्यौं । एक बिहानमा दुई दुई वटा श्राद्ध ! दुई वटा गाउँमा पुगेर, दुई वटा पितृ–तर्पण कर्म सिध्याएर उनले अफिस समेत भ्याएका रहेछन् ।

जिब्री पण्डितलाई देख्ने बित्तिकै अक्कल बिष्ट दौडिँदै अगाडि पुगे । आफ्नो अगाडि नाङ्गो अक्कल बिष्टलाई देखेर जिब्री पण्डित पनि आश्चर्यमा परे । उनले आश्चर्यभावमै सोधी हाले –‘किन, के भयो बिष्टजी ? यसरी नाङ्गै किन यहाँ आएको ?’

आफ्नो शरीरको जनै देखाउँदै अक्कल बिष्टले भने – ‘यी यो के गन्र्या हो ?’

अक्कल बिष्टको शरीरतिर हेर्दै केहीबेर जिब्री पण्डित पनि अल्मलिए । अक्कल बिष्टको अनुहार झनै चिन्ताग्रस्त देखिएको थियो । जिब्री पण्डितले अक्कल बिष्टको जनैतिर गडेर हेर्दै भने – ‘ए, त्यस्तो पो भएछ । उता फर्काउनोस् न ! मैले बिहानै उता फर्काउनका लागि भन्या थेँ । तपाईँले बिर्सनु भएछ । त्यति जाबो त घरमै मिलाएको भए भैहाल्थ्यो नि, यहाँसम्म आउनै पर्दैनथ्यो ।’

हामीले तीन घन्टा अगाडिदेखि बुझ्न नसकेको कुरा बल्ल बुझ्यौं ।

त्यस दिन अक्कल बिष्टकहाँ ‘पितृ–तर्पण कर्म’ रहेछ । अर्को गाउँमा अर्को एउटा ‘पितृ–तर्पण कर्म’ समेत भ्याउनु पर्ने भएपछि पुरोहित जिब्री पण्डित बिहान उज्यालो नहुँदै अक्कल बिष्टकहाँ पुगेछन् । हतार हतारमै पितृ–तर्पण कर्म सम्पन्न गराएर त्यहाँबाट हिँडेछन् । पण्डित गएको केही बेरपछि अक्कल बिष्टले आफ्नो जनैतिर आँखा लगाएछन् । आफ्नो जनै जता झुन्डिनु पर्ने हो त्यता नभएर अर्कैतिर झुन्डिएको उनले देखेछन् । अर्थात जनै बायाँ काँधबाट दायाँ कम्मरतिर झार्नु पर्नेमा त्यसको उल्टो दायाँ काँधबाट बायाँ कम्मरतिर झरेको रहेछ । पितृ–तर्पण कर्म सकिँदा सव्य भइसक्नु पर्ने तर भएनछ । जनै अपसव्यमै रहेर पितृ–तर्पण कर्म सकिएछ । हतार हतारमा पण्डितले उनलाई सव्य गराउनै बिर्सेछन् ।
जनै उल्टो अवस्थामा देखेपछि अक्कल बिष्ट निकै डराएछन् । अब ठूलै अनिष्ट हुने हो कि भन्ने उनलाई लागेछ । आफूखुसी जनैलाई बाँया काँधमा सारेर सव्य हुँदा झनै अर्को अनिष्ट हुने डर उनमा पैदा भएछ । त्यसपछि उनले यो कुरा घरका अरू मान्छेलाई भनेछन् । जनै उल्टो देखेपछि अरू पनि डराएछन् । यो कुरा छिमेकीले पनि थाहा पाएछन् । एकातिर फर्किनु पर्ने जनै अर्कैतिर फर्केको देखेपछि छिमेकी समेत डराएछन् । एउटा जनैको कुरामा गाउँमा ठुलै हल्लाखल्ला भएछ । देख्नेजान्ने सबैले उनलाई गर्नुसम्म गाली गरेछन् । घरमा जम्मा भएका सबैले उनलाई पण्डितद्वारा मन्त्र पढेर मात्र जनै सार्नु पर्ने सल्लाह दिएछन् । पितृ–तर्पण कर्म गर्दा आफ्नो शरीर जेजस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा पण्डितलाई भेट्नु पर्ने सल्लाह समेत केहीले दिएछन् । आफ्नो घरमा जम्मा भएका छरछिमेकीको समेत सल्लाहलाई मानेर उनी मन्त्रद्वारा जनै सार्नकै लागि जिब्री पण्डितलाई खोज्दै बैङ्कमा आइपुगेका रहेछन् ।

घटना थाहा पाएपछि हामी केही बोलेनौँ । कुनै टिप्पणी पनि गरेनौँ । वास्तवमा हामी जिल्ल परेर उभिइरह्यौँ ।
जिब्री पण्डितले जनै सार्नका लागि कुनै मन्त्र पढ्न नपर्ने कुरा बताए । उनले अक्कल बिष्टलाई जनै बाँया काँधमा सारेर सव्य हुन लगाए । जनै सारेर सव्य भएपछि अक्कल बिष्ट निकै खुसी भए । ठूलो सङ्कटबाट मुक्ति प्राप्त भएझैँ गरी उनी मुसुक्क हाँसे । उनको अनुहारको एकैछिन अघिसम्मको चिन्ताग्रस्त भाव तुरुन्तै मेटियो । अक्कल बिष्टले बडो प्रसन्न मुद्रामा जिब्री पण्डितलाई नमस्कार गरे । त्यसपछि हामीलाई पनि नमस्कार गरे । त्यहाँ भएका सबैलाई नमस्कार गर्दै हँसिलो अनुहार सहित अक्कल बिष्ट विदा भए ।

बैङ्क अगाडिको सडकमा उभिएका दुई–तिन जना स्थानीय नेता सामाजिक रूपान्तरण र अग्रगामी चिन्तनका बारेमा चर्को स्वरमा बहस गरि रहेका थिए । उनीहरू अग्रगामी परिवर्तनको अभियानमा लागेका वामपन्थी र लोकतन्त्रवादी जस्ता देखिन्थे । अक्कल बिष्ट उनीहरूलाई समेत नमस्कार गर्दै उनीहरूकै अगाडिबाट आफ्नो बाटो लागे । सामाजिक परिवर्तन र अग्रगामी चिन्तनको बहसमा ब्यस्त ती स्थानीय नेताले अक्कल बिष्टको नमस्कारलाई कुनै वास्ता गरेनन् । ती नेताले अक्कल बिष्टलाई व्यङ्ग्य गरेका हुन् कि अक्कल बिष्टले ती नेतालाई जिस्क्याएका हुन्, मैले बुझ्न सकिनँ ।
अफिस आउँदा निकै हँसिलो अनुहारमा आएका जिब्री पण्डित अक्कल बिष्टको उल्टो जनै देखेपछि भने निकै खिस्रिक्क परेका थिए । तर अक्कल बिष्ट प्रसन्न भएर गइ सकेपछि उनी पनि प्रसन्न देखिएका थिए । कति चाँडै जिब्री पण्डितले मुख पनि धोइ सकेछन् । एकैछिन अघिसम्म देखिएको उनको निधारभरिको केसरीको पहेँलो एकैछिन पछि हराइ सकेको थियो । बिहान घाम नझुल्किँदै ज्यादा चिसो पानीले मुख धुँदा अनुहारै कालो हुन्छ भनेर घाम झुल्केपछि मात्र मुख धुने चलन हिमाली क्षेत्रमा पाइन्छ । मैले सम्झेँ – दुई दुई ठाउँमा श्राद्ध सिध्याएर आएका जिब्री पण्डितको चलन पनि त्यस्तै हो कि ?

जिब्री पण्डितसँग केही कुरा गर्ने मन थियो । तर मैले उनीसँग कुरा गर्ने आँट गर्न सकिनँ । परिवर्तनलाई आत्मसात गर्ने कुरामा कतिपय सन्दर्भमा मैले आफैँलाई पनि कमजोर महसुस गरेको छु । मलाई लाग्यो – हामी आफूले आफैँलाई परिवर्तन गर्न सकेका छैनौं भने अरूलाई नैतिक उपदेश दिने हैसियत कसरी राख्न सक्छौँ ?

SHARE
mm
निबन्ध र सडक नाटकका रचनाकार शार्दूल भट्टराई लामो समयदेखि पत्रकारितामा पनि संलग्न छन् ।

तपाईंको प्रतिक्रिया