ईयूबाट छुट्टिने बेलायती निर्णय – त्यहाँका नेपाली पनि प्रभावित हुने

बेलायतलाई युरोपियन युनियनमै कायम राख्ने पक्षका समर्थक, फोटो बिबिसी

बेलायतमा भएको जनमत संग्रहमा युरोपियन युनियनबाट छुट्टिने पक्षमा बहुमत आएको छ । नतिजा अनुसार, छुट्टिने पक्षमा ५१.८ प्रतिशत मत आयो भने बाँकिले नछुट्टिने पक्षमा मत हाले । यो नतिजाले बेलायतलाई क्षेत्रीय संगठन युरोपियन युनियनबाट अलग पार्ने भएको छ ।

यो नतिजाले युरोपियन युनियनलाई कमजोर पार्ने मात्र नभएर बेलायतको अर्थतन्त्रलाई पनि कमजोर पार्ने संकेत देखिन थालेका छन् । बेलायती समाचार संस्था बिबिसीका अनुसार, बेलायती मुद्रा पाउण्ड सन् १९८५ पछि अहिले बजारमा सबैभन्दा कमजोर देखिएको छ ।

अन्तराष्ट्रिय मामिला बिज्ञ राजन भट्टराई फ्रान्स, जर्मनी जस्ता ठूला मुलुक रहेको युरोपियन युनियनबाट बाहिरिएर एक्लै हुँदा बेलायत समग्ररुपमा कमजोर हुने बिश्लेषण गर्छन् । ‘युरोपियन युनियन त कमजोर हुन्छ नै, बेलयातलाई त्योभन्दा बढि अशर पार्नेछ ।’

एक लाखभन्दा बढि संख्यामा बेलायतमा रहेका नेपालीलाई पनि पछिल्लो परिवर्तनले अशर पार्ने अनुमान गरिएको छ । ‘अहिलेको नतिजाले बेलायतमा अनुदारवादी हावी हुने देखिएकाले भिसा नियम अरु कडा बन्न सक्नेछ, जसबाट त्यहाँ बस्ने नेपाली प्रभावित हुनेछन्’ भट्टराई भन्छन्, ‘बेलायतको अर्थतन्त्र नकारात्मक दिशामा जाँदा त्यहाँका नेपालीले पाएका बिभिन्न सुविधा पनि स्वतः काटिनेछन् ।’

तपाईंको प्रतिक्रिया