यस्तो थियो चौध नेपाली मारिने गरी भएको काबुल आक्रमण

काठमाडौं । चौध जना नेपालीको ज्यान जानेगरी आज बिहान अफगानस्तानको काबुलमा भएको आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ । तालिवान प्रवक्ता झाविहुल्ला मुजाहिद्ले सो आक्रमणको जिम्मेवारी लिएका हुन् । ती नेपालीहरु सुरक्षा गार्ड भएको र उनीहरु एउटा मिनिबसमा रहेको अफगान प्रहरीले जनाएको छ । राजधानी काबुलको पूर्वी भागको जलालावादको मुख्य सडकमा सो आक्रमण भएको थियो ।

अफगान सरकारका प्रवक्ता सादिक सिद्धिकीले ट्विटरमा १४ जना नेपाली मारिएको पुष्टि गरेका छन् तर उनीहरुको नाम र अन्य अवस्थाबारे खुलाएका छैनन् ।

परराष्ट मन्त्रालयले मृतक नेपाली र अन्य नेपालीका सम्बन्धमा आफगान सरकारसँग सम्पर्क गरिरहेको बताएको छ । प्रवक्ता भरतराज पौडेलले सबै च्यानलबाट त्यहाँको जानकारी लिइरहेको र छिटै सम्पूर्ण विवरण सार्वजनिक गरिने बताए ।

अफगानिस्तानमा नेपालको दूतावास नभएकाले पाकिस्तान स्थित नेपाली दूतावासले अफगानस्तान पनि हेर्छ ।
मृतक नेपालीहरु अफगानस्तानमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । उनीहरु कुन कम्पनीमा कार्यरत थिए भन्ने अफगान सरकारले खुलाएको छैन । अफगान प्रहरीका अनुसार उनीहरु एक प्राइभेट कम्पनीमा कार्यरत थिए, जसले विभिन्न कम्पनीलाई सुरक्षा गार्ड उपलब्ध गराउँछ । एकाबिहानै उनीहरु आवासबाट ड्यूटिका लागि सामूहिक रुपमा कार्यथलो जाँदै गर्दा यो दुर्घटना भएको बताइएको छ । रोयटर्स समाचार संस्थाका अनुसार बसमा बम हमला गरिएको थियो र आक्रमणकारीहरु आवास बाहिर योजनावद्ध तरिकाले ढुकेर बसेका थिए ।

अफगानी खामा अनलाइनले जनाए अनुसार ती नेपालीलाई सुरक्षा कम्पनीले काबुल स्थित क्यानडेली राजदूतावासको सुरक्षामा खटाएको थियो ।

उसका अनुसार मृतकहरुको सनाखतका लागि सुरक्षाफौजले प्रयास गरिरहेको छ । उनीहरुमध्ये केहीको परिचय पत्र घटनास्थलमा फेला पारिएको छ ।

उता तालिवानले भने सो आक्रमणमा बीस जना मारिएको दावी गरेको छ ।

गार्जियन अनलाइनले दिएको समाचार अनुसार सो आक्रमणमा आठजना घाइते भएका छन् । तालिवानले रमदानको महिना सुरु भएपछि काबुलमा गरेको यो पहिलो आक्रमण हो ।

मिनिबसमा कसरी आक्रमण गरियो भन्ने स्पष्ट भएको छैन । अफगास्तानको ‘वन टिभी न्यूज’ ले जनाए अनुसार बसमा आत्मघाती आक्रमण गरिएको थियो । तर, सार्वजनिक थलोमा हिँडिरहेको बसमा सिधै आक्रमण गरिएको हुनसक्ने अन्य केही संचार माध्यमहरुले जनाएका छन् । दि गार्जियनले स्थानीय प्रहरीको हवाला दिँदै प्रेषित गरेको समाचार अनुसार आक्रमणकारी आत्मघाती थिए, जसले खुट्टामा बम बाँधेका थिए ।

गत महिना तालिवान नेता अख्तर मन्सुर अमेरिकी ड्रोन आक्रमणमा मारिएको बदला स्वरुप यो कारवाही गरिएको हुनसक्ने अनुमान अफगानी संचार माध्यमहरुले गरेका छन् ।

आक्रमणमा कतिजना मारिए भन्ने अहिलेसम्म प्रष्ट भएको छैन । तालिवानले दावी गरे अनुसार बीसजना मारिएको सत्य हो भने १४ जना बाहेक बाँकी अफगानी नै हुनसक्ने अनुमान छ । अफगानस्तानमा सामान्यतया सवारी चालक अफगानी नै हुन्छन् । बस चालक पनि आक्रमणमा परी मारिएको बताइएको छ । त्यसैगरी घाइते चार अफगानीलाई अस्पताल भर्ना गरिएको छ ।

अफगानस्तानमा कार्यरत विदेशी कम्पनीहरुले अवैध रुपमा त्यहाँ पुगेका नेपालीलाई सुरक्षा गार्ड राख्ने गरेका छन् । पाकिस्तानको सान न्यूज एजेन्सीका अनुसार अफगानस्तानको राजधानी काबुलमा मात्र तीन हजार भन्दा धेरै नेपाली कार्यरत छन् ।

तपाईंको प्रतिक्रिया