मुक्ति

उसको अठोट सुनेपछि मैले बीस वर्षअगाडिको आफ्नो जेल जीवन सम्झिन पुगे । त्यस बेला मैले पनि श्रीमतीले मलाई कागज गरेर छुट भन्दा उसलाई अकार्थमा हप्काएर पठाएको थिएँ । अझ, हप्काउँदा पनि उसले जिद्दी गरिरहेकीले मैले गाली गर्दै भनेको थिएँ, “आजबाट तेरो लोग्ने म-यो । यहाँबाट जा !”

सअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन ।

तर, यहाँ म त्यो युवतीको कुरा गर्नुभन्दा अगाडि त्यही प्र्रसङ्गसित जोडिएको होनहार युवकको भौतिक अवसानको पृष्ठभूमिबाट आनो कुरा शुरु गर्न उपयुक्त ठान्छु ।

मुक्ति लम्साल त्यो युवकको नाम हो । यो समग्र घटना त्यही विषयको नाभिस्थलमा रहेको छ ।

सबभन्दा पहिले उसले मसित फोनमा कुरा गरेको थियो । राति एघार बजेतिर, सुत्ने सुरसार गर्न लागेको बेला थियो त्यो । कोठामा जताततै पत्रपत्रिका र पानाहरु छरिएका थिए । यस्तो फोहोर राखेर किन सुत्ने भन्ने प्रश्नले तर्साएकाले म कागजपत्र बटुल्दै थिएँ । त्यसै बखत फोन कराएको थियो ।

“मलाई सरले चिन्नुहुन्न । म नेकपा माओवादीको कार्यकर्ता हँु । हामी जनयुद्धको निम्ति अर्थसङ्कलन गर्दै छौं । तपाईं अर्को पार्टीको भए पनि तपाईंको सरलता र सज्जनता सुनेर फोन गरेको हुँ । चन्दा दिनुहुन्छ भने भोलि बिहानै आउँछु ।”
दश मिनेटजति कुराकानी भए पनि सारांश यत्ति मात्रै थियो, जस अनुसार ऊ भोलिपल्ट बिहान मेरो घर आइपुग्यो । भदौ महीनाको कुनै एक दिन थियो त्यो । वर्षात अझै बन्द भएको थिएन । त्यस दिन पनि पानी निकै परिरहेको थियो । ऊ हाम्रो घर आइपुग्दा निथ्रुक्कै भिजेको थियो । भिजेको कमिजभित्रबाट उसको शरीरका दुब्ला हाडहरु स्पष्ट रुपमा प्रकट भैरहेका थिए ।

“बिहान सेल्टरबाट हिड्ने बेला पानी परेको थिएन । बाटोमा आउँदाआउँदै पानी प-यो, भिजियो । तर, केही छैन, सर !” कपालको पानी झार्दै उसले भन्यो ।

उसको कुरा गर्ने शैली, समस्या र घटनालाई हेर्ने दृष्टिकोणले मलाई एकै छिनमा निकै प्रभावित पा-यो । मैले उसलाई बैठककोठामा बोलाएँ र चिया खुवाएर पाँच सय रूपैयाँ दिएँ ।

“धेरै–धेरै धन्यवाद, सर ! हाम्रो पार्टीले अहिले प्रतिक्रियावादीहरुको किलो सेरा टु अभियानलाई परास्त गर्ने रणनीति लिएर काम गर्दै छ । यसबीचमा पश्चिमका हाम्रा थुप्रै आधारहरु भत्किएका छन् । हाम्रा थुप्रै कमरेडहरुले युद्धमैदानमा वीरगति प्राप्त गरेका छन् । बाँचेकाहरु अस्थायी रुपमा सुरक्षाको निम्ति शहर आएका छन् । तपाईंले दिएको यो रकम हाम्रो निम्ति निकै ठूलो हौसला र प्रेरणा हो । तपाईंलाई म हाम्रो पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।”

पहिलो भेटमा लगभग यति नै कुराहरु भनेर ऊ बिदा भयो । जाने बेला ‘नेकपा (माओवादी)’ छापिएको रसीदमा उसले मेरो नाम जस्ताको तस्तै लेख्यो । त्यो देखेपछि मलाई लाग्यो— उसमा भूमिगत पार्टीका ढाँचाकाँचाहरु छैनन् । उसले यदि त्यसबारे राम्ररी थाहा पाएको भए कुनै सङ्केत प्रयोग गरेर मेरो नाम लेख्थ्यो । यसबाट दमनको बेला आफ्ना समर्थक–शुभेच्छुकहरुलाई जोगाउन सजिलो हुन्थ्यो । तर, मैले आफ्नो पूरा नाम रसीदमा लेख्दा पनि कुनै आपत्ति गरिनँ ।
दोस्रो भेटको विवरण लेख्नुभन्दा अगाडि म अलिकति उसको शारीरिक बनोटबारे केही भन्न उपयुक्त ठान्छु ।

ऊ हुबहु बीस वर्षअगाडिको म जस्तै थियो— गहुँगोरो, दुब्लो, कपाल छरिएको र दाह्रीजुँगा पनि उस्तै नमिलेको । यसबाट बुझिन्थ्यो— उसलाई आफ्नोभन्दा पार्टी र जनयुद्धको बढी चासो छ । उचाइमा चाहि ऊ मभन्दा केही होचो नै थियो ।
“तपाईंको घर चाहि कहाँ हो ?” दोस्रो भेटमा मैले उसलाई सोधे ।

यो पहिलो भेटभन्दा करीब तीन हप्तापछिको कुरा थियो । ऊ मसित राजनीतिक कुराकानी गर्न भनेर आएको थियो ।
“म गोरखाको हुँ । घरमा बा, आमा र एउटी बहिनी छन् । बहिनी पनि त्यहाँको छापामार दस्तामा काम गर्छे ।” उसले सविस्तार भन्यो ।

निकै बेर व्यक्तिगत र राजनीतिक कुराकानीहरु भए । सबै कुरा सुनिसकेपछि मैले उसलाई भने, “जतिसुकै कुरा भए पनि इतिहास, दर्शन र कला–साहित्यलाई बुझ्न र अध्ययन गर्न नछोड्नुहोला । अध्ययनले मानिसलाई सङ्कटहरुबाट मोक्ष दिलाउँछ । राजनीतिका अन्य कुराहरु आ–आफ्नो ठाउँमा छँदै छन् ।”

ऊ लगभग दुई घण्टाजति बस्यो । मलाई पनि त्यस बिहान निकै फुर्सद थियो । भाग्यवश, ऊ मकहाँ रहुन्जेल अरु कोही आएनन् । बीचमा दुई–तीन वटा फोन आए । जब ऊ हिड्न थाल्यो, मैले औपचारिकता जनाउँदै भने, “आज यतै खाना खाएर जानोस् ।”

“हुन्छ ।” सजिलैसित उसले भन्यो ।

मेरो परिवारमा मसमेत चार जना थियौ । घरमा काम गर्ने एउटा केटो पनि थियो । मेरी श्रीमती बिहान–बेलुकाको भान्सा र दिउँसो खेतीपातीको काम हेर्थी । छोरा र छोरी आठ र दश कक्षामा पढ्दै थिए । उनीहरुलाई राजनीतिमा त्यति चासो थिएन ।

भान्सामा ऊ मसित बसेर निकै स्वादसित खाना खान थाल्यो । उसको खाने शैलीबाट मेरी श्रीमती निकै प्रभावित भई । उसले उसको उदाहरण पेश गर्दै मलाई ठुङ्न थाली ।

“खाना त उः बाबुले खाए जस्तो खपाखप खानु नि ! हेर्नोस् बाबु, हाम्रा बूढा त कहिल्यै रहरलाग्दो गरी खाँदैनन् । जहिले पनि दुई गाँस भात लियो, घटौसम्म खेलाएर बसिरह्यो ! मलाई त यिनका औला चलेको हेर्न पनि मन लाग्दैन । हेर न, गँड्यौला हिड्या जस्तो !”

मेरी श्रीमतीको भाषण सुनेर ऊ अझ जोशियो र खाना थप्न लाग्यो ।

“खाना कति खाने र कसरी खाने भन्ने कुरा आ–आफ्नो रूचि र तरीकाको विषय हो । अब यो आइमाई जे कुरालाई पनि मुद्दा बनाउँछे ।” मैले भने ।

ऊ नभएको भए श्रीमतीले शायद यो विषयमा धारावाहिक बहस शुरु गर्थी । तर, आज पाहुना भएको नाफा मलाई भयो । ऊ चुप भई ।

खाना खाइसकेपछि उसले कचौरा, गिलास र बाहिर छरिएका भातका सिता टिपेर थालमा हाल्यो र थाल उचालेर उठ्यो ।
“होइन, होइन ए बाबु, थाल किन बोक्नुभा’ ? हामी माझिहाल्छौ नि ! घरमा काम गर्ने मान्छे छ, उसले माझ्छ ।” श्रीमतीले हतारिदै भनी ।

“होइन भाउजू, यो मेरै काम हो ।” यति भनेर ऊ थाल लिएर धारातिर हान्नियो ।

“यो त तपाईंहरुको पालाको कम्युनिस्ट जस्तो छ नि ?” ऊ बाहिर थाल माझिरहेका बेला श्रीमतीले सोधी ।
“किन ? कसरी थाहा पायौ ?”

“बीस वर्षपहिले तपाईंहरु पनि यस्तै गर्नुहुन्थ्यो । तपाईंका नेताहरु पनि यस्तै गर्थे । अब त तपाईंका नेताहरु यहाँ आउन पनि छोडे । प्राडो र पजेरो पाएपछि उनीहरुलाई अरु को चाहियो र !”

यसरी दोस्रो भेटमा ऊ आफूतिर मेरी श्रीमतीको समेत ध्यान आकर्षित गर्न सफल भयो ।

तीन–चार महीना त्यसै बितेर गए, मानौ समय भनेको निकै सस्तो वस्तु हो । मेरो दिनचर्यामा कुनै त्यस्तो नवीनता र तरङ्गलाई ठाउँ भएन । बिहान कि त आफ्नो संसदीय क्षेत्रमा बाटो, स्कुल, स्वास्थ्यचौकी र कुलो बनाउने मिटिङ वा भेलामा जान्थे, नभए घरमा बसेर जागीर, सरूवा, बढुवाका टेलिफोन सुन्ने वा भेट्न आएका मानिससित सिङ्गो बिहान बित्ने गथ्र्यो । श्रीमती आएकाहरुका निम्ति चिया पकाउँदैमा हैरान थिई । भान्साबाट या बैठकबाट ऊ आगन्तुकहरुले सुन्ने गरेर भन्थी, “यो राजनीतिज्ञकी स्वास्नी चाहि कसैले हुनु नपरोस् ! सबैलाई प्रजातन्त्र आयो रे, आखिर मलाई चाहि उस्तै ! हिजो पनि बुहार्तन, आज झन् बुहार्तन !”

श्रीमती फतफताइरहेका बेला पहिले जस्तै फोन बज्यो । रिसिभर उचालेर कराएँ, “हेलो !”

“माननीयज्यू बोल्नुभा’को हो ?”

“हो, म बोल्दै छु । यहाँ को बोल्नुभो ?”

“जय नेपाल, हजुर ! म काठमाडौ जिल्लाको डीएसपी बोल्दै छु ।”

“अँ भन्नोस्, के समस्या प-यो ?”

“हजुरको क्षेत्रमा काम गर्ने एउटा माओवादी पक्राउ प-यो । त्यसबाट एउटा चन्दा रसीद पनि बरामद भएको छ । त्यो रसीदमा हजुरको पनि नाम छ । त्यो हजुर हो कि अरु नै हो, कन्फर्म गरुँ भनेर, हजुर !”

“पक्राउ पर्नेको नाम के हो ?” मैले सोधे ।

“मुक्ति लम्साल भन्छ, हजुर !”

“त्यसो भए चन्दादाताको त्यो नाम मेरै हो ।”

“अनि हजुरले पनि माओवादीलाई चन्दा दिएको हजुर ?”

“अच्छा, तपाईंले यो अनौठो प्रश्न गर्नुभयो ।”

मैले त्यसो भनेपछि डीएसपीको उत्साहमा निकै गतिलो ब्रेक लाग्यो । उसले विस्मित हुँदै उताबाट सोध्यो, “किन र हजुर ?”

“तपाईं अहिलेसम्म माओवादी क्षेत्रमा काम गर्न जानुभा’ छैन ?”

“छैन, हजुर !”

“हो, त्यसैले तपाईंलाई थाहा भएन चन्दाको कुरा । यदि तपाईं त्यहाँ पुग्नुभयो भने तपाईंका हाकिमहरुसमेत माओवादीलाई किन चन्दा दिन्छन् भन्ने कुरा सजिलै बुझ्नुहुन्छ । यसबाहेक म त प्रहरी होइन, राजनीतिज्ञ परे । मकहाँ मण्डलेदेखि माओवादीसम्म र पाकेटमारदेखि वेश्यासम्म आर्थिक सहायता माग्न आउँछन् । मलाई भोट चाहिन्छ, त्यसैले सबैलाई सकेजति दिन्छु । त्यो केटालाई पनि मैले दिएरै पठाएको हुँ ।”

“होइन हजुर, हजुरहरुले पनि उनीहरुलाई चन्दा दिएपछि उनीहरुको मनोबल बढ्छ भन्ने मेरो निवेदन हो ।” उसले अलि नम्र भावमा भन्यो ।

“लौ, यो विषयमा तपाईंले चिन्ता गर्नुपर्दैन । मनबोल घटाउनु र बढाउनु सरकारको काम हो ।”
“हवस् हजुर ! हजुरलाई इन्फर्म गरुँ मात्र भन्ने मेरो मनसाय हो ।”

त्यो घटनापछि मलाई थाहा भयो— ऊ पक्राउ परेछ । उसको काम गर्ने दरिद्र शैलीलाई लिएर मलाई निकै चिढ उत्पन्न भयो । म प्रतिनिधिसभाको सदस्य भएको हुनाले मात्र यो त्यस्तो ठूलो प्रकरण बन्न पाएन । यदि मेरो ठाउँमा अर्को कुनै सामान्य मानिस भएको भए के हुन्थ्यो ? प्रहरीलाई सजिलै एउटा हतियार प्राप्त हुन्थ्यो । त्यो रसीदमा मेरो बाहेक अरु कति त्यस्ता नामहरु होलान् ? यदि छन् भने तिनीहरुको के हविगत भयो होला ?

मैले माओवादीलाई चन्दा दिन्छु भन्ने कुरा पछि गृहमन्त्रीलाई समेत रिपोर्ट गरिएछ । यस्तो रिपोर्ट प्रहरीबाटै भएको थियो । एक साँझको ककटेल पार्टीमा गृहमन्त्रीले निकै दुःखी हुँदै मसित भने, “माननीयज्यू, मेरो यहाँसित निकै ठूलो गुनासो छ । अब यहाँहरु जस्ताले समेत उनीहरुलाई चन्दा दिने हो भने उनीहरुको हौसला बढ्दैन ? आखिर यहाँलाई मैले बताउनुपर्दैन कि उनीहरु क्रान्ति गर्न होइन, प्रजातन्त्र मास्न कतैबाट सञ्चालित छन् ।”

मैले गृहमन्त्रीको राजनीतिक सम्भाषणको कुनै खण्डन गरिनँ । यति मात्र भने, “गृहमन्त्रीज्यू, हजुरले भन्नुभएको कुरामा मेरो कुनै विमति छैन । तर, हजुरलाई थाहा छँदै छ, हाम्रो सुरक्षाको स्थिति यति कमजोर छ … आखिर ज्यान त जोगाउनुप-यो नि, होइन र ?”

मेरो नम्र जवाफले गृहमन्त्रीलाई निकै ठूलो चोट पा-यो । तत्कालै उनी त्यो विषयबाट फुत्किन ‘अर्को कार्यक्रममा जानु छ’ भन्ने बहाना बनाएर हिडे । मन्त्री हिडेपछि पार्टीमा रहेका अरु मित्र मरीमरी हाँस्न थाले । “गज्जब दनक हानिस् यार, त्यो घुस्याहालाई !” उनीहरुले भने ।

मुक्ति लम्साल गिरफ्तार भएको सुनेर मेरी श्रीमती पनि दुःखी भई । त्यस्तो सज्जन मान्छेलाई थुनेर यो प्रजातन्त्र कति दिन चल्छ भन्ने उसको तर्क थियो । त्यसपछि ऊ मसित कचकच गर्न थाली । म उसैको दबावमा परेर मुक्तिलाई छुटाउन सीडीओकहाँ गएँ ।

“ऊ माओवादीको इलाका स्तरको कार्यकर्ता हो । जनयुद्ध थालेपछि यता लागेका रैछ । गोरखाको केटो हो, जवानीमा एक पटक त्यहाँको युवकले आफ्नो जिल्लाको नेता बाबुरामतिर लाग्नु अस्वाभाविक होइन । यदि ऊ कागज गर्छ भने म हजुरको जमानतमा छोड्न सक्छु ।”

सीडीओले यसो भनेपछि म डीएसपी कार्यालय, हनुमान्ढोका पुगे । म पुग्नासाथ डीएसपीले भन्यो, “कसैलाई पनि भेट्न नदिनू भन्ने आदेश छ, हजुर !”

“आदेश कहाँको हो ?”

“एसएसपी सापको आदेश हो ।”

“त्यसो भए म उहाँसितै कुरा गर्छु नि त !”

म अर्को तलामा उक्लिएँ ।

एसएसपीले भेट्ने अनुमति सजिलै दियो । उसले भन्यो, “माननीयज्यू आफै कष्ट गरेर आएपछि भेट्टाउनैप-यो नि !”
उसले तुरून्तै डीएसपीलाई फोनबाट आदेश दियो, “छुट्टै कोठामा ल्याएर भेट्टाउनू । अरु मान्छेलाई सम्पर्कमा आउन नदिनू ।”

त्यसपछि मतिर फर्केर भन्यो, “हामीहरु हजुरहरुले बनाएको नियम पालना गर्ने हौ । हाम्रो बेग्लै के हुन्छ र हजुर ?”
एक हप्ता थुनिएपछि मुक्ति निकै दुब्लाएछ । उसको अनुहार एकदमै नीलोकालो थियो । हिरासतमा कुटाइ खाएको कुरा स्पष्ट झल्किन्थ्यो । यसै गरी कपाल र दह्रीको अराजकता अरु बढेछ । तर, उसका आँखाहरुको ओज भने अझै उस्तै थियो । उसले मलाई देख्नेबित्तिकै पुरानै शैलीमा दुई हात जोड्दै भन्यो, “नमस्कार है, सर ! आरामै हुनुहुन्छ, होइन ?”
“अनि यहाँ तिमीलाई कस्तो छ ?”

“ठीकै छु, सर ! अब एक–दुई दिन यहाँ राखेर जेल चलान गर्छ जस्तो छ ।”

“म तिमीलाई छुटाउन आएको । तिमीले एउटा सानो कागज ग-यौ भने छुट्छौ ।” मैले मायालु भावमा भने ।

“कागज गर्नु भनेको जनयुद्धलाई विश्वासघात हो, सर ! म त्यस्तो विश्वासघात गर्दिनँ । बरू म मर्छु, सर !”

यस्तो भन्दा उसको अनुहारमा त्यत्तिकै ताजापन थियो, जुन ताजापन अगाडिदेखि थियो । उसको अठोट सुनेपछि मैले बीस वर्षअगाडिको आफ्नो जेल जीवन सम्झिन पुगे । त्यस बेला मैले पनि श्रीमतीले मलाई कागज गरेर छुट भन्दा उसलाई अकार्थमा हप्काएर पठाएको थिएँ । अझ, हप्काउँदा पनि उसले जिद्दी गरिरहेकीले मैले गाली गर्दै भनेको थिएँ, “आजबाट तेरो लोग्ने म-यो । यहाँबाट जा !”

त्यो सम्झेर मेरा आँखा त्यसै डबडबाए । त्यसपछि मैले ऊतिर दाहिने हात बढाएँ । क्रान्तिकारी शैलीमा हात मिलाइसकेपछि मैले भने, “शुभकामना छ, कमरेड ! तिम्रो जित होस् ।”

त्यसपछि म डीएसपी र एसएसपीलाई औपचारिकता पु-याउन धन्यवादसमेत नदिई हनुमान्ढोका हिरासत भवनबाट निक्लिएँ ।

मुक्ति लम्साल पक्राउ परेको दुई महीनापछि छुटेछ । छुटाउनमा उसैको पार्टीका वकीलहरु लागेछन् । भन्थे— अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि ऊ छुट्यो । उसलाई कुनै मुद्दा लगाइएको थिएन ।

भोलिपल्ट ऊ मकहाँ आयो । यस पटक ऊ एक्लो थिएन । ऊसँगसँगै पातलो आङ भएकी समवयी गोरी केटी पनि थिई ।

“सिर्जना दङ्गाल हो यिनको नाम । अहिलेसम्म हामी एउटै कमिटीमा छौ ।” उसले परिचय गरायो ।

फूल जस्ती कलकलाउँदी केटीले मेरा बारेमा केही बुझ्न नपाउँदै हतारिएर मलाई नमस्कार गरी ।

“म अहिले प्रतिनिधिसभामा सांसद छु ।” मैले भने ।

“सरको परिचय त्यतिले कहाँ पुग्छ ! सिर्जना, तिमीलाई उहाँको बारेमा थुप्रै कुरा थाहा छ । सरकारी आतङ्कको बारेमा संसद्मा सरले धेरै बोल्नुभएको छ । राजनीतिक विचार जेसुकै भए पनि सरलाई हामी धेरै आदर गर्छौं ।” हतारिएर मुक्तिले थप्यो ।

त्यस दिन उनीहरु धेरै बेर बसेनन् ।

उसले एक छिनपछि भन्यो, “अब सरसित सम्पर्क गर्न यी आउँछिन् । जाने बेला परिचय गराइयो भने सजिलो हुन्छ भनेर, सर !”

“अनि तिमी यहाँबाट सरूवा भयौ कि कसो ?”

“पार्टीसित मैले नै सरूवा मागेको, सर ! म यता काम गर्दा धेरै एक्सपोज भएँ । फेरि राजधानी अहिले हाम्रो प्रचार इलाका मात्र हो । नढाँटी भनूँ सर, मलाई बन्दूक बोक्ने निकै रहर छ । त्यसैले म युद्धमैदानतिर जाँदै छु ।”

“शुभकामना छ तिमीलाई । मैले अरु के भन्नु ? मैले अरुलाई पनि भनेको छु, जसको छातीमा रौ उम्रेको छ, ऊ बन्दूक बोक्न जानैपर्छ । तर, जहाँ गए पनि पढ्न नछोड्नू । एकपाखे भएर चाहि कतै पनि लाग्नु हुँदैन । हामी त २०४६ सालपछि सरकारमा जानेहरुको पछि लागेर डरपोक भैसक्यौ । अबको संसार तिमीहरुकै हो ।”

उनीहरुले फर्किने बेला मेरी श्रीमतीसित पनि भेट गरे । सिर्जनासित चिनजान भएपछि त मेरै श्रीमती झन् धेरै खुशी भई । उसले सिर्जनाको टाउको यसरी सुमसुम्याई, मानौ ऊ आफ्नै छोरी हो ।

“आहा, कति राम्री ! समयसमयमा आइराख है ! हामी परचक्री होइनौ, ख्याल राख ।”

मुक्ति लम्साललाई शायद पूर्वतिर खटाइएको थियो । सिर्जनासँग भेट हुँदा म कहिलेकाही उसको स्वास्थ्यबारे सोधपूछ गर्थें । तर, उसले पनि त्यति राम्रो जानकारी दिन्नथी । भन्थी, “हाम्रो कार्यक्षेत्र एकदमै फरक छ । एक क्षेत्रको कार्यकर्ताले अर्को क्षेत्रको कार्यकर्तासित भेटघाट गर्नु अहिले निकै जटिल र कष्टपूर्ण बनेको छ । त्यसबाहेक हाम्रो जस्तो भूमिगत पार्टीमा एकले अर्काको बारेमा सोधपूछ गर्नु पनि त भएन ! शत्रुको घूसपैठ भएको हुन सक्छ । त्यसैले अचेल उहाँको खबर मलाई थाहा छैन ।”

डेढ वर्षजति ऊसित मेरो भेट भएन । सिर्जना पनि क्रमशः यता आउन छोडी । पार्टीको काम छोडी वा सरूवा भएर अन्यत्रै गई, थाहा भएन । पत्रपत्रिकामा प्रहरी र माओवादी भिडन्तका बारेमा पढ्दा म मुक्तिलाई सम्झिन पुग्थे । त्यसबाहेक उसमा मेरा धेरै विशेषता थिए । ऊ म जस्तै सीधासादा थियो । बीस वर्षअगाडिको मेरो क्रान्तिकारी जीवन र उसको अहिलेको जीवनमा अत्यधिक समानता थियो । म छयालीस सालपछि गलत बाटामा लागे पनि बारम्बार आफ्नो पुरानो जीवनले रोमाञ्चित हुने गर्थें । म व्यावहारिक कारणले जनयुद्धमा जान सकिनँ । तर पनि म उसको विम्बमा आफूलाई हेर्ने र स्वप्नशील हुने गरिरहेको थिएँ । त्यसमा मैले कल्पना गरेको नयाँ नेपालको तस्वीर हुने गथ्र्यो ।

मेरी श्रीमती पनि उसको अभाव खड्किएको कुरा बारम्बार दोहो-याउँथी । ऊ भन्थी, “मुक्ति धेरै असल मान्छे हो । यस्तो लोभीपापी संसारमा यस्तो मान्छे सितिमिति कहाँ पाइन्छ ?”

“छयालीस सालअघि म पनि त यस्तै थिएँ होइन र ?” म भन्थे ।

“त्यत्तिको सोझो अझ तिमी पनि होइनौ । ऊ त गाईप्राणी नै थियो । मलाई त्यसले खाएकै मन पथ्र्यो । मलाई त त्यसलाई सधै बोलाएर ख्वाउन मन लाग्छ । तर, खोइ अहिले त्यो कहाँ होला र ! लडाइँमा शहीद पो भैसक्यो कि ? तर, भगवान् मुक्तिलाई चाहि त्यस्तो केही नहोस् ।”

समय फेरि पनि गुज्रेर गयो । मेरा अर्थहीन दिनचर्याहरु त्यसै बितेर गए । त्यसैमा २०५५ सालको जाडोको एक रात निकै अबेर मेरो घरको ढोकाको घण्टी कसैले थिच्यो । सबै जना मस्त निद्रामा थिए । अचानक घण्टी बजेपछि सँगै सुतेकी श्रीमतीले मलाई घचघच्याई, “ए, उठ । कता झगडा प¥यो कि ? अथवा, कोही बिरामी प-या जस्तो छ ।”
मेरो घरमा राति मान्छे आउनुका कारण यीबाहेक अरु हुन्नथे ।

म उठेर मूल ढोकामा पुगे । बाहिर चूक जस्तो अँध्यारोको साम्राज्य थियो । उता श्रीमती सिरकभित्र गुटमुटिएर राजनीतिलाई सराप्दै थिई, “हे भगवान्, संसारमा जसकी जोई भए पनि हुन्छ, राजनीति गर्नेकी जोई चाहि कसैलाई हुन नपरोस् ! न ट्याममा खान पाइन्छ न सुत्नै पाइन्छ !”

मैले पहिले बाहिर बरन्डाको बत्ती बाले । त्यसपछि बिस्तारै फलामे गजबार उचालेर मूलढोका खोले । बाहिरको दृश्य देखेपछि म एकै पटक आश्चर्य र हर्षले बिथोलिएँ ।

मुक्ति लम्साल जाडो र त्रासले हडबडाएको भावमुद्रामा मेरा अगाडि उभिएको थियो । उसले आफ्ना दुई हात ढोका खोल्नुअगाडि नै जोडिसकेको थियो ।

“ए, मुक्ति ! तिमी ? यति अबेर किन ? भित्र हिड ।”

उसको यो किसिमको असामयिक उपस्थितिले पक्कै केही नराम्रो भएको छ भन्ने आभास भयो । तर, भित्र पसेपछि पनि उसले आफ्ना विषयमा केही बताएन । मेरी श्रीमतीले पनि ऊ आएको थाहा पाई र निकै हौसिएर उठ्दै बैठककोठामा आई । उसले खाना पकाउने कुरा गरी । तर, मुक्तिले खाना खाइसकेको भन्यो ।

मेरी श्रीमतीले निकै कर गरेपछि उसले भन्यो, “तपाईंको वचन म भोलि बिहान र भोलि साँझ पूरा गर्छु । यो राति कुनै दुःख नगरौ । पुलिसहरु मेरो पछाडि छन् । अहिले हामीले कल्याङमल्याङ गरेको राम्रो हुँदैन ।”
“यो सरकारी सांसदको घर हो भन्ने कुरा तिमीले कति चाँडै बिर्सेको !” मैले भने ।

“जे भए पनि मेरो आफ्नै घर हो । आफ्नो घरमा म भोको भएर कसरी सुत्न सक्छु र !” उसले आफ्नो जिद्दी दोहो¥यायो ।
त्यो रात ऊ निकै पछिसम्म पनि निकै हडबडाएको देखिन्थ्यो । उसले खानैपर्दैन भनेर जिद्दी गरेपछि हामी उसलाई त्यही सिरक–डसना दिएर सुत्न गयौ ।

भोलिपल्ट बिहान खाना खाने बेला थाहा भयो— ऊ निकै बदलिसकेको रहेछ । उसले पनि मैले जस्तै थालको भातमा गँड्यौला घिस्रिए जस्तै औलाहरु चलाइरह्यो ।
“बाबु, तपाईंलाई के भयो ? तपाईं त उहाँ जस्तो होइन । बिरामी पो हुनुभयो कि ?” उदेक मान्दै श्रीमती बोली ।

मेरी श्रीमतीले त्यति भन्दा–नभन्दै ऊ एकदमै भावुक भयो । आँखा केही रसाए पनि । तर, उसले अदम्य क्रान्तिकारी ऊर्जाहरुलाई प्रयोग गर्दै आँसु नियन्त्रण गर्न आफ्नै तिघ्रा देब्रे हातले बेस्सरी चिमोटिरहेको थियो ।
दिउँसोभरि म पार्टीको नियमित काममा गएँ ।

बेलुकी भात खाँदा पनि उसले बिहानको जस्तै अवस्था प्रदर्शन ग¥यो । त्यो देखेर मैले सोधे, “दिउँसो खाजा खायौ ?”
“कहाँ खानु ! मैले हलुवा बनाएर लग्द्या थिएँ । सन्चो छैन भनेर त्यसै फर्काउनुभयो । एक कप चियाबाहेक केही खानुभा’ छैन ।” श्रीमतीले भनी ।

यसरी राति पनि ऊ बिहानको जस्तै गरी भान्साबाट उठ्यो ।

“आज एघार बजेपछि म यहाँबाट हिड्नुपर्छ, सर ! पार्टी हेडक्वार्टर जानुपर्ने छ । दिउँसो पुलिसले खोजेको हुनाले हिड्नु राम्रो भएन र यहाँ बसेको हँु ।” थाल उचालेर उभिएपछि उसले मतर्फ फर्केर भन्यो ।
“किन यस्तो राति जानु ?”

“महामन्त्री कमरेडसित भेट्न समय मिलाएको छु । अत्यन्त जरुरी । जीवनमरणको सवाल छ ।”
त्यसपछि ऊ धारामा गयो र थाल मस्काउन थाल्यो ।

मुक्ति लम्साल घरबाट निस्केको पन्ध्र मिनेटपछि नै डीएसपीको भ्यान आएर कम्पाउन्डअघि रोकियो ।

केटाकेटीहरु निदाइसकेका थिए । हामी जोईपोइ अत्यन्त विषादको मुद्रामा बैठककोठामा जाडोले खुम्चिएर बसेका थियौ ।

मूलढोका खुलै थियो । त्यस दिन घरको काम गर्ने केटो पनि त्यो विषादमा हामीसित सहभागी थियो ।

त्यसै बखत डीएसपी भित्र पस्यो र भन्यो, “जय नेपाल, माननीयज्यू !”

“अनि, यस्तो राति किन दुःख गर्नुभयो ?” मैले प्रश्न गरे ।

उसले आफ्नो खल्तीबाट एउटा कागज निकालेर देखायो । आदेश बमोजिम मेरो घर खानतलाश गर्ने कागज थियो त्यो ।
“रिसानी माफ होला, माननीयज्यू ! हामी आदेशका नोकर हौ । त्यसलाई पालना गर्नु हाम्रो कर्तव्य हो ।” डीएसपीले नम्रतापूर्वक भन्यो ।

हामीले कुरा बुझिहाल्यौ । केही समय ढिलो भएको भए अनर्थ पनि हुने रहेछ । त्यस बेला मात्रै मलाई सत्तासीन पार्टीको सांसद भएर पनि आफू कति निरीह रहेछु भन्ने बोध भयो ।

घरका कुनाकुनामा खानतलाशी गरियो । घरभित्र केही नभेटेपछि डीएसपी फेरि ‘जय नेपाल’ गर्दै फक्र्यो । हामी भने रातभरि अनेक तर्क–वितर्क गर्दै बस्यौ । प्रहरीको लखेटाइ मुक्तिको समस्या छँदै थिएन । मैले भेटेदेखि ऊ त्यो आतङ्कबाट कहिल्यै डराएको थिएन । हिरासतमा ऊ निर्मम ढङ्गले कुटिएको थियो । त्यसमा उसले एक शब्द पनि गुनासो गरेको थिएन । त्यसो भए उसलाई परेको समस्या के थियो त ?

त्यो रात एघार बजे हाम्रो घरबाट हिडेपछि धेरै दिनसम्म थाहा भएन, ऊ कहाँ गयो । उसले हामीसित छुट्टिनुअघि यति मात्र भनेको थियो— “हेडक्वार्टर जानु छ । त्यहाँ मेरो राजनीतिक भाग्यको फैसला हुँदै छ । जीवनमरणको सवाल छ ।”

चैत लाग्यो । राजधानीको जाडो पनि सकियो । संसद्को हिउँदे अधिवेशन सकिएपछि त राजनीतिक कामबाट पनि केही समय फुर्सद हुने भयो । त्यसपछि हामी बूढाबूढी घुम्न भनेर पोखरातिर गयौ ।

एक दिउँसोभरि हामीले पोखराका विभिन्न भाग चहा¥यौ । फेवातालमा डुङ्गा चढ्यौ । विन्ध्यवासिनी र महेन्द्र गुफा पुग्यौ । डेभिस फल हेरेर लखतरान परेपछि फर्केर लेकसाइडको एउटा मध्यम स्तरको रेस्टुराँमा फर्कियौ ।
पोखरा त्यति बेला नेपाली पर्यटकहरुका निम्ति राम्रो थियो । शान्ति–सुरक्षाको अभाव र प्रदूषणका कारण विदेशी पर्यटकहरु आउन कम भएपछि पर्यटनको मौसममा पनि लेकसाइडका धेरै होटेल र रेस्टुराँ खालीखाली नै थिए ।
हामी रेस्टुराँभित्र पस्दा त्यस्तै थियो । दुई जना खैरा ठिटाहरु कुनाको टेबिलमा बियर तानिरहेका थिए ।
यसैबीच अनौठो घटना भयो ।

मेनु लिएर आउने वेटे«सलाई देख्नासाथ मेरो दिमाग एक छिन चकरायो । सेतो सर्ट र रातो फ्रकमा आएकी त्यो फुच्चीलाई चिनेचिने जस्तो लाग्यो । तर कहाँ ? म थकाइ बिर्सेर स्मृतिको संसारमा विचरण गर्न थाले ।
त्यो केटी पहिले हाम्रो मुखमै नहेरी मेनु राखेर काउन्टरतर्फ गई । त्यसै बखत मैले श्रीमतीलाई भने, “हेर्हेर् बूढी, त्यो केटीलाई मैले कतै देख्या जस्तो लाग्छ । तर, ठम्याउन सकिरहेको छैन ।”

यस्तो मामिलामा मेरी श्रीमतीको दिमागले धेरै छिटो काम गथ्र्यो । उसले छड्केपट्टिबाट हेर्नेबित्तिकै चिनी अनि निकै ठूलो स्वरमा भनी, “ऊ सिर्जना दङ्गाल हो ।”

“कहाँबाट यो यहाँ आइपुगी ?” मैले उदेक व्यक्त गरे ।

“काम गर्न आएकी होली नि !” उसले सजिलै भनी ।

जब सिर्जना फेरि अगाडि आएर अर्डरका निम्ति उभिएर हाम्रो मुखतिर हेर्न थाली, त्यसपछि ऊ पनि हडबडाई ।

“तिमी यहाँ काम गछ्र्यौ ?” मैले सोधे ।

ऊ निकै नजिक आई र बिस्तारै बोली, “म यहाँ नाम ढाँटेर काम गर्दै छु, सर ! मेरो नामले नबोलाउनुहोला । जासूसहरु यता पनि छ्यापछ्याप्ती छन् । म भरे राति दश बजेपछि वा भोलि बिहानै छ बजेसम्म हजुरहरु बस्ने ठाउँमा आउँछु ।”
उसका कुरा सुनेपछि हामी पनि केही सतर्क भयौ । खाना खाइसकेपछि आफ्नो होटेलको नाम र कोठानम्बर दिएर हामी त्यहाँबाट हिड््यौ ।

भोलिपल्ट बिहान हाम्रो कोठाको ढोका ढकढक ग¥यो । सिर्जना नै रहिछ । ऊ पहिलेभन्दा निकै दुब्ली देखिन्थी । हिजो हामी जोईपोइले त्यति याद गरेनछौ । कन्चट र गालाबीचको हाड थुम्का जस्तै उठेको स्पष्ट देखिन्थ्यो ।
“कसरी यस्तो दुब्लाएकी ? बिरामी त परिनौ ?”

“खोइ, के भन्ने सर ! खास कुराभन्दा सरहरुलाई पत्याउन निकै गाह्रो होला । हाम्रो पार्टी अब राम्रो बाटोमा रहेन ।”

ऊ छ महीनाका निम्ति पार्टीको कारबाहीमा परेकी रहिछ । हामी छक्क प¥यौ । तर, उसले नढाँटीकन सबै कुरा फटाफट भनी, “हाम्रो पार्टीमा संस्कार र संस्कृति भनेको पटक्कै छैन । माथ्लो नेतृत्वले गरेको जस्तोसुकै नराम्रो कामलाई पनि सहेर बस्नुपर्छ । दुई महीनामा छ लाख रूपैयाँ कसरी मासियो भनेर पार्टीको बैठकमा उठाएको मेरो प्रश्नले अहिले मलाई यहाँ ल्याइपु¥यायो । काठमान्डुमा बसूँ, काम छैन । पुलिसले खोजिरहेको छ । यो विषयमा मैले आफ्नो नेतृत्वलाई निकै अनुनय–विनय गरे र भने– ‘बरू कारबाही नै गर्ने हो भने कि मलाई श्रम शिविरमा लगियोस् अथवा कुनै भ्रष्टाचारी मन्त्रीलाई मार्न आत्मघाती बम बोकेर जाने आदेश दिइयोस् । क्रान्तिको निम्ति आफ्नो ज्यान फाल्न पनि तयार छु । तर, म घरबाट सबै थोक त्यागेर आएकी अल्लारे केटीलाई वल्लो घाट न पल्लो तीरको नपारियोस् ।’ तर, नेतृत्वले मेरा शब्दहरु एउटा कानले सुन्यो अर्को कानले उडाइदियो । अहिले म खाते भएर सडकमा पछारिएँ, सर !”
त्यसपछि उसका आँखाबाट आँसुको भेल बग्न थाल्यो ।

उसका कुरा मलाई कुनै चलचित्रको कथाजस्तो लाग्यो । यस्तो कथा जसको कुनै सङ्गति र शृङ्खला छैन, जुन घटना हेरेर भर–पत्यार गर्न कुनै पनि दर्शकलाई कठिन हुन्छ ।

“अनि मुक्ति लम्साल कहाँ छन् नि ?” मेरी श्रीमतीले आत्तिएर कौतूहल जाहेर गरी, “पछिल्लो पटक भेट्दा त उनको हंस नै ठेगानमा थिएन । कस्तो राम्रो मानेर खाना खाने मान्छे, कस्तो भएका थिए !”

“अलिकति चाँडो घरबाट ननिस्केका भए, उनी त्यसै दिन पक्राउ पर्ने रैछन् । उनी गएको पन्ध्र मिनेट पनि नबित्दै प्रहरीहरु आएका थिए ।” मैले त्यसमा थप्दै भने ।

“उहाँ पनि कारबाहीमा पर्नुभएको छ । उहाँ कमरेड प्रकाशको आलोचना गरेपछि कारबाहीमा पर्नुभएको हो । दुश्मनहरुसित साँठगाँठ गरेको आरोपमा अहिले पार्टीको जनहिरासतमा हुनुहुन्छ उहाँ ।”

सिर्जनाको यो वर्णन मेरा लागि अरु रोमाञ्चकारी बन्यो । म एकदमै उत्तेजित भएँ र सोधे, “कहिलेदेखि ? यो साँच्चै हो कि ख्यालठट्टा ?”

मेरो कन्चटका रौ ठडिए ।

“जुन दिन उहाँ हजुरकोबाट राति पाटनतिर जानुभयो, त्यही दिन कमरेड प्रकाशको आदेशमा उहाँलाई थुनामा राखियो । पार्टी अनुशासन उल्लङ्घन गरेर अराजकतावादी भएको अभियोग लगाइएको छ उहाँलाई ।”
“तर, उनी त त्यस दिन हेडक्वार्टरमा महामन्त्री कमरेडसित भेट्नु छ, मेरो भाग्यको फैसला हुन्छ भन्दै थिए त !” मैले भित्रभित्रै बाफिएर भने ।

“त्यो पूर्वाञ्चलको हेडक्वार्टर हो । नेतृत्वको सुरक्षाको कारण देखाएर त्यो हेडक्वार्टर राजधानीमै राखिएको थियो । कमरेड प्रकाश राजधानीमा बसेर राजकुमारको जस्तो जिन्दगी बिताइरहेका थिए । तस्करहरुसित उठबस, यौनाचार र अन्धाधुन्ध खर्च गर्ने गर्थे उनी । कमरेड मुक्तिले त्यही कुरा पार्टीमा उठाउनुभयो । त्यसपछि उहाँलाई उल्टै यौनाचार गरेको र प्रतिक्रियावादीहरुसित साँठगाँठ गरेको आरोप लगाइयो । तर, उहाँ कति नैतिकतावान् हुनुहुन्थ्यो भन्ने कुरा सँगै काम गर्दा मैले भित्रैबाट थाहा पाएकी थिएँ ।”

सिर्जना त्यसपछि बोल्नै नसक्ने भई । चुपचाप रून थाली । म स्पष्ट देखिरहेको थिएँ— ऊ विषाद र यातनाको अजङ्गको पहाडले किचिएकी छ ।

बिहान आठ बज्न लागेपछि ऊ त्यहाँबाट ‘ड्युटीमा जानुपर्छ’ भन्दै हिडी । त्यसपछि हामी जोईपोइ दुवै भित्रैदेखि भत्कियौ । अब हामीलाई पोखरा र माछापुच्छ«ेको मुहार र तिनको सुन्दरता एकदमै कुरुप लाग्न थाल्यो । हामी त्यही दिउँसो हवाईजहाजको बाटो राजधानी फर्कियौ ।

काठमाडौ फर्केको धेरै दिनसम्म मेरो मनोदशा ठीक हुन सकेन । मेरा आँखामा बारम्बार मुक्ति लम्सालको चित्र टाँसिइरह्यो । उसलाई भएको कारबाहीको कथा आफ्नै कथा जस्तो लाग्न थाल्यो । आखिर मेरो पनि त स्वभाव त्यस्तै थियो ! आफ्नो पार्टीको नेतृत्वसित सम्झौता गर्न नसकेकै कारण म माथ्लो तहमा कहिल्यै पुग्न पाइनँ । त्यस्ता धेरै घटना छन्, जहाँ मैले नेतृत्वको कमी र विसङ्गतिहरुको आलोचना गर्दा पार्टीबाट घटुवा हुनुपरेको थियो । मुक्ति अहिले क्रान्तिकारी भनिने पार्टीमा पनि त्यही नियति भोग्दै थियो । त्यो सम्झेर मेरा आँखा डबडबाए र आँसुका दानाहरु गालाबाट गुडे ।

मेरी श्रीमतीको स्थिति पनि त्यस्तै भयो । धेरै दिनसम्म ऊ लाटी जस्ती भई । जब कतैबाट मुक्तिको प्रसङ्ग अगाडि आउँथ्यो, ऊ सारीको सप्कोले मुख छोप्दै एकान्ततिर भाग्ने गर्थी ।

हामी काठमाडौ फर्केको लगभग सात–आठ महीनापछाडिको कुरो हो । ‘लगभग’ शब्द मैले यहाँ किन उल्लेख गरेको हुँ भने, मलाई समय र तिथि गन्न पटक्कै मन पर्दैन । तसर्थ घटना ठ्याक्कै कुन दिन घटेको हो भन्ने मलाई थाहा छैन । त्यो ठीक त्यस्तै समयको कुरा थियो, जति बेला रातको बाह्र नाघिसकेपछि हताश मुद्रामा मुक्ति आएको थियो । त्यसरी नै उही शैली र बान्कीमा अचानक ढोकाको घण्टी थिचियो । मैले अनुमान गरे— पक्कै मुक्ति हुनुपर्छ । श्रीमती निदाइसकेकी थिई । मैले उसलाई ब्यूँझाएर भने, “हेर् त, बाहिर कसैले ढोकाको घण्टी थिच्दै छ । मेरो विचारमा त्यो आउने मानिस मुक्ति नै हुनुपर्छ । यो बेला अरु को आउला र !”

श्रीमती निकै फुर्तीसाथ उठी । ढोका खोलिसकेपछि थाहा भयो— त्यहाँ मुक्ति होइन, सिर्जना थिई । ढोका खुल्नासाथ ऊ एक्कासि श्रीमतीको अँगालोमा घोप्टिई, मानौ ऊ आफ्नी आमाको काखमा छे । त्यसपछि ऊ भक्कानिएर रून थाली ।
हामी रातभर सुतेनौ । उसले कमरेड मुक्ति लम्सालको दुःखद अवसानको लामो कथा सुनाई । उसले भनी, “मैले बुझेको क्रान्ति भनेको विराट् र समृद्ध मानवताको निम्ति कष्टपूर्ण अनुसन्धान हो । हिजोका हाम्रा महान् विभूतिहरुले भनेझै, यो कला र संस्कृति पनि हो । दर्शन, विचारधारा र समाजविज्ञानका सबै प्रश्न यहाँ परिलक्षित हुनुपर्छ भन्ने मेरा बुझाइ हो । तर, त्यहाँ त्यसको गन्ध पनि पाइएन । यसरी मुक्ति कमरेडलाई अनाहकमा मारियो । उहाँलाई जीवित रहन दिएको भए के हुन्थ्यो ! एउटै गल्ती थिएन उहाँको । पार्टीको विरोधमा जतिसुकै ठूलो अपराध गरेको भए पनि उहाँलाई हिरासतमै राखिराखेको भए के नोक्सान हुन्थ्यो ! कम से कम उहाँ ठीक हुनुहुन्थ्यो वा बेठीक भन्ने कुरामा इतिहासको आफ्नो फैसला त हुन्थ्यो ! त्यसैले सर, अहिले हाम्रो पार्टीमा क्रान्तिको नाममा हुल्लडबाजहरुको वैभवलीला मच्चिएको छ । मेरो प्यारो कमरेड मुक्ति त्यसैको शिकार हुनुभयो ।”

उसले त्यसपछि पनि अरु धेरै कुरा भनी । तर, उसका बाँकी कुरा सुन्न मलाई निकै सकस प¥यो । मेरी श्रीमती पनि अत्यन्त दुःखित भई । अब वातावरणमा डर, त्रास र एक्लोपनाको थिचाइ बढी थियो ।

“हुन त पार्टीले प्रकाशलाई कारबाही गरेर श्रम शिविरमा पठाएको भन्ने पनि खबर पढियो, पार्टी केन्द्रको बैठकले प्रकाश प्रवृत्ति भनेर चार दर्जनभन्दा बढी बूँदा उल्लेख गरेर ती प्रवृत्तिहरुको भत्र्सना गरेको कुरा पनि पढ्न पाइयो, तर कमरेड मुक्तिको अकार्थमा ज्यान गयो । पार्टीमा अब उहाँको स्थान के ? कमरेड मुक्तिकै विचारलाई समर्थन गरेको अभियोगमा म कारबाहीमा परेकी थिएँ । अहिले प्रकाश प्रवृत्तिमाथि पार्टीले त्यत्रो आक्रमण गर्दा पनि मेरो कारबाहीको किनारा र कामको टुङ्गो लगाएको छैन । मलाई अराजकतावादी भएको आरोप लगाइएको छ । यसको अर्थ के हो ?”

यति भनेर सिर्जना फेरि आँसु पुछ्न थाली । उसको अनुहारमा कठोरताका आँधीहरु कुद्न थाले । त्यसपछि निकै क्रुद्ध भएर उसले भनी, “बुझ्नुभो, सर ! यी कमरेडहरु क्रान्ति गरिरहेका छैनन् । यिनीहरु हूलहुज्जत गरेर सत्ता आफ्नो हातमा लिन चाहन्छन् । यदि त्यस्तै हो भने यत्रो रक्तपातको नाटक किन ?”

सिर्जनाको यो विशद बयानपछि पनि मलाई मुक्ति लम्साल आफ्नै पार्टीद्वारा मारिएकामा विश्वास भएन । तसर्थ मैले सोधे, “मुक्तिलाई साँच्चै मारेकै हुन् त ? क्रान्तिकारी पार्टीमा पनि यस्तो घटना हुन्छ र ?”
मेरो प्रश्नले सिर्जना अरु बढी उत्तेजित भई ।

“सरले अझै यो कुरा पत्याउनुभएन ? म कसरी बुझाऊँ यो कुरा सरलाई ?” यति भनेर ऊ फेरि रून थाली ।
एक छिनसम्म सुनसान भयो । मेरा ओठबाट पनि शब्दहरु झर्न मानेनन् । मेरी श्रीमती मानसिक रुपमा अझै बढी बेहाल भैसकेकी थिई । त्यसपछि पुनः सिर्जनाले नै मौनतालाई हस्तक्षेप गर्दै भनी, “बुझ्नुभो, सर ! धर्म र परम्परागत संस्कारमा मलाई विश्वास छैन । तर यदि विश्वास हुन्थ्यो भने म अहिले हिन्दू विधवाले लगाउने सेतो पहिरन लगाएर हिडिरहेकी हुन्थे । सरलाई किन ढाँट्ने ? म अन्तर्मनदेखि नै कमरेड मुक्तिलाई प्रेम गर्थें । सच्चा प्रेम गर्थें । उहाँको सरलता र क्रान्तिप्रतिको निष्ठालाई प्रेम गर्थें । भावनात्मक रुपमा म उहाँकै अर्धाङ््गिनी हँ, सर !”

त्यसपछि सिर्जना अरु बोल्न सकिनँ । मलाई लाग्यो— अचानक भीमकाय राक्षसले किचेको छ उसलाई । ऊ त्यसबाट मुक्ति पाउन लगातार सङ्घर्ष गरिरहेकी छ ।

सिर्जनाको पछिल्लो शब्द–आघात हामी जोईपोइले थेग्न सकेनौ । त्यसपछि मलाई त कमरेड मुक्ति होइ्न आफै मारिएको हुँ कि भन्ने भान प¥यो ।

के साँच्चै त्यसपछि म मरेको हँु ? नभए खोइ त मेरा संवेदनाका इन्द्रियहरु ? के कुनै मानिसको हत्या भैसकेपछि पनि उसको जीवित अस्तित्व इतिहासमा यसरी रहिरहन सक्छ ? त्यसका मृत तन्तुहरु अस्तित्वमा रहिरहन सक्छन् ? कोसँग छ यसको जवाफ ? शायद मेरा निम्ति यी प्रश्नहरु सदा–सदाका लागि ज्यूँदा रहनेछन् ।

भोलिपल्ट सिर्जना अँध्यारैमा उठेर निस्किने सुरसार गर्न थाली । सामान्य किसिमले मुख धोई र गर्दनसम्म छरिएको छोटो कपाल रबरले बाँधी । म भित्रभित्रै शीत मरूभूमि जस्तो शिथिल र चिसो भएको थिएँ ।
सिर्जना हिड्ने बेला श्रीमतीले सोधी, “अब तिमी जान्छ्यौ कहाँ ?”

श्रीमतीको स्वर निकै लरबरिएको थियो । तर, सिर्जनाले निकै दृढ भएर उत्तर दिई, “परिस्थितिले जहाँ पु¥याउँछ !”
त्यसपछि उसले बिदाइका दुवै हात जोडी र बाहिरको बाक्लो अन्धकारमा प्रवेश गरी ।

(२०५८)

प्रस्तुत कथा चर्चित कथाकार उपन्यासकार नारायण ढकालका छानिएका २६ कथाहरुको संग्रह “नारायण ढकालका कथा” बाट लिइएको हो । फिनिक्स बुक्सले बजारमा ल्याएको प्रस्तुत कथा संग्रह अघिल्लो सप्ताहान्तमा विमोचन गरिएको थियो । 

SHARE
mm
चर्चित कथाकार नारायण ढकालका केही उपन्यास प्रकाशित छन् ।

तपाईंको प्रतिक्रिया