तेन्जिङले यसरी खोले, सगरमाथा रुट

काठमाडौँ, २० जेठ । नौ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका पासाङ तेन्जिङ शेर्पालाई दशौँ पटकको आरोहण गर्दा नयाँ अनुभूति भयो । किनभने, यो पटक उनी भूकम्पले दुई बर्षसम्म रोकिएको सगरमाथा आरोहणका लागि बाटो पनि खोल्दै थिए ।

पुराना डोरी र डोबहरु कतै नभएको ठाउँमा कम्मरसम्मको हिउँ पन्छाउँदै उनीसहित नौ शेर्पा गाइडको साहस र अथक मिहिनेतकै कारण बाटो खुुल्यो र त्यसपछि ४५० स्वदेशी र बिदेशीले सगरमाथा आरोहण गरिसकेका छन् ।

पहिले पनि रुट फिक्सिङ (बाटो निर्धारण गर्ने) गरी डोरी टाँगेको अनुभवले यस पटक सफलता दिलाएको अनुभव आरोही शेर्पाको छ । “अन्दाजले नै डोरी टाँगेँ । नौ पटक चढ्दा डोरी टाँगेको अनुभवले बाटोको अन्दाज गर्न सहज भयो” उनले भने । जाने क्रममा क्याम्प चार नजिक हिमपहिरो जाँदा पनि आफूहरु नआत्तिएको उनी बताउँछन् ।

“समिट पुग्नुपर्ने बिहानको समय । रात पर्न लागिसक्यो अझै पनि साउथ–क्याम्प पोलमै छौँ”, शेर्पाले भने् “साथीहरुले भन्न थाले, हैन अब पुग्यो, माथि नजाऊँ, अझै खतरा छ, तर मैले भनेँ हैन दुई वर्षसम्म कसैले चढ्न पाएको छैन, हामीले बल गर्नैपर्छ ।”

यसरी पुगे सगरमाथा चुचुरोमा

शेर्पा गाइडले मे १० अर्थात् वैशाख २८ गते क्याम्प दुई बाट राती १ बजे उठेर साउथ पोल माथितिर (बालकोनी) भन्ने ठाउँमा गएर आठ हजार ५०० मिटर उचाइमा डोरी टाँगको उनी बताउँछन् । ‘साँँझ ५ बजेतिर त्यहाँबाट फर्केर सात हजार ५०० मिटर साउथ पोल–अन्तिम क्याम्प (चार) मा आएर सुतियो र भोलिपल्ट बिहान २ बजे उठेर बाँकी आरोहण सफल ग¥यौँ’, उनले बताए ।

त्यही दिन अर्थात् वैशाख २९ गतेदेखि वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको थियो । आरोहणको १५ दिनमा करिब ४५० जनाले सगरमाथाको आरोहण गरेका थिए । “अहिले हामीलाई निकै गर्व लागेको छ, त्यति दुःख नगरेको भए यति धेरै आरोहीले चढ्न पाउँदैनथे । त्यो नचढ्नु भनेको हाम्रो देशकै लागि घाटा हो,” उनको भनाई छ ।

उनी नर्वे, फ्रान्सलगायत देशमा पनि माउन्टेन गाइडको काम गर्छन् ।

सन् २०१४ मा सगरमाथाको आधार शिविर माथितिरबाट आएको हिमपहिरोमा परी १६ जना आरोहीको निधन भएको थियो ।

त्यस्तै, २०१५ मा आएको भूकम्पका कारण सगरमाथाको आधार शिविरमा हिमपहिरो आएर अरू १९ जना आरोहीको ज्यान गएको थियो । सन् २०१६ को वसन्त ऋतुमा हिमाल आरोहण सफलताले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलिएको छ ।

पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका थिए । —सिबी अधिकारी

तपाईंको प्रतिक्रिया